धमिलो र दूषित पानीका कारण संक्रमण बढ्दै

हिमालय टाइम्स
Read Time = 6 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पाँचथरको फिदिम नगरका बजारवासी धमिलो पानी पिउन बाध्य भएका छन् । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले खानेपानी धमिलो आएसँगै स्थानीयहरू धमिलो पानी पिउन बाध्य भएका हुन् । दूषित पानी पिउन बाध्य हुँदा पनि खानेपानी पिउन योग्य बनाउन सरोकारवालाको ध्यान जान नसकेको गुनासो स्थानीयले गरेका छन् । दूषित पानीकै कारण झाडापखालाका रोगीहरू बढेको  स्थानीयहरूको गुनासो छ ।

फिदिम बजारको चोकमा रहेको असिम औषधि पसलमा भेटिनुभएकी सम्झनाले पानीकै कारण आफ्नो घरका सदस्य बिरामी परेको गुनासो गर्नुभयो । उहाँ झाडापखाला लागेर औषधि लिन आफ्नी आमासँग आउनुभएको थियो । अहिले दैनिकजस्तो आठदेखि १० जना झाडापखालाका बिरामी औषधि लिन आउने गरेको असिम औषधि पसलका सञ्चालक केपी मैनालीले बताउनुभयो ।

एक सातायता मात्रै जिल्ला अस्पतालमा झाडापखालाका दर्जनौं  बिरामी भर्ना भएका छन् । फिदिम बजारमा तीनवटा निजी अस्पताल र एउटा सरकारी अस्पताल छन् भने १२ वटा औषधि पसल छन् । निजी अस्पताल पाथीभरा अस्पतालमा अहिले झाडापखाला र टाइफाइडका बिरामी भर्ना भएका छन् । पाथीभरा अस्पतालका डाक्टर अशोक मेहताका अनुसार दूषित पानीकै कारण झाडापखाला र टाइफाइडका बिरामी बढेका छन् ।

जिल्लाका अस्पताल र औषधि पसलमा पछिल्ला केही दिनयता दैनिक १० देखि १२ जनासम्म झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको मुना औषधि पसलका सञ्चालक तथा ताप्लेजुङ–पाँचथर नेपाल औषधि व्यवसायी संघका उपाध्यक्ष वसन्त पाण्डेले बताउनुभयो  । अस्पतालमा बिरामीको संख्यामात्र होइन विद्यालयमा विद्यार्थी आउने क्रम पनि घटेको ज्ञानकुञ्ज मन्टेश्वरीका सञ्चालक मंगल बेघाले बताउनुभयो ।

गणेशमान स्मृति सामुदायिक अस्पताल फिदिममा पनि झाडापखाला र टाइफाइडका बिरामी बढ्दै गएको गणेशमान स्मृति सामुदायिक अस्पतालका जनसम्पर्क अधिकृत शिशिर आङ्बोले बताउनुभयो । वर्षायाम सुरु भएसँगै धारामा पिउनयोग्य पानी आउँदैन । घरको धारामा आएको पानी पिउनयोग्य छैन, पानी लिन जाँदा घण्टौँ पर्खिनुपर्ने बाध्यता रहेको स्थानीय भोला अधिकारीले गुनासो गर्नुभयो ।

अव्यवस्थित विकास, अव्यवस्थित बजार, अस्वस्थ पानी तथा खाना, मानिसको बाक्लो आवतजावत र स्वास्थ्यप्रतिको सजगता कम हुँदै जानु पनि संक्रामक रोगको कारण बन्दै गएको छ । हरेक वर्ष बर्खायाममा पिउने पानी योग्य नआउँदा फिदिमका बासिन्दाले पानीकै कारण सास्ती खेप्नुपरेको छ । बिहान ४ बजेदेखि पानी लिन जानेको यहाँ घुइँचो हुन्छ ।

फिदिम साना शहरी खानेपानी तथा उपभोक्ता समितिले लेदो पानी छान्ने मेसिन पनि नराखेको होइन । नेपाल सरकारबाट ५० प्रतिशत अनुदान, नगर विकास कोषबाट ४५ प्रतिशत अनुदान र उपभोक्ताबाट संकलन गरी करिब १९ करोड लगानीमा छान्ने मेसिन पनि बनाएको छ तर बर्खायामको लेदो पानी भने छान्न सकेको छैन । बालुवा, गिट्टीको प्रयोग गरी बनाएको छान्ने फिल्टरले सामान्य आएको धमिलो पानीमात्र छान्ने र लेदो आएको छान्न नसक्ने फिदिम साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रमुख छवि कार्की बताउनुहुन्छ ।

२०५८ सालमा स्थापना भएको फिदिम साना शहरी खानेपानी तथा उपभोक्ता समितिको यो दोस्रो कार्यसमिति भए पनि उपभोक्ताको समस्या जस्ताको तेस्तै छ । पानीको मुहानमा पहिला जंगल थियो मानिसको आवतजावत पनि थिएन अहिले गाडी गुड्न थालेपछि थप समस्या हुन थालेको कार्की बताउनुहुन्छ । बालबालिकामा उच्च ज्वरो, झाडापखाला, टाइफाइड बढीमात्रामा देखिएको पाँचथर जिल्ला अस्पतालका बालरोग विशेषज्ञ वरुण अग्रवालको भनाइ छ । उहाँले भन्नुभयो, ‘उच्च ज्वरोको कारण खानेपानी नभए पनि टाइफाइड र झाडापखाला भने दूषित पानी र स्वास्थ्यप्रति सजग नभएका कारण नै संक्रमण बढेको हो  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?