बाँकेमा मल अभाव, किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेमा रोपाइँ सुरु भइसकेको छ । तर, अहिलेसम्म मल आइपुगेको छैन । रोपाइँको समयसम्म पनि मल नआउँदा यहाँका किसान रोपाइँ कसरी गर्ने भनेर चिन्तित छन् ।  उनीहरूलाई रोपाइँको भन्दा पनि मलकै पिरलो छ ।  अन्नभण्डारसमेत भनिने बाँकेमा बर्सेनि करिब सात हजार मेट्रिकटन युरिया आवश्यक पर्छ । करिब चार हजार डिएपी आवश्यक छ । तर, सिजनमै युरिया मौज्दात छैन भने डिएपी ७७० मेट्रिकटनमात्र मौज्दात छ । जसले गर्दा रोपाइँको सिजनमै यहाँका किसानले मल पाउन सकेका छैनन् ।

जानकी गाउँपालिका–५, का अब्दुल राइस धान रोपाइँको तयारी गरिरहनुभएको छ । समयमै मल नपाउँदा उहाँले रोपाइँ एक–दुई दिन ढिला गर्न बाध्य भएको बताउनुभयो । उहाँजस्तै सोही गाउँका सरिफ खानले पनि रासायनिक मल नपाउँदा रोपाइँ गर्न सक्नुभएको छैन । बाँकेमा किसान रोपाइँको समयसम्म मलबाट वञ्चित भएका छन् । सरकारले समयमै मल खरिद नगर्दा किसान मल पाउनबाट वञ्चित भएका हुन् । बिउको ब्याड राख्दा पनि मल नपाएर समस्या भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका–१९ का धनबहादुर खत्रीले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘धान रोपाइँ गर्ने समय भइसक्यो, अझै मल पाउने नपाउने टुंगो छैन ।’

लामो समयदेखि मलको प्रतीक्षामा रहेका किसानहरू मल नपाउँदा निराश भएका छन् । ब्याड राख्दा मल नपाएका किसानहरू रोपाइँका बेला पाउने आशामा थिए । तर, उनीहरू मल नपाउँदा निराश भएका छन् ।

नेपालबाट मल अभाव भएपछि नेपाली किसानले भारतबाट मल ल्याउने गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालका अनुसार सामान्य खेतीका लागि किसानले भारतबाट मल ल्याउने गरेका छन् । ‘नेपालमा मल अभाव हुँदा किसानहरूले भारतबाट एक/दुई बोरा मल ल्याउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘ठूलो परिमाणमा मल ल्याउन दिँदैनौँ । सामान्य घरखेतीका लागि ल्याउन दिएका छौँ ।’ खेतीका लागि व्यावहारिकरूपले पनि थोरै–थोरै मल ल्याउन दिइएको उहाँको भनाइ छ ।

खाद्य भण्डारणको जिल्ला भनिने बाँकेमा मल अभाव हुँदा उत्पादनमा असर पर्ने देखिन्छ । बाँकेमा गहुँको सिजनदेखि यता युरिया मल किसानले पाएका छैनन् । जिल्लामा डिएपी मल ७७० मेट्रिकटनमात्र मौज्दात छ । बाँकेमा करिब सात हजार मेट्रिकटन युरिया र चार हजार मेट्रिकटन डिएपी मल आवश्यक पर्छ । युरिया मल छैन भने डिएपी मल पनि पर्याप्त छैन ।

देशभरि नै मल अभाव हुँदा त्यसको प्रभाव बाँकेमा पनि परेको जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सागर ढकालले जनाउनुभयो । ‘सम्झौता भएअनुसार भारतबाट मल आउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘उता (भारत) बाट आएपछि हामी तत्कालै वितरण गर्छौ ।’समयमै मल नपाउँदा किसानलाई समस्या भएको भन्दै उहाँले प्रांगारिक मललाई पनि जोड दिनुपर्ने बताउनुभयो । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती हुन्छ । किसानलाई मल उपलब्ध गराउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?