रामचन्द्र रायमाझी/हिटा
पाल्पा । तत्कालीन राजा वीरेन्द्रको पालामा निर्माण सुरु गरिएको कुलोमा बल्ल पानी आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–१, कचलमा २०४३ सालमा कचल फाँटमा सिञ्चाइ आयोजनको काम सुरु भए पनि बजेट अभाव र भौगोलिक कठिनाइका कारण अलपत्र परेको आयोजना ३६ वर्षपछि बल्ल सञ्चालनमा आएको हो ।
स्थानीयले २०४० सालमा तत्कालीन राजा वीरेन्द्र पाल्पा आउँदा कचल फाँटमा सिञ्चाइ कुलो माग गरेका थिए । उक्त मागअनुसार राजाको आदेशबाट २०४३ देखि काम सुरु भयो । पाल्पाकै सबैभन्दा ठूलो र प्रतिष्ठित योजनाको रूपमा रहेको कचल फाँटमा सिञ्चाइ योजना ३६ वर्षपछि सञ्चालनमा आएको हो । तीन करोड बजेटबाट २०४८ सम्म काम थालिए पनि योजना पूरा हुन सकेन । मुहानतिर भिर पहरो परेपछि फाँटबाटै पहिले काम सुरु भएको योजनाको कार्य हुँदा हुँदै बजेट सकिएपछि अलपत्र परेको स्थानीयको भनाइ छ । पछि बजेट नपरेपछि काम हुन नसकेको स्थानीय गोपालबहादुर अर्याल बताउनुहुन्छ ।
सरकारी तवरबाट २०४८ सालपछि योजनालाई खासै महत्व नदिएका कारण कुलो अलपत्र बन्न पुगेको थियो । आर्थिक वर्ष २०६०/०६१ बाट मात्र योजनाले प्राथमिकता पाउन थालेको स्थानीयवासी अर्याल बताउनुहुन्छ । २०७३/७४ मा १३ करोड ९५ लाख बजेट परेपछि कामले गति लिएको थियो । साबिकको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयमार्फत योजना स्वीकृत भएर काम अघि बढेको थियो । पहिला पहिलाको निर्मित संरचनाभन्दा नयाँ संरचना भएकाले निर्माणमा कठिनाइ भएका कारण समय लम्बियो ।
योजना सम्पन्न हुने नदेखेरै यहाँबाट ठूलो संख्यामा बसाइँसराइसमेत बढेको थियो । अलपत्र अवस्थामा रहेको योजनाले अहिले आएर सार्थकता पाएको छ । डिभिजन सिञ्चाइ प्राविधिकको रेखदेखमा सम्पन्न नौ किलो मिटर लम्बाइमध्ये भौगोलिक कठिनाइका कारण एक किलोमिटर पाइप प्रयोग गरिएको र बाँकी भागमा नहर नै निर्माण गरिएको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश महतले बताउनुभयो । अहिलेसम्म ११ करोड रुपैयाँ खर्च भएको उहाँको भनाइ छ । यो योजनालाई स्थानीय सरकारले समेत महत्वपूर्ण योजनाको रूपमा हेरेको छ । आगामी दिनमा यस योजनालाई आर्थिक उपार्जनको माध्यमसँग जोड्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।
चुरे पहाडको काखबाट बग्ने खोलामा स्थायी संरचना निर्माण गरी नौ किलोमिटर नहर र पाइपबाट पानी ल्याएपछि सिंगो फाँट नै अहिले हराभरा हुन पुगेको छ । धान रोपाइँ गर्ने समयमा कुलोमा पानी आएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । वर्षाैंदेखि अलपत्र अवस्थामा रहेको कुलोबाट पानी आउला र खेती गरौँला भनी नसोचेका यहाँका स्थानीय पानी आएपछि भने उत्साहित भएका हुन् । धेरैलाई सपना जस्तै भएको कचल सिञ्चाइ जल उपभोक्ता समितिका सचिव रेवन्तबहादुर छहरी आफ्नो अनुभव सुनाउनुहन्छ । चुरे पहाडको काख वरपर जंगलबीचमा फाँटमा अत्यन्तै उर्वर भूमि भए पनि कृषकहरूले जसोतसो एक बाली धान, मकै लगाउँदै आएका थिए ।
धान खेतीका लागि आकाशे पानीमा निर्भर बनेका यहाँका किसान अहिले खोलाको पानी खेतमै आउँदा दंग छन् । फाँटमा अविरल रूपमा नहरबाट पानी आउन थालेपछि कृषकहरूले धानको ब्याड राखिसकेको र लाग्दै असारमा रोपाइँ गर्ने तयारीमा रहेको स्थानीय कृषक मनकला सोमै बताउनुुहन्छ । सिञ्चाइ योजना सम्पन्न भएपछि यहाँका चार सय घर परिवार लाभान्वित भएका छन् । अहिले यहाँको करिब चार सय हेक्टर क्षेत्रफल जमिनमा सिञ्चाइ सुविधा पुगेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका