मध्य असारसम्म रासायनिक मलको अभाव, प्रक्रियामै बित्छ सिजन

हिमालय टाइम्स
Read Time = 9 mins

विवेक खड्का/हिटा
दाङ । असार मध्य हुन लागिसक्यो । किसानहरूलाई धान रोपाइँको चटारो छ । तर, धान खेतीका लागि आवश्यक रासायनिक मलको पूरै अभाव छ । सरकारले सहज रूपमा मल आपूर्ति गर्न सकेको छैन । जिल्लास्तरमा मलका गोदामहरू खाली छन् । अन्तर्राष्ट्रिय मुलुकले मल बिक्री वितरणमा प्रतिबन्ध लगाउँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको कृषि क्षेत्रमा परेको छ । सरकारले तोकेको चर्को मूल्यमा मल खरिद गर्ने सामथ्र्य व्यवसायीहरूमा नहुँदा यसवर्ष दुई लाख मेट्रिक टन मल खरिदका लागि खोलिएका १७ वटा टेण्डर रद्द भए । जसको प्रभाव अहिले किसानहरूमाथि परिरहेको छ । धान रोपाइँ सुरु भइसक्दा पनि जिल्लामा सहजै रासायनिक मल व्यवस्थापन हुन सकेको छैन ।

प्रत्येक वर्ष धानखेतीको समयमा हुने मल अभावको समस्या यस वर्ष पनि देखिएका छन् । असार मध्यसम्म पनि मल आयात नहुँदा यसवर्ष पनि मलकै लागि सास्ती खेप्नु परेको छ । समयमै मल व्यवस्थापनमा राज्यको ध्यान नपुग्दा र महिनौँसम्म पनि मल आयात प्रक्रिया पूरा नहुँदा किसानहरूले आवश्यक परेको समयमा मल पाउन सकिरहेका छैनन् । ‘असारको ५ गतेसम्म धान रोपिसक्नु पर्ने हो मल नपाउँदा आजसम्म धान रोप्न सकिएको छैन, गत वर्ष पनि यस्तै समस्या भएको थियो’ तुलसीपुर उपमहानगरपालिका-६ का डिल्ली केसीले भन्नुभयो, ‘समयमै मल, बिउ नपाउँदा खेती नै नगरौँ भन्ने लाग्छ, गत वर्ष पनि रोपाइँ सकिएपछि मात्र मल आएको थियो, अहिले पनि त्यस्तै हुने भयो । हामी किसानलाई कहिल्यै केही कुराको सहजता भएन ।’

समयमै रासायनिक मल नपाउँदा धानको बिउ खेतको गह्रामै फूल्ने हो कि भन्ने चिन्तामा किसानहरू देखिन थालेका छन् । सरकारले समयमै मल व्यवस्थापनमा चासो नदिँदा असारको दोस्रो सातासम्म जिल्लामा मलको व्यवस्थापन हुन नसक्दा यसवर्ष पनि धानखेती प्रभावित हुने किसानहरूको गुनासो छ । अनुदानको मल सहज नहुँदा चर्काे मूल्य तिरेर व्यवसायीहरूबाट मल खरिद गर्नु परेको किसानहरूले बताएका छन् ।

जिल्लामा प्रत्येक वर्ष धानखेतीका लागि ४० हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्दछ । तर, आवश्यकताअनुसार जिल्लाका किसानहरूले मल पाउन सकेका छैनन् । सरकारले ७० प्रतिशत रासायनिक मल कृषि सामग्री केन्द्रमार्फत वितरण गर्ने गर्दछ भने ३० प्रतिशत साल्ट टे«डिङमार्फत वितरण हुने गर्दछ । तर, अहिले जिल्लामा रासायनिक मल वितरण गर्ने कृषि सामग्री र साल्ट टे«डिङका मल गोदाम भने रित्तै छन् । मलका गोदामहरू रित्तै हुँदा धान रोपाइँका हिलाम्य बनाइएका खेतहहरूमा समयमै रोपाइँ हुन सकेको छैन । किसानहरू मलको पखाईमा छन् ।

कृषि सामग्री केन्द्र र साल्ट टे«डिङले भने समयमै किसानले मल पाउने बताउँदै आएका छन् । सरकारले जिल्लाका लागि मल पठाउने तयारी गरिरहेको कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका कर्मचारीहरू बताउँछन् । असारको अन्तिम सातासम्म जिल्लामा मलको सहजता हुने उनीहरूको भनाइ छ ।

केही दिनअघि मात्रै २२७ मेट्रिक टन रासायनिक मल किसानहरूलाई वितरण गरिसकेको कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले बताउनुभयो । ‘सरकारले पठाएको सबै मल वितरण गरिसकेकाले अहिले कृषि सामग्री केन्द्रको मल गोदाम रित्तो छ’ उहाँले भन्नुभयो, अबको केही दिनमा सरकारले मल पठाउँछ । मल पठाएसँगै पश्चिम दाङसहित सल्यानका लागि मल वितरण गर्छौं ।’ अहिले गोदाममा डिएपी र रासायनिक मल शून्य रहेको उहाँले बताउनुभयो । कृषि सामग्री केन्द्र घोराहीका प्रमुख टोपाराम गौतमले जिल्लामा गत माघ महिनादेखि नै रासायनिक मलको अभाव रहेको बताउनुभयो । मल अभाव भएलगत्तै मल खरिदका लागि टेण्डर आ≈वान गरिए पनि १७ वटा टेण्डहरू रद्द हुँदा समयमै मलको व्यवस्थापन गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो ।

घोराही क्षेत्रमा तीन हजार मेट्रिक टन युरिया र दुई हजार मेट्रिक टन डिएपी मलको आवश्यकता पर्दछ । तर, अन्तर्राष्ट्रिय मुलुकहरूले रासायनिक मलमा प्रतिबन्ध लगाउँदा देशभर मल अभाव भएको उहाँले बताउनुभयो ।

रसियाका १७ मुलुकले डिसेम्बरदेखि र चीनले जनवरीदेखि मल बिक्री वितरणमा प्रतिबन्ध लगाउँदा त्यसको प्रत्यक्ष असर नेपालमा आउने रासायनिक मलमा परेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मुलुकले लगाएको मल निर्यात प्रतिबन्धले ४० प्रतिशत मल उत्पादन घटेको छ । जसले मूल्यवृद्धि आकासियो र आयातमा प्रभाव परेको छ । कात्तिकदेखि चैतसम्ममा कुनै पनि टेण्डरमा आवेदन नपरेपछि समयमै मल उपलब्ध हुन नसकेको गौतमले बताउनुभयो । ‘सरकारले तोकेको मूल्यमा मल खरिद गर्ने सामथ्र्य व्यवसायीहरूमा नहुँदा खोलिएका टेण्डरमा काम भएन, वैशाख पछिका टेण्डरमा मल ल्याउने काम सुरु भएको छ, टेण्डर परेपछि पनि मल खरिदको सबै प्रक्रिया पु¥याउँदा करिब चार महिना लाग्छ त्यसकारण पनि यस वर्ष केही दिन ढिलो भएको हो’ उहाँले भन्नुभयो, ‘हामीलाई आवश्यक पर्दा मात्र मलको चासो हुन्छ तर माघ महिनादेखि नै जिल्लामा मल छैन ।’

मूल्यवृद्धिका कारण समयमै आउनुपर्ने दुई लाख मेट्रिक टन मल खेर गएको उहाँले जानकारी दिनुभयो । धानखेतीको समयमा मलको अभाव भए पनि हिउँदे सिजनलाई भने कुनै अभाव नहुने उहाँ बताउनुहुन्छ । साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबु गुप्ताले जिल्लामा मलको अभावै रहेको बताउनुभयो । किसानहरूको आवश्यकताअनुसार मल नआउँदा मल वितरणमा समस्या हुँदै आएको उहाँ बताउनुहुन्छ । साल्ट ट्रेडिङको मलको गोदाम युरिया मलको स्टक शून्य रहेको छ । डिएपी मल भने ४९७ मेट्रिक टन स्टकमा रहेको छ । गोदाममा रहेको मल वितरणका लागि सम्बन्धित पालिकाहरूसँग समन्वय गरी सहकारीहरू मार्फत मल वितरण गर्न लिखितपत्र माग गरिएको उहाँले जानकारी दिनुभयो । साल्ट ट्रेडिङले मंगलबारदेखि मल वितरण गरिरहेको छ ।

प्रदेश कार्यलयले कोटा निर्धारण गरेर पठाउने भएकाले मल वितरणमा समस्या भएको उहाँले वताउनुभयो । असार तेस्रो साताभित्र युरिया मल आउने जानकारी प्राप्त भएको भन्दै मल आएलगत्तै किसानहरूलाई मल वितरण गरिने उनले जानकारी दिनुभयो । नेपाली बजारमा बिक्री गरिने मल इण्डोनेसियाबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?