चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भारतमा आयोजना हुने ४४औँ चेस ओलम्पियाडका लागि छनोट खेल बुधबार सुरु भयो । काठमाडौंको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन् । पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका विवेक थिङ स्वतः छनोट हुनुभएको छ ।

थप तीनजना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिनेछन् । यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसक्नुभएको छ । थप चारजना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन् ।

छनोट खेलको बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रवीण भँडेलको उपस्थिति थियो ।

पहिलो चरणमा शीर्ष वरीयताका खेलाडी रूपेश जयसवाल सहभागी खेल बराबरीमा सकियो । यसैगरी फिडे मास्टर क्षितिज भण्डारीले प्रकाश नेपाललाई हराउनुभयो । अर्को खेलमा सुरवीर लामाले सजिन महर्जनसँगको खेलमा जित हात पार्नुभयो । मनिष हमालले कृष्ण थापा तथा मिलन लामाले सुशील चौधरीलाई हराउनुभयो ।

महिलातर्फको खेलमा कृतिशरा अधिकारीले खुस्बु थापा, शान्ति धिमालले आभा पुडासैनी तथा अनिशा न्यौपानेले पूर्णिमा गुरुङलाई हराउनुभयो । यसैगरी विनिता पालीले पुनम प्रसाईसँगको खेलमा जित हात पार्नुभयो । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?