‘आत्मनिर्भर अर्थतन्त्रको संवाहक घरेलु उद्योग’

Read Time = 5 mins

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभएको छ । खोजौं नेपाली, रोजौं नेपाली भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्तरूपमा तयार गरेको इ-कमर्स साइट एमएसएमई डट कमको बिहीबार राजधानी शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बडूले भन्नुभयो, ‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योग मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् ।’

लघु, घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले घरेलु उद्योगका समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभयो । मन्त्री बडूले भन्नुभयो, ‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्छ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ, हामी छलफल गर्न तयार छौँ ।’

लघु, घरेलु तथा साना उद्योगको उत्पादन बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इ–कमर्स साइट सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गर्दै उहाँले इ-कमर्समार्फत् स्वदेशी वस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुने बताउनुभयो ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्घिको संवाहकका रूपमा रहे पनि प्रमुख समस्या बजार पहुँच रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा उत्पादन गुणस्तरीय र निर्यातयोग्य छन् तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा बजार विस्तार हुन सकेको छैन ।’

विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोरोनाका कारण उत्पादनको बजार विस्तार गर्न नसकिएको भन्दै उहाँले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीका उत्पादन डिजिटल प्रविधिमार्फत् बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत् डिजिटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री प्रणाली विकास गराउने लक्ष्यका साथ इ-कमर्सको अवधारणा ल्याएको बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले भर्चुअल प्रदर्शनी र इ-कमर्समार्फत् स्थानीय उत्पादन अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले उचित प्रवद्र्धन हुनुपर्ने बताउनुभयो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेसन अफ एक्स्पोर्ट एसोसिएसन नेपालका अध्यक्ष पवनकुमार गोल्यानलगायतले व्यवसाय प्रवद्र्धनमा सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?