आर्थिक समृद्धिका लागि एभोकाडो खेती

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

✍️ के.बी. बस्नेत
नेपाल एक कृषिप्रधान देश भएकोले यहाँको कूल जनसंख्याको झण्डै दुई-तिहाइ जनता कृषिमा निर्भर छन् । त्यसैले यहाँका सबै कृषकको प्रमुख आयस्रोत यही हो । वास्तवमा कृषिले यहाँको कूल गार्हस्थ्य उत्पादनमा सरदर २७ प्रतिशत योगदान पुर्‍याउँदै आएको छ भने अन्य क्षेत्रको विकासमा पनि केही योगदान पुर्‍याउँदै आएको छ । तर विगतमा खाद्यान्न उत्पादनमा मात्र विशेष जोड दिनाले यस क्षेत्रको ठोस विकास गर्न सकिएन । वास्तवमा यस क्षेत्रको ठोस विकासका लागि फलफूल खेतीले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसै सन्दर्भमा एभोकाडो खेती गर्नसके धेरै फाइदा हुनेछ ।

नेपाल एक कृषिप्रधान देश भए पनि यहाँ फलफूलको खेती त्यति फष्टाउन सकेको छैन तर केही वर्षयता यहाँको केही जिल्लामा नयाँ किसिमका फलफूल खेती गर्ने प्रवृत्ति बढेको छ जसमध्ये एभोकाडो खेती पनि एक हो । नेपालमा घ्यूफलको नामले चिनिने एभोकाडो मेक्सिको र अमेरिकाबाट भित्रिएको अनुमान छ । यो फलको खेती ५ सयदेखि १७ सय मिटरसम्मको उचाइमा उष्ण र समशीतोष्ण हावापानी भएको ठाउँमा गर्न सकिन्छ ।

मंसिर, पुष र माघबाहेक अरू महिनामा रोप्न सकिने यस फलको बिरुवा एकपटक रोपेपछि धेरै वर्षसम्म निरन्तर रूपले फल दिइरहन्छ । यसको खेती खासगरी तुसारो नपर्ने र हावा नलाग्ने ठाउँमा गरिन्छ । यो फलको बिरुवा रोपेको चरदेखि ६ वर्षभित्र उत्पादन सुरु हुन्छ । नाम नै घ्यूफल हुनाले यस फलको बाहिरको पातलो बोक्रा निकालेपछि भित्रको गेडा वरिपरि रहेको घ्यू वा क्रिमजस्तो सेतो भागलाई दूध वा दहीमा मिसाएर खान सकिन्छ । यसबाहेक यसलाई पाउरोटीमा मिसाएर पनि खान सकिन्छ ।

आजकाल केही तारे होटलहरूमा यो फलको भित्री सेतो भागलाई खासगरी मेवा, गाजर र केरासँग मिसाएर सेवन गर्ने चलन निकै बढेको छ । यसले प्रत्येकको स्वास्थ्यमा निकै फाइदा गर्छ । यो फलमा भिटामिन, प्रोटिन, खनिज, फसफोरस, क्यालसियम र चिल्लो पदार्थ हुनाले स्वास्थ्यवद्र्धक हुन्छ । त्यसैले विदेशीहरूले यसलाई धेरै रुचाउँछन् र यसका उपभोक्ता दिन प्रतिदिन बढिरका छन् । यो फलको धेरै गुण भए पनि महँगो छ । यस्तो हुनुमा मुख्यतया यसको बजारको प्रतिस्पर्धा हुन नसक्नु र निश्चित ठाउँमा निश्चित ग्राहकमात्र हुनाले हो । यसैले आजसम्म उक्त फलको बजार धेरैजसो देशहरूमा व्यावसायिक बन्न सकेको छैन ।

एभोकाडोको बोट हेर्दा राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउँछ । यसको बोट हरियो, ठूलो पात भएको र फल हरियो तथा लामो हुने भएकाले सजिलैसँग चिन्न सकिन्छ । यसको बोट ठूलो भए पनि जरा धेरै तलसम्म नफैलिने हुँदा हावाहुरीले ढल्ने धेरै सम्भावना हुन्छ । यसको खेती गर्दा एक बोटबाट अर्को बोटको दूरी ८ मिटर हुनु उपयुक्त हुन्छ । यसको प्रत्येक बोटबाट सरदर ३० देखि १०० किलोग्रामसम्म फल फल्छ । नेपालमा १ लाख १९ हजार १ सय १४ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिन्छ भने सरदर १० लाख ९६ हजार ६ सय ७४ मेट्रिक टन फलफूल उत्पादन गरिन्छ । तर यहाँ ९ हजार २ सय ६ किलो फलफूल प्रतिहेक्टर उत्पादन भएको अनुमान छ ।

यहाँको कूल गार्हस्थ्य उतपादनमा फलफूल तथा मसला बालीको योगदान ७.०६ प्रतिशत छ । जुन अरू देशको तुलनामा निकै कम छ । यहाँ प्रत्येक वर्ष फलफूलको खपत बढे पनि उत्पादन भने खासै बढेको छैन । यहाँको स्वदेशी फलफूल उत्पादन अपर्याप्त भएकाले प्रत्येक वर्ष भारत र चीनबाट प्रचुरमात्रामा आयात गरिन्छ । फलफूलमा नेपालको परनिर्भरता बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैंची, सुपारी, केरा, कागती आदिको उत्पादनमा जोड दिएको छ तर अन्य फलफूलको खेतीमा खासै ध्यान दिएको देखिँदैन ।

वस्तुतः यहाँका धेरैजसो कृषकलाई एभोकाडोको खेतीबारे राम्रो ज्ञान छैन । कही वर्षअघिसम्म यहाँका ग्रामीण क्षेत्रका केही घरमा सौखका लागि एक–दुई बोट रोपिन्थ्यो । परन्तु हाल व्यावसायिक भविष्य देखेका केही कृषक उक्त फलको खेती गर्न आकर्षित भएका छन् । थोरै मिहिनेत गरेर धेरै आम्दानी गर्न सकिने भएकाले हालसालै पूर्वी नेपालका केही कृषक उक्त फलको खेती गर्न तम्सेका छन् । वर्तमान समयमा एभोकाडोको खेती खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धनकुटा र सर्लाहीका ग्रामीण क्षेत्रहरूमा हुन थालेको छ । यद्यपि उक्त खेतीले व्यापक रूप लिन भने सकेको छैन ।

एभोकाडोको मूल्य बढी हुनाले यहाँका धेरैजसो उपभोक्ता यसको सेवन गर्न त्यति आकर्षित छैनन् । हाल यसको बजार खासगरी काठमाडौं, ललितपुर, धनकुटा र सर्लाहीमा सीमित छ । यथार्थतः एभोकाडोको खेतीका लागि यहाँको हावापानी उपयुक्त छ । यसैले केही समययता यसको खेती विभिन्न ठाउँमा गर्न थालिएको छ । यसको खेती भीरपाखामा पनि गर्न सकिन्छ । त्यसैले यसको खेतीबाट एकातिर यहाँको बाँझो तथा खेर गएको जग्गा उपभोग गर्न सकिन्छ भने अर्कोतिर कृषकको आयआर्जन बढाउन सघाउ पुग्नेछ ।

हाल यहाँ एभोकाडोको माग निकै कम छ । परन्तु यसको माग क्रमिक रूपले बढिरहेकोले आगामी दिनहरूमा यसको खेतीका लागि सरकारले बिउ, बेर्ना तथा अन्य आवश्यक सामग्रीको उचित व्यवस्थापन गर्नसके धेरै कृष आकर्षित हुनेछन् र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । हालको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा प्रवाहमा विशेष जोड दिएको छ । विशेषतः उत्पादनमूलक मानिएका क्षेत्रमा लगानी बढाउन बैंकलाई बाध्यकारी बनाइएको छ ।

कृषि कर्जामा वाणिज्य बैंकहरूले २०८० असारसम्म कूल कर्जाको कम्तीमा १५ प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले भने कृषि तथा अन्य क्षेत्रमा क्रमशः २० र १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसबाहेक एभोकाडोलगायत अन्य व्यावसायिक फलफूल खेतीमा भएको कर्जाको नोक्सानी कम गरिने भएको छ । यस्तो कर्जाको नोक्सानी कम गर्नुपरे पहिलो वर्ष शून्य दशमलब २ प्रतिशत र दोस्रो वर्ष शून्य दशमलव ६ प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने भएको छ । यसबाट एभोकाडो खेतीमा प्रबद्र्धन हुनेछ र आर्थिक समृद्धिमा सघाउ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?