‘नमागिएको सल्लाह’ मालाका सयथुँगा फूल

Read Time = 15 mins

✍️ शम्भु कोइराला
नमागिएको सल्लाह :
हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहालको प्रेरणामा ‘नमागिएको सल्लाह’ स्तम्भ लेखनको दुई वर्ष पूरा भएसँगै सय शृंखलाको रूपमा यो गन्थन लेख्ने जमर्को गर्दैछु । यी दुई वर्षमा राजनीतिसम्बन्धी ३२, प्रशासनसम्बन्धी २२, अन्तर्राष्ट्रिय मामिलासम्बन्धी २१, सामाजिक क्षेत्रसम्बन्धी १९ र आर्थिक मामिला ५ गरी ९९ शृंखला पूरा भएछ ।

राजनीतिक विषयको प्रधानता :
प्रधान नीति राजनीति भएर होला अराजनीतिक मानिसको लेखनमा पनि राजनीतिक विषयले एक तिहाइ जस्तो हिस्सा ओगट्न पुगेछ । समसामयिक परिस्थितिले निर्देशित गरेका कारण धेरै विषय राजनीतिक पर्न गएको हुनसक्छ । बलिदानीपूर्ण राजनीतिक परिवर्तनपछिको व्यवस्थापनमा हामी कहाँ चुक्यौं ? भन्ने प्रश्नमा दुई अंक लेखियो भने ठूलाबडामा निहित अहंकारको अन्तर्य भन्ने शीर्षकमा नेपालका राजनीतिक नेतामा देखिने अहंकारको विषयमा चर्चा गरियो । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको गलत कदमका कारण जन्मेको लेखकीय असन्तुष्टिका कारण पनि राजनीतिक विषयमा बढी चर्चा गर्नु परेको महसुस भयो ।

सरकार र जनभावना दुई किनारका यात्री जस्ता भाग १ र २, प्रधानमन्त्री ओलीको संसद विघटन कति संवैधानिक, प्रतिनिधिसभा विघटनका दुष्परिणामहरू, नेपालको लोकतन्त्रमाथि देखिएका अशुभ संकेतहरू भाग १, २ र ३, तानाशाही शासकको चुनाव र जनताको रटना सत्ता कब्जाको बाहना, प्रतिनिधिसभा पुनस्र्थापना ऐतिहासिक कदम, पुनस्र्थापित लोकतन्त्रका १५ वर्ष पूरा तर जनताका आकांक्षा अधूरा, अर्धं त्यजति पण्डितः, गणतन्त्र दिवस र संविधानको कार्यान्वयन भाग १ र २, बालुवाटार मोह र अपारदर्शी शासन, ओली शासन सुशासनको अवसान, अदालतको फैसला कोसे ढुंगालगायत विषय ओली शासन शैलीका कारण सिर्जित विषय थिए ।

ओली अहंकार र बल मिच्याइँलाई सुधार गर्न नसकिएको भए आजका दिनमा नेपालको संविधान कागजको खोष्टो भइसक्ने थियो । नेतृत्व, अदालत, नागरिक समाज, सञ्चार माध्यम, बुद्धिजीवी, बारलगायत पेशागत संगठनको सक्रियताका कारण डिरेल भएको संविधान ठाउँमा आएको छ ।

प्रधानमन्त्री देउवालाई शुभकामना, देउवा सरकारका प्रभातकालीन संकेतहरू, कसलाई रिझाउने ? नेपाली जनता कि वैदेशिक शक्ति ?, प्रतिगमन परास्त गरेको सरकारको कछुवा गति, नेपाली राजनीतिमा मौलाउँदै गएको संस्कारहीनता, विलम्ब गरेर भएको विवादास्पद मन्त्रिपरिषद् विस्तार, नेपालका राजनीतिक दलहरू र आन्तरिक प्रजातान्त्रिक अभ्यास जस्ता विषय वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पुनरागमन र कार्यशैलीका कारण छानिन पुगेका थिए । ओली सरकारको पतनपछि बनेको देउवा सरकारबाट जनताले खासै अपेक्षा गरेका थिएनन् । अपेक्षा चाहिँ भइरहेको अवस्था खराब नभइदियोस् भन्ने थियो । तर, जनताका जनजीविकाका विषय दिनानुदिन
कष्टकर बनिरहेका छन् । रूस–युक्रेन युद्धको कारण सिर्जित ऊर्जा र खाद्यान्न संकटको कारण विश्वव्यापी रूपमा महँगी बढेको छ भने नेपालजस्तो शासकीय संयन्त्र कमजोर र मनमौजी भएको ठाउँमा जनताको अवस्था अति नै दयनीय भएको छ । गत वर्ष सबै पार्टीहरूको अधिवेशन सम्पन्न भएको सन्दर्भमा ती विषयले पनि स्थान पाउनु स्वाभाविकै थियो ।

कांग्रेस महाधिवेशन र नेतृत्व परिवर्तन, कांग्रेस महाधिवेशन :

गुम्यो परिवर्तनको अवसर, एमालेको दशौं महाधिवेशन रसिलो उद्घाटन निरस समापन जस्ता विषयले कांग्रेसभित्र युवा हावी हुने अअवसर गुमेको विषयमा चर्चा गरियो भने एमालेभित्र ओलीमय देखिएको दशौं अधिवेशनमा ओलीको एकलौटी कब्जालाई राजनीतिक रूपमा सौराहा पर्वको रूपमा चित्रण गरिँदैछ । ओलीले यो अधिवेशनबाट फरक मत राख्ने घनश्याम भुसाल र भीम रावल जस्तालाई पदीय रूपमा सफाया गरेका थिए ।

कांग्रेसको महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहको राजनीतिक बेइमानी इतिहासमा दर्ज भएको छ । जस्को कारण नेपाली कांग्रेस र मुलुक नै इतिहासकै कमजोर सरकारको चंगुलमा परिरहेको छ । प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा पराजित गरेर प्रकाशमानलाई जनताले दण्डित गरिसकेका छन् भने आगामी संघीय निर्वाचनमा उम्मेदवार बनेको अवस्थामा उनी आफैं दण्डित हुने अवस्थामा छन् ।

स्थानीय निर्वाचन र त्यसमा बालेन्द्र साहहरूको उदयलाई पनि सांकेतिक राजनीतिक घटनाक्रमको रूपमा चर्चा गर्ने कोसिस गरिएको छ । गणतन्त्रवादी पार्टीहरूको वैकल्पिक शक्तिको रूपमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले लाभ लिन सक्ने चर्चा गरिएको भए तापनि जनभावना स्वतन्त्र उम्मेदवारको पक्षमा गएको अवस्था रहृयो । राजावादीको प्रदर्शन र लोकतान्त्रिक व्यवस्था शीर्षकमा राजावादीहरूको बारेमा चर्चा गर्ने कोसिस गरियो ।

विकास प्रशासन :
राजनीतिपछि विकास प्रशासनसम्बन्धी विषयमा २२ शृंखलामा चर्चा गरियो । विकास आयोजनाका लागि जग्गा प्राप्तिमा अवरोध, विपद् व्यवस्थापन र एकीकृत बस्ती विकास, सुरक्षा थ्रेट वास्तविकता र बहानाबाजी, नेपालको प्रशासनका केही समस्याहरू, विकास र महामारीमा ठूलाबडाको निर्देशन भाग एक र दुई, विषयमा चर्चा गरियो । यसैगरी कन्ट्रोलरूमबाट चियाउँदा, सिडिओसाबको गन्थन सिडिओसावको गन्थन डोटीमा हृयाट्रिक, खुला कारागारको अवधारणा र नेपालमा खुला कारागारको चर्चा, सुकुम्बासी समस्या समाधानका आयोग : निको नहुने रोग, विश्वउपभोक्ता अधिकार दिवस ः परिणामभन्दा परम्परा धानिँदै, नसुध्रिएको नेपालको सरकारी सेवाप्रवाह जस्ता विषयमा सरकारी सेवामा कार्यरत रहँदाको अवधिको अनुभवमा आधारित विषयमा चर्चा गरियो ।

अति राजनीतिको चपेटामा प्रदेश प्रमुखको पद, प्रदेश प्रमुखका विविध अवतार, मधेस प्रदेश :

कुरा होइन काम गरौँ जस्ता विषयमा संघीय पद्धतिमा जनतासँग प्रत्यक्षरूपमा जोडिने निकाय प्रदेश सरकारको बारेमा चर्चा गरियो भने स्थानीय तह निर्वाचन र यससम्बन्धी बहसहरू, स्थानीय तह चुनाव बहस : सेवा प्रबाह नरोकियोस्, स्थानीय निकय निर्वाचन ः स्थानीय सरकार निरन्तरताको शुभ संकेत, अप्रिय नेतृत्वले हाँकेको स्थानीय चुनाव, स्थानीय निर्वाचन २०७९ का संकेत र सन्देशहरू जस्ता शीर्षकमा जनताको सिंहदरबार भनिने स्थानीय सरकारको बारेमा चर्चा गरियो । यसैगरी विश्वमा बिरलै देखिने नेपालको न्यायिक विचलन सम्बन्धमा न्यायनिरूपणको जबरापथ शीर्षकमा चर्चा गरियो ।

सामाजिक सवालहरू :
बितेका दुई वर्ष कोभिड-१९ महामारीको वर्ष रहे । यी दुई वर्षको लेखनमा कोभिड महामारी, महामारीको कारण उब्जेका समस्यालगायत सामाजिक विषयमा चर्चा गरियो । कोभिड-१९ कहरबाट प्रभावित जनशक्तिको व्यवस्थापन, लकडाउनको समाप्ति कोरोना भाइरसको निमन्त्रणापत्र नबनोस्, बन्दाबन्दी होइन काम गर सरकार, कोभिड १९ सचेतना बुझाइ र बुझपच्याइ भाग १ र २, कोभिड सरकार र जनता, संविधान र जनजीविकाका कुरा, युवाजनशक्तिलाई मार्गनिर्देश वर्तमानको चुनौती शीर्षकमा विश्लेषण गरियो ।

समसामयिक जल्दाबल्दा सामाजिक विषयमा चर्चा गर्ने सिलसिलामा कुलमानलाई निरन्तरता देऊ सरकार, गरिमामय पदको गरिमा कस्तो ?, दशैं २०७७ को शुभकामना, यस्तो सुन्दर नेपाल किन गरिब ?, नयाँ वर्ष २०७८ को शुभकामना, ताल न सुरको लेखनका १ वर्ष, आन्तरिक पर्यटन २०७८ का भोगाइ र बुझाइ, स्वदेश भ्रमण भोगाइ र बुझाइ, ओरालोतर्फको यात्राको निरन्तरता, २०७८ साल ः देशमा अस्थिरता र विदेशमा पाठ सिकाइ, फोहोर त मोहोर हो नि जस्ता विषय प्राथमिकतामा रहे ।

अन्तर्राष्ट्रिय मामिला :
कालापानी, लिपुलेक, लिम्पियाधुरा र अमेरिकी सहयोग परियोजना ( एमसिसी), अमेरिकी चुनाव : वाइडेनलाई शुभकामना, ट्रम्पवाद र यसका प्रभावहरू, फुटबलका महानायक रोनाल्डोलाई श्रद्धाञ्जलि, ट्रम्पवादलाई नेपाली संस्करणमा ग्रहण नगरौं, विश्वका चर्चित लोकतन्त्रवादी योद्धाहरू, यमनको संकट नेपालले के सिक्ने ? अफगानिस्तानबाट नेपालले के सिक्ने ?, नाइजेरिया र नेपालका समान समस्याहरू, म्यान्मारका जनतामाथिको बर्बर दमन बन्द गर, अफगानिस्तानमा सत्ता परिवर्तन भाग १ र २, एमसिसी बहस ः बहकाउ र वास्तविकता, जर्मनीकी चान्सलर मार्केल जसले हारेर पनि जितिन्लगायत शीर्षकमा लेखियो ।

यसैगरी जापानमा हालैसम्पन्न चुनाव र नवनिर्वाचित प्रधानमन्त्रीका चुनौतीहरू, जलवायु परिवर्तन र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, एमसिसी अतिवाद, अवसरवाद र राष्ट्रवादको भुँमरीमा, एमसिसी र नेतृत्वको परीक्षण, एमसिसी परियोजनाको बहस र युक्रेन आक्रमणबाट पाठ सिकाइ, नो पुटिन, गो पुटिन, स्टप पुटिन र प्रधानमन्त्री देउवाका भारत भ्रमणका संकेतलगायत विषयमा चर्चा गरियो ।

आर्थिक मामिलामा पाँच विषयमात्र चर्चा गरियो जसमा नयाँ मौद्रिक नीति र कार्यान्वयनका चुनौतीहरू, सरकारको मनपरितन्त्र र श्रीलंकापथमा अर्थतन्त्र, नयाँ बजेट र भुँइमान्छेको उत्थान, कोभिड-१९ को नेपालको अर्थतन्त्रमा प्रभाव, आसेपासे पुँजीवाद प्रणाली भत्काउने अर्बुद रोगलगायत विषयमात्र समेटिन पुगे । यसरी नमागिएको सल्लाह शृंखलाले शतक पूरा गरेको छ । नमागिएको सल्लाहका सय फूलबाट एउटा माला तयार भएको छ । कोरोना कहरको उत्कर्षको समयमा समेत लेखनलाई निरन्तरता दिन पाइयो । यसका लागि कोरोना भाइरसलगायतका सबै परिस्थिति अनुकूल भइदिएकोमा परमेश्वर र नियतिप्रति आभारी छु । हिमालय टाइम्सले निरन्तर रूपमा यो शृंखला प्रकाशन गरेकोमा पत्रिका परिवारप्रति पनि आभारी छु ।

समय, शरीर, मनले साथ दिएसम्म यस स्तम्भले निरन्तरता पाउनेछ । परिस्थिति अनुकूल भए नमागिएको सल्लाहलाई पुस्तकाकारमा पनि संग्रहित गर्ने प्रयास हुनेछ । अध्ययन गरेर लाइक, कमेन्ट र शेयर गरी लेखनलाई प्रोत्साहित गरिदिनुहुने सबैप्रति आभार व्यक्त गर्दछु । ‘नमागिएको सल्लाह’ ले जनजागरण, राज्यसंयन्त्रमा पुस्तान्तरण र नयाँ पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण अभियानमा तृण बराबरको सहयोग पुर्‍यायो भने आभारी हुनेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?