काठमाण्डौ उपत्यकामा बादँरबाट सरुवा रोगको संक्रमण फैलने त्रास

हिमालय टाइम्स
Read Time = 21 mins
A A- A+

-यशोदा भण्डारी

काठमाण्डौ । सन् १९९५ मा कंगोमा इबोला भाइरसको महामारी फैलियो । रोगको स्रोत थियो- संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी । इबोला संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी सफा गर्ने क्रममा मानिसमा फैलिएको भाइरसले कंगोमा करिब दुई सय ४५ जनाको ज्यान लियो ।

यही भाइरस सन् २००८ को फेब्रुअरीमा युगाण्डामा देखियो । जसमा झण्डै ५० जनाले ज्यान गुमाए । बाँदर तथा चिम्पाञ्जी कै कारण युगाण्डा हुँदै इबोलाको महामारी छोटो समयमै अफ्रिकी मुलुकहरू नाइजेरिया, गिनी, सेयरालियोन हुँदै लाइबेरियासम्म फैलियो । विश्व स्वास्थ्य संगठनका अनुसार, गिनी, सेयरालियोन र लाइबेरियामा इवोलाले एक सय भन्दा बढीको ज्यान लियो ।

यस्तै जंगली बाँदरबाट सर्न सक्ने घातक भाइरस अध्ययनका क्रममा अफ्रिका मै वैज्ञानिकहरूले सन् १९५८ ताका अर्को डरलाग्दो महामारी पत्ता लगाए । त्यसको १२ वर्षपछि यही रोग सन् १९७० मा अफ्रिकी मुलुक कंगोका मानिसमा पुष्टि भयो । जसलाई मंकिपक्स भनियो । पछिल्लो पटक सन् २०१९मा यो भाइरस इबोला भन्दा पनि घातक भन्दै सिंगापुरका वैज्ञानिकहरूले चेतावनी जारी गरेका थिए । नाइजेरीयाबाट सिंगापुर पुगेका एक व्यक्तिले यो भाइरस फैलाउन सक्ने त्रास चलिरहेको बेला विश्वमा कोरोना महामारी फैलियो । कोरोना महामारी सामुन्द्री जीवजन्तु अथवा जंगली जनावर केबाट फैलिएको थियो भन्ने पुष्टि अहिले पनि भएको छैन । कोरोना भाइरसको त्रास अन्त्य हुँदा नहुँदै अहिले विश्वमा त्यही ६४ वर्ष अघि अफ्रिकाको जंगलमा बस्ने बाँदरमा देखिएको मंकिपक्स भाइरसको त्रास फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुरुमा पश्चिम तथा मध्य अफ्रिकामा देखापरेको यो रोगको महामारी युरोप, अमेरिका, एसिया हुँदै विश्वका १२ मुलुकमा पुगेको छ । बेलायतबाट अन्यत्र कतै नगएका स्थानीय मै यसको संक्रमण पुष्टि भएपछि समुदाय मै मंकिपक्स फुगेको आशंका गरिएको छ । जसको स्रोत जंगली बाँदर नै हो ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरवहादुर पुन कोरोनाजस्तै थुप्रै प्राणघातक भाइरस जंगली जनावर, समुद्रमा पाइने जनावरमा पाइने बताउनुहुन्छ । प्रकृति र जंगली जनावरसँग मान्छेले द्वन्द्व निम्त्याउँदै गएपछि जनावरमा सिमित भाइरस मान्छेमा सर्न थालेको डाक्टर पुनको बुझाइ छ । प्रकृति मास्ने, जंगली जनावर मारेर खाने जस्ता काम बढ्दै गएपछि जनावरमा भएको भाइरस मानिसमा सरेको हो । ‘आनुवांशिक परिवर्तन भएर भाइरस मानिसमा सरेको हुन्छ’ डाक्टर पुनले भन्नुभयो- ‘यसरी मानिसमा सरेको भाइरस एकजनामा मात्रै सीमित भएर बस्दैन । यसको इतिहास एक सय वर्षअघिको स्पेनिस फ्लुसँग जोडिन्छ ।’ प्रकृति र जनावरलाई संरक्षण गर्दै मानिसले आफ्नो दूरी कायम गर्न सके यस्ता भाइरसको संक्रमण कम गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालमा पाइने धेरै बाँदर रोगी

अहिलेसम्म विश्वमा फैलिएको मंकिपक्स भाइरसको संक्रमण नेपालमा पुष्टि भएको छैन । बाँदरबाट मान्छेमा सर्ने यो रोग विश्वका धेरै मुलुकमा देखा परेपछि विश्व स्वास्थ्य संगठनले सचेतना अपनाउन आह्वान गरिरहेको छ तर प्रश्न उठ्छ- हामी कति सचेत र सुरक्षित् छौं ? सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले २०७५ सालमा गरेको अनुसन्धान अनुसार नेपालको पशुपति र स्वयम्भूका अधिकांश बाँदर झाडापखाला लगाउने ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरियाबाट ग्रसित भएको देखियो ।

झाडापखाला लागेर बिरामी परेका बाँदरमा गरिएको अध्ययन अनुसार बिरामी पर्ने बाँदरमा ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पत्ता लागेको थियो । अनुसन्धानको नेतृत्व गर्नुभएका सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालका अध्यक्ष डा. दिवेश कर्माचार्यका अनुसार यो व्याक्टेरिया बाँदरबाट मान्छेमा समेत सर्छ किनभने स्वयम्भू घुमेर फर्किएका केही विदेशी नागरिकमा पनि बाँदरलाई जस्तै झाडापखाला लागेपछि दिसाको नमुना परीक्षण गर्दा बाँदरमा पुष्टि भएको ‘क्याम्पलो ब्याक्टर’ ती पर्यटकमा सरेको पाइएको थियो । अहिले फेरि बादँरबाट मान्छेमा फैलिएको मंकिपक्स यस्तै अर्को समस्या हो । जुन रोग नेपालमा पुष्टि नभए पनि रोगी बाँदरले जुनसुकै बेला सार्न सक्छन् भन्नेमा सचेत रहनुपर्ने उहाँको सुझाव छ ।

यस्तै अमेरिकाको जन हक्किन्स युनिभर्सिटी, वासिङ्टन युनिभर्सिटी, क्यालिफोर्निया युनिभर्सिटी र नेपालको त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा २०७३ सालमा स्वयंम्भु र थापाथली क्षेत्रको ३९ वटा बाँदरको स्वास्थ्य परीक्षण गर्दा ३७ वटा बाँदरमा क्यान्सर र एचआइभी संक्रमण पुष्टि भएको थियो । अनुसन्धानका क्रममा ३७ बाँदरमा रेट्रो भाइरस र सिमिनियम भाइरस देखापरेको थियो । यो अध्ययन प्रतिवेदन सार्वजनिक भएपछि, धार्मिक महत्त्वले देश देशावरसम्म प्रसिद्ध काठमाडौंको पशुपतिनाथ र स्वयम्भू मन्दिर क्षेत्रमा मान्छेहरू बाँदरसँग त्राहिमाम बन्न थाले । किनभने पहिलो पटक बाँदरमा यस्तो भयानक रोगको संक्रमण औपचारिक रूपमा पुष्टि भएको थियो ।

संक्रमित बाँदरले मानिसलाई टोके त्यो मानिसमा सर्न सक्ने भएकाले ज्यादा जोखिम बढेको चिकित्सक डा. शेरबहादुर पुन बताउनुहुन्छ । बाँदरले टोकेपछि मानिसहरू टिटानस र रेबिजबिरुद्धको खोप लगाउन मात्र अस्पताल पुग्छन् तर यसबाहेक धेरै जोखिमयुक्त जिवाणु बाँदरले मान्छेमा सारिरहेका हुन्छन् । यसले मानव स्वास्थ्यमा पार्न सक्ने असरका कारण काठमाडौं महानगरबासीमा त्रास सिर्जना भएको छ । त्यस्ता संक्रमण बारे न सर्वसाधारण गम्भीर देखिन्छन् न सरकारले नै यो विषयमा पर्याप्त सूचना दिइरहेको छ ।

पशुपतिका बाँदरमा गरिएको अध्ययनले क्यान्सर र एचआइभी संक्रमणको डरलाग्दो त्रास फैलिएपछि बाँदरको टोकाइबाट घाइते भएका चार पाँच जना मानिस दैनिक बाँदरले टोकेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल पुग्न थालेको सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउनुहुन्छ । त्यसबेला जस्तै अहिले पनि पशुपतिनाथ परिसर र स्वयम्भूमा बाँदरहरू प्रशस्त भेटिन्छन् । रुखमा चढ्ने, दर्शनार्थीको झोला थुत्ने, खानेकुरा खोसेर लैजाने र आक्रमण गर्ने बाँदरको स्वभाव नै हो तर देख्दा जति सामान्य लागे पनि अधिकांश बाँदर अस्वस्थ रहेको चिकित्सकहरू बताउँछन् । संक्रमित बाँदरले मानिसलाई टोके त्यो मानिसमा सर्न सक्ने भएकाले ज्यादा जोखिम बढेको चिकित्सक डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

बाँदरले टोकेपछि मानिसहरू टिटानस र रेबिजबिरुद्धको खोप लगाउन मात्र अस्पताल पुग्छन् तर यसबाहेक धेरै जोखिमयुक्त जिवाणु बाँदरले मान्छेमा सारिरहेका हुन्छन् । यसले मानव स्वास्थ्यमा पार्न सक्ने असरका कारण काठमाडौं महानगरबासीमा त्रास सिर्जना भएको छ । त्यस्ता संक्रमण बारे न सर्वसाधारण गम्भीर देखिन्छन् न सरकारले नै यो विषयमा पर्याप्त सूचना दिइरहेको छ ।

बाँदर विज्ञको बेग्लै पीडा

नेपालको पशुपति, स्वयम्भू, थापाथली मात्र नभई देशका विभिन्न जंगलमा पाइने बाँदरका विषयमा प्रा. डा. मुकेश चालिसे अध्ययन गर्नुभएको छ । डाक्टर चालिसेले सुरुमा बाँदरबाटै मान्छेमा सरेको आशंका गरिएको प्राणघातक रोग एड्सको ओखतीको प्रथम परीक्षणका लागि नेपाली बादँर उपयुक्त रहेको भन्दै नेपालमा पहिलोपटक व्यवसायिक रूपमा बाँदर पालन गर्नुभएको थियो । डाक्टर चालिसेका अनुसार सन् २००३ मा स्वयम्भूमा एकैपटक थुप्रै बाँदर मरेपछि डाक्टर चालिसेको पहलमा केही अमेरिकी विशेषज्ञ नेपाल आएका थिए । वासिङन नेशनल प्राइभेट रिसर्च सेन्टरका तर्फबाट लिजा जोन्स एन्जेल्स सहितको टोलीले स्वयम्भूमा रहेका ३९ वटा बाँदरको रगतको नमुना लिएर फर्कियो । त्यो बेला बादँरमा सबैभन्दा बढी छाला सम्बन्धी रोग जस्तै लुतो, दाग, ग्यास्ट्रो इन्टेस्टाइनल रोगहरू, प्यारासाइटहरू, र सामान्यतया क्षयरोगको लक्षणहरू देखिएको डाक्टर चालिसे बताउनुहुन्छ ।

त्यो बेला बाँदरमा हर्पिस बि भाइरसहरू नदेखिएपछि पशुविज्ञहरू खुसी थिए । ‘हर्पिस बि भाइरस बादँरमा सीमित हुदाँ त्यति नराम्रो गर्दैन, त्यसले उ आफैंलाई मात्र असर गर्छ डाक्टर चालिसे भन्नुहुन्छ- ‘तर यो भाइरस मान्छेमा सर्यो भने एड्स भन्दा खतरा हुन्छ तर पाइएन । उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

केही समयपछि नेपालमा पाइने यी प्रजातीको बाँदरमा हेपाटाइटिस बी, सी, मलेरिया तथा दम, पार्किन्सन र एड्स जस्ता रोगको औषधीको प्रभाव परीक्षण गर्न सकिने पत्ता लाग्यो । अमेरिकी सरकारको मातहत रहेका नेसनल इन्स्टिच्युट अफ हेल्थ सम्बद्ध संस्थाहरू वासिङ्टन नेसनल प्राइमेट रिसर्च सेन्टर र साउथवेस्ट फाउन्डेसन फर बायोमेडिकल रिसर्चले नेपाली राता बाँदरमाथि अध्ययन थालेका थिए । यसका लागि नेपाली राता बादँरहरू वैज्ञानिक परीक्षणका लागि अमेरिका लैजाने भनिएको थियो ।

यसका लागि ती अनुसन्धान केन्द्रहरूमध्ये वासिङ्टन नेसनल प्राइमेट रिसर्च सेन्टरले नेपाल बायोडाइभर्सिटी रिसर्च सोसाइटीका अध्यक्ष डा. मुकेश चालिसेसँग र साउथवेस्ट फाउन्डेसन फर बायोमेडिकल रिसर्चका प्रवेशमान श्रेष्ठको नेपाल बायोमेडिकल रिसर्च सेन्टर प्रालिसँग सम्झौतासमेत गरिसकेका थिए । त्यसवेला एउटा नेपाली बाँदरका लागि अमेरिकी अनुसन्धानकर्ताले औसतमा ३ लाख २३ हजार ७ सय ७८ रुपैंया तिरेको भन्दै विवाद सिर्जना भएको थियो । यो अनुसन्धान प्रक्रियामा प्रवेशमान श्रेष्ठ र डाक्टर चालिसेहरू नै सक्रिय थिए ।

निश्चित् समयमा नेपाली बाँदर अमेरिका उड्ने भएपछि २०६३ साल मंसिर ८ गते नेपालमा पशु अधिकारकर्मीको नाममा आन्दोलन सुरुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निरन्तर अधिकारकर्मीले दबाब दिइरहे । अमेरिकी सरकार मातहतका नेसनल इन्स्टिच्युट अफ हेल्थ सम्बद्ध संस्थाले नेपाली राता बाँदरमाथि थप अध्ययन र परीक्षण गर्न पाएनन् । बाँदर तथा जंगली जनावरबाट मान्छेमा सर्ने विभिन्न रोगको औषधी तयार पार्न वैज्ञानिकहरूले नेपाली बाँदरमाथि गर्न खोजेको परीक्षण रोकीयो । पशु अधिकारकर्मीको आन्दोलनपछि विशेष खानपान र उपचार पाएर हुर्केका बाँदर नागार्जुन जंगलमा छाडियो । धेरै बाँदर जंगल मै मरे ।

जंगलमा अभ्यस्त भएर बाचेका बादँरहरूमा पनि एड्स, क्यान्सर अथवा विभिन्न खालका सरुवा रोग फैलियो । अहिले पनि पशुपतिको जंगल, स्वयम्भूको पाखो अथवा थापाथलीका खुला चौरमा बाँदर मरेको अथवा छट्पटाइरहेको सजिलै देख्न सकिन्छ। अमेरिका लानबाट जोगाइएका ती बाँदरको अहिलेको पीडादायी मृत्युबारे कुनै पनि अधिकारकर्मीहरू क्रियाशील देखिँदैनन् ।

सन् २००६ मा पशुपति क्षेत्रमा अध्ययन भएको थियो जसमा, अधिकांश बाँदरमा क्षयरोग, झाडापखला, पेटका जुका, ठेउला, दादुरा, क्यान्सर तथा एड्सको संक्रमण भेटिएको थियो । यिनै रोग बाँदरबाट मानिसमा सरिरहेका छन् । पशुपति, स्वयम्भू वा थापाथली क्षेत्रमा फोहर, खुला मलमूत्र लगायतबाट बाँदरमा सुरुमा संक्रमण हुने र बाँदरबाट मानिसमा सर्ने अनुसन्धाानले देखाएको छ ।

डाक्टर चालिसे सम्झिनुहुन्छ, भारत चीन, बङ्लादेशका बादँर भन्दा नेपालका राता बादँर त्यो बेला परीक्षणका क्रममा राम्रो र स्वस्थ रहेको पाइएपछि यसलाई बायोमेडिकल प्रयोगमा लगाउन सजिलो हुने भएकाले अध्ययन थालिएको थियो । त्यस्तो खालको अध्ययन गर्दा एकातिर किसानहरूलाई बादँर कम भएर फाइदा हुने र अर्कोतिर नेपालको राजस्व वृद्धिमा पनि टेवा पुग्ने उहाँको विचार थियो तर सरकारले यस विषयमा त्यति सकारात्मक प्रतिकृया नदिएकाले उक्त कार्यक्रम त्यतिकै बन्द भयो ।

जनावरविद् प्रा. डा. मुकेश चालिसे भन्नुहुन्छ- मानिसलाई लाग्ने जति पनि रोग छन् ती बाँदरबाट सर्न सक्छ । मान्छेमा लागेका रोग पनि बादँरमा सर्न सक्छन् । प्राकृतिक रूपमा रोगसँग लड्न सक्ने क्षमता मानिसको तुलनामा बादँरसँग ज्यादा हुनेभएकाले बादँरमा लागेको रोग मान्छेमा फैलियो भने त्यो बढी संक्रामक हुन्छ र रोक्न गाह्रो हुन्छ ।

उहाँका अनुसार सन् २००६ मा पशुपति क्षेत्रमा अध्ययन भएको थियो जसमा, अधिकांश बाँदरमा क्षयरोग, झाडापखला, पेटका जुका, ठेउला, दादुरा, क्यान्सर तथा एड्सको संक्रमण भेटिएको थियो । यिनै रोग बाँदरबाट मानिसमा सरिरहेका छन् । पशुपति, स्वयम्भू वा थापाथली क्षेत्रमा फोहर, खुला मलमूत्र लगायतबाट बाँदरमा सुरुमा संक्रमण हुने र बाँदरबाट मानिसमा सर्ने अनुसन्धाानले देखाएको छ । चालिसेका अनुसार, नेपालमा लंगुर, रातो र आसामी गरी ३ प्रजातिमा ६ उपजातिका बाँदर पाइन्छन् ।

रुखका बोक्रा, पात, जडिबुटी, फलफुल खाएर बाँच्नुपर्ने बाँदर अहिले मान्छेले जस्तै जुस, आइसक्रिम, चाउचाउ, बिस्कुट, पाउरोटी, तथा अन्य पेय पदार्थमा बानी लागेको छ । यस्ता तयारी खानेकुरामा पाइने विभिन्न रासायनिक पदार्थका कारण बाँदरहरू मानिसप्रति बढी आक्रमक हुन थालेका छन् । जंक फुड कै कारण झाडापखाला, लुतो, रुघाखोकी, टीबी जस्ता रोग बाँदरमा सामान्य बनेको छ । आँखामा संक्रमण, छालामा मंकिपक्स जस्तै समस्या पशुपति र स्वयम्भूका बाँदरमा प्रशस्तै देख्न सकिन्छ । प्राकृतिक खानाभन्दा तयारी खानेकुरामा बानी परेका बाँदर रोगको भण्डार मात्र बनेका छैनन्, बाँदरको औसत आयु पनि घटिरहेको छ ।

२० वर्षसम्म बाँच्न सक्ने बाँदर अहिले मुस्किलले १२ वर्ष मात्रै बाँच्ने गरेको र बाँदरमा मान्छेमा जस्तै, ट्युमर, प्रसूतिजन्य रोग समेत देखिएको उहाँले बताउनुभयो । काठमाडौंका विभिन्न भागमा पाइने रोगी बाँदरको स्वास्थ्य अवस्थाबारे भरपर्दो अनुसन्धान भने कतैबाट पनि भएको छैन । विश्वभरका वैज्ञानिकहरू बाँदरबाट फैलिएको मंकिपक्सको सङ्क्रमणबारे अनुसन्धान गरिरहेको बेला नेपालमा बाँदरबाट फैलिइरहेका रोगको विषयमा थप खोजी नहुनु चिन्ताको विषय हो ।

श्रोत: आइएनएस(स्वतन्त्र समाचार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?