सरोकारवालालाई एलर्ट रहन जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

-युवराज पौडेल

स्याङ्जा । जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाले वर्षातको सिजनसँगै मनसुन सुरु भइसकेको र जिल्लामा पनि विपद्जन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

जिल्लाका सबै पालिकाहरूले विपद्को स्थितिको आँकलन गरेर आ-आफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र आवश्यक सामग्री खरिद गरी मौज्दात राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । बैठकद्वारा वर्षात्का सिजनमा बाढी पहिरो आई जुनसुकै बेला पनि सडक अवरुद्ध हुन सक्ने भएकाले आवश्यक पर्ने डोजर, जेसिभी, लगायतका सामग्रीका साथै सोका चालकहरूलाई समेत तयारी अवस्थामा राख्न सडक कार्यालय, स्थानीय पालिका र सुरक्षा निकायलाई अनुरोध गरिएको छ ।

बैठकले विपद् व्यवस्थापनका लागि आवश्यकता अनुसारका सामग्रीहरू खरिद गरी तीनवटै सुरक्षा निकायलाई समेत उपलब्ध गराउन स्थानीय पालिकालाई अनुरोध गरेको छ । वर्षात्का सिजनमा मनसनुजन्य बाढी पहिरो तथा पानीजन्य हैजा, आउँ, टाइफाइड लगायतका संक्रामक रोगजन्य विपद्हरू जुनसुकै बेला पनि आउन सक्ने भएको हुँदा सोको व्यवस्थापनका लागि अस्पताल, स्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, रेडक्रस, उद्योगी व्यवसायी, सुरक्षा निकायहरू, सडक तथा पूर्वाधारहरूसँग सम्बन्धित कार्यालयहरूलाई आ–आफना क्षेत्रबाट सहयोग गर्न र आ-आफ्ना संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न अनुरोधसमेत गरिएको छ ।

बैठकले पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका–१ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ्–२ को मगर समाज भवन र सो वरपरका चार घरलगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ्स्थित ८० घर परिवार उच्च जोखिममा रहेको पनि औल्याएको छ । यसैगरी, गल्याङ् नगरपालिका-५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहेको, अर्जुनचौपारी-२ जलजलेको पहिराले चार घर र पाँचवटा गोठ जोखिममा रहेका र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट–रुद्रवेणी पुल वरपरका क्षेत्र पनि उच्च जोखिममा रहेको हुँदा उल्लेखित स्थानहरूलाई विपद्को दृष्टिले उच्च निगरानीमा राखेर काम गर्न निर्देशन दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?