स्क्वासको फाइनल प्रतिस्पर्धा आज

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । पोखरामा सुरु भएको स्क्वासको फाइनल प्रतिस्पर्धा आज हुँदै छ । विश्व ओलम्पिक डे को अवसर पारेर स्क्वास ¥याकेट एसोसिएसन कास्कीले पोखरा महानगर पालिका खेलकुद विकास समितिको सहयोगमा बिहीबारबाट सुरु प्रतियोगिताको आज फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।

पोखरा रंगशालामा निर्मित कोर्टमा सञ्चालित प्रतियोगितामा कास्कीका २३ जना स्क्वास खेलाडी सहभागी छन् । प्रतियोगिताको दोस्रो दिन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य स्क्वास कोर्टमै गएर खेलाडीहरूको हौसला बढाउनुभएको थियो । ‘ए’ र ‘बी’ गरी दुई पोल गरी खेलाइएको प्रतियोगितामा बिहीबार पहिलो चरणका खेल भएका थिए भने शुक्रबार क्वार्टरफाइनल र सेमिफाइनलका खेल भएका थिए ।

बिहीबार प्रतियोगिता उद्घाटन गर्न पुग्नुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोर्टको भौतिक पूर्वाधार बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको थियो । हाल एउटामात्र कोर्ट रहेकोमा सोही स्थानमा थप दुईवटा कोर्ट बनाउने पूर्वाधार तयार छ । नवौं राष्ट्रिय खेल हुनुअघि नै प्रदेश सरकारले बजेट दिएर थप एउटा कोर्ट सम्पन्न गर्ने आश्वासन मन्त्रीले गुरुङले दिनुभएको थियो ।

त्यस्तै प्रतियोगिताको दोस्रो दिन उपस्थित पोखरा महानगरका प्रमुख आचार्यले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न सुझाव दिनुभएको थियो । युवा र विद्यार्थीलाई आर्कषण गरेमात्र खेलाडी उत्पादन हुन सक्छन् भन्दै उहाँले त्यस्ता प्रतियोगितालाई महानगरले सहयोग गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?