साधना र मौलिकतामा ध्यान पुर्‍याउन आवश्यक छ : माधव भण्डारी

कृष्ण भुसाल
Read Time = 10 mins

सबै खालका गीत गाउने माधव भण्डारीले खास गरी लोकगीत र भजनमा आफूलाई अग्रपंक्तिमा राख्दै आउनुभएको छ । संगीत, संगीत संयोजन र गायनमा आफूलाई सक्रिय राख्दै आउनुभएका भण्डारी तीन हजारभन्दा बढी सिर्जना श्रोता/दर्शकमाझ पस्किएको बताउनुहुन्छ । यस्तै एक सय पचासभन्दा बढी गीतमा संगीत संयोजन गर्नुभएका उहाँ पाँच वर्षअघि मोटरसाइकल दुर्घटनामा पर्नुभएपछि केही आझेलमा पर्नुभएको थियो तर फेरि उहाँ उही पुरानो जोस, जाँगर र उत्साहका साथ यो क्षेत्रमा सक्रिय हुनुहुन्छ यतिबेला । धेरै गीतमा स्वर दिनुभएका उहाँ ‘धौलागिरिमा सके गुन तिरौँला नत्र फिरीमा...’ गीत श्रोता/दर्शकले अत्यधिक मन पराएपछि फर्केर हेर्नुपरेको छैन । एउटा सर्जकले साधना र मौलिकतामा ध्यान पुर्‍याउन आवश्यक छ भन्नुहुने सर्जक माधव भण्डारीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
पहिलेका दिनजस्तै विभिन्न गीतहरूमा एरेञ्ज गर्ने, नयाँ गीतहरूमा संगीत गर्ने, स्टुडियोमा आफ्नो आवाजमा नयाँ गीतहरू रेकर्ड गर्ने, समग्र गीतसंगीतको निकट नै सलबलाइरहेको छु ।

गीतसंगीतको यात्रामा कसरी आउनुभयो ?
बाल्यकालमा सांगीतिक क्षेत्रमा रुचि, झुकाव र मैले गीत गाउँदा सुन्ने हरजनले, राम्रो छ सांगीतिक भविष्य उज्ज्वल छ भन्ने मनोबल थाप्ने हौसलाले, यो क्षेत्रमा अग्रसर हुने प्रेरणा मिल्यो । त्यसैले यो क्षेत्रमा आएँ ।

पहिलो रचना के थियो ?
गाउँ-ठाउँमा प्रतियोगिता हुँदा उक्त ठाउँमा गाउने मेरो पहिलो र मन परेको सिर्जना, ‘भगवान् आऊ न मेरो छेउ, दुखीमाथि तिम्रो बास हुने भए दया गरी अझै दुःख देऊ ।’ जुन ५६ सालमा तानसेन खस्यौली नामक एल्बममा गायक बद्री पंगेनी दाइले गाउनुभएको छ ।

कतै औपचारिक प्रशिक्षण पनि लिनुभयो ?
लिएको छु र लिँदै पनि छु । सुरुमा मुम्बई शान्ता कुरुजमा अग्रज गायक सुरेश वाडकरको संगीत विद्यालयमा दुई वर्षपश्चात् नेपालको असन गान्धर्वमा चन्दन गुरूसँग र हाल कालिकास्थान चण्डी काफ्ले गुरूसँग ।

अहिलेसम्म यहाँका कति जति गीत श्रोता/दर्शकमाझ आएका छन् ?
मैले औपचारिक सुरुवातबाट गाएका गीतहरू संख्यात्मक यति नै भन्न त अलि सकिनँ तर अन्दाजमा तीन हजारभन्दा माथि होला ।

माधव भण्डारीलाई चिनाउने गीत कुन थियो जस्तो लाग्छ ?
गीतसंगीत निर्माणकर्ताज्यूहरूको स्नेह र साथसहयोगले विगतका दिनमा धेरै गाउने अवसर पाएँ । जसमध्ये नेपाली कलाकारिता क्षेत्रका मूर्धन्य स्रष्टा आदरणीय नारायण रायमाझी दाइको सिर्जनाको ‘धौलागिरिमा सके गुन तिरौँला नत्र फिरीमा’ बोलको गीत हो जस्तो लाग्छ ।

प्रायः कस्ता गीत गाउन मन पर्छ ?
गाउन त सबै धारका गीतहरू गाएको छु । आफूलाई मन पर्नेमा लोकदोहोरी, लोकआधुनिक र भजनहरू नै हुन् ।

लोकदोहोरी, लोकआधुनिक र भजनमै मन बस्नुको कारण ?
मलाई यो क्षेत्रमा ल्याउन र स्थापित गर्ने लोकदोहोरी हो । त्यसैले धर्तीमा रहुन्जेल मुटुमा हुन्छ । आधुनिक गाउने शैली र संगीतको निकट रहने प्रेरणा मिल्ने गीत हो । भजन मानव जीवनको यथार्थ भाव बोकेको हुन्छ, गाउँदा अन्तरमनमा शान्ति प्राप्त हुन्छ त्यसैले ।

तपाईं आफैँलाई औधी मन परेको आफ्नै सिर्जना ?
मैले माथि पनि भनेँ– ‘भगवान् आऊ न मेरो छेउ’ । म मानव जीवनलाई निकटबाट बुझ्न चाहने भएर होला, भगवान्सँग प्रार्थना गरेको भाव बोकेको गीत । ‘दुखीमाथि तिम्रो बास हुने भए दया गरी अझै दुःख देऊ ।’

गायनसँगसँगै संगीत कम्पोजमा पनि आफूलाई व्यस्त बनाउँदै आउनुभएको छ होइन ?
हो, विगत दशकदेखि गीत कम्पोजमा धेरै सक्रिय र व्यस्त पनि छु ।

कति जति गीतमा संगीत कम्पोज गर्नुभयो होला ?
मैले पहिले पनि फाट्टफुट्ट कम्पोज गर्थेँ । पछि अलि सक्रिय हुन थालेँ । आजसम्म अन्दाजमा १५० जति होला ।

बीचमा यहाँ दुर्घटनाका कारण केही समय ओझेल परे जस्तो लाग्छ ?
हो, म पाँच वर्षअघि बाइक दुर्घटनामा परेँ र अन्तिम अवस्था अर्थात् डाक्टरदेखि देख्ने सबैले आशा मारेको अवस्थामा पुगेँ रे । त्यो अवस्थाबाट नर्मल अवस्था प्राप्त गर्नु त भाग्य नै ठान्छु । कहालीलाग्दो क्षण भोगाइले आफ्नो क्षेत्र त धेरै खस्किएको महसुस हुन्छ तर पुनर्जन्म पाएँ, यसमा खुसी छु ।

गीतसंगीतमा यहाँका अबका योजना के-कस्ता रहेका छन् ?
पुनः जोडेँ, दुर्घटनाका कारण खस्किएको मेरो गायकीलाई फेरि संगीत साधनाले सुधारेको छु र प्रयासमै छु । अझ मिहिनेतका साथ यो क्षेत्रमा मजबुत पाउ राख्ने लक्ष्यमा छु ।

सबैभन्दा मन पर्ने गायक, संगीतकार र गीतकार ?
सबैभन्दा मन पर्ने अग्रज गायक प्रदीपराज पाण्डे, उहाँको आवाजले हृदय स्पर्श गर्छ । संगीतकारमा स्व. गोपाल योञ्जन, गीतको वास्तविक मर्म संगीतमा भेटिन्छ र गीतकारमा स्व. रत्नशमसेर थापा ।

नेपाली गीतसंगीतको अहिलेको अवस्था कस्तो पाउनुहुन्छ ?
सम्बन्धित स्रष्टाहरूले गीतसंगीतमा साधना र मौलिकतामा ध्यान नदिएर पश्चिमेली संस्कृति र शैली पछ्याउन थालेको र जसका कारण हरनेपालीजनको मनमा दीर्घकालीन बास नगरेको जस्तो लाग्छ ।

गीतसंगीत के रहेछ ?
गीतसंगीत हरजनको सुखदुःखको साथी रहेछ, परिस्थितिअनुसारको भूमिका निभाउने ।

आफैँले आफैँलाई चिनाउनुपर्दा कसरी चिनाउनुहुन्छ ?
म गायकभन्दा पनि गीतसंगीतको निकटको स्नेही भन्न रुचाउँछु । किनकि संगीत भनेको बुझिनसक्नु, अथाह सागर रहेछ । हिजो संगीतको विद्यार्थी थिएँ, आज छु र भोलि पनि विद्यार्थी नै रहनेछु ।

यो क्षेत्रमा आएर के गुमाएँ, के पाएँ जस्तो लाग्छ ?
यो क्षेत्रमा आएर केही गुमाएको महसुस ममा छैन । इष्टमित्र, साथी–भाइ, दर्शक–श्रोताको माया पाएको छु । अझ ठूलो कुरा साधना गर्दा वा गाउँदा आफैँमा धेरै आनन्द पाइरहेको हुन्छु ।

तपाईंका कार्यलाई घरपरिवारबाट कत्तिको सपोर्ट मिलेको छ ?
म ग्रामीण भेगबाट केन्द्रमा आएर यो क्षेत्रमा दुई दशकभन्दा लामो समय व्यतीत गर्नु नै घरको साथ, सपोर्ट हो भन्न रुचाउँछु । किनकि यो क्षेत्रको सिँढीमा पहिलो खुट्किलो घरबाट चढाइदिनुभएको हो । यसको मुख्य श्रेय जान्छ मेरो आदरणीय दाइ दामोदर भण्डारीमा ।

यो क्षेत्रमा आउन लागेको र आउँदै गरेकालाई कस्तो सल्लाह दिनुहुन्छ ?
यो क्षेत्रमा आउँदा क्षेत्रबारे धेरै थोरै बुझ्न जरुरी लाग्छ र मौलिक संस्कृति र गीतसंगीतमा आवश्यक जानकारी लिन जरुरी देख्छु म ।

अन्त्यमा ?
गीतसंगीतमा आबद्व वास्तविक कला र गला भएकाहरूमा हर दर्शक/श्रोताको साथ मिलोस् ताकि सुन्दर प्रतिभाले थप सांगीतिक सिर्जनाका लागि मनोबल प्राप्त गरून् र सबै जनले कालजयी गीतसंगीतको वास्तविक आनन्द पाऊन् । धन्यवाद । जय गीत जय संगीत ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sujal
Sujal
2022-06-25 11:20 am

Wow! very nie..

Madhav Bhandari
Madhav Bhandari
2022-06-25 11:22 am

आहा…. अती सुन्दर 🙏

Samikshya Bhandari
Samikshya Bhandari
2022-06-25 4:07 pm

Wow very nice

Last edited 1 year ago by Samikshya Bhandari

रिलेटेड न्युज

छुटाउनुभयो कि ?