बोर्ड र पुँजी बजारका अनशनकर्ताबीच सम्झौता

Read Time = 6 mins

काठमाडौं । पुँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आमरण अनशन तोड्नुभएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर उहाँले शुक्रबार १०औँ दिनमा अनशन तोड्नुभएको हो ।

संघर्ष समितिका माग पूरा गर्न कार्यान्वयन समिति बनाएपछि उहाँले अनशन तोड्नुभएको समितिले जनाएको छ । बोर्ड र कोइरालाबीच भएको १९ बुँदे सम्झौतामा अर्थ मन्त्रालयद्वारा गठित मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन पुँजी बजारका समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर कार्य गर्ने, वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग आवश्यक समन्वय गर्ने, कमिशन ब्रोकर र फुल ब्रोकर सम्बन्धमा थप अध्ययन गरी कार्य अघि बढाउने उल्लेख छ ।

त्यस्तै धितोपत्र दलाल व्यवसायीको विगत १५ महिनामा २३ स्थानमा शाखा कार्यालयका लागि पूर्वाधार तयार गर्न सूचित गरेकोमा आठ स्थानमा शाखा कार्यालय स्थापना स्वीकृति गरिएको छ । थप १६ स्थान स्वीकृत दिने प्रक्रिया तत्काल अघि बढाउने, गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको वातावरण तयार गर्न हाललाई विदेशमा काम गर्ने श्रमिकलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत आरक्षण गर्ने काम अन्तिम चरणमा रहेकाले आगामी २०७९ साउनदेखि कार्यान्वयनमा ल्याउने, सार्वजनिक ओहदामा रहेकालाई पुँजी बजारबारेमा सकारात्मक वा नकारात्मक अभिव्यक्ति नदिने सम्बन्धमा बोर्डले सञ्चालन गर्ने वित्तीय साक्षरता कार्यक्रममा उक्त विषयलाई विशेष जोड दिने र संस्थागत सुदृढीकरण सम्बन्धमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने पनि सम्झौतामा उल्लेख छ ।

त्यसैगरी साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमइज प्ल्याटफर्म सञ्चालनका लागि नेप्सेले कार्यविधि तयार गरिसकेको र सोसम्बन्धी प्राविधिक व्यवस्था मिलाउने कार्य भइरहेकाले २०७९ भदौ महिनासम्म कार्यान्वयनमा ल्याउन पहल गर्ने, धितोपत्र बजारमा लिइने शुल्कका सम्बन्धमा बोर्डबाट अध्ययन सम्पन्न हुनेक्रममा रहेकाले सोको प्रतिवेदनपछि सबै सरोकारवालाको राय सुझाव लिई अन्तिम रूप दिने, दीर्घकालीन लगानीकर्ताका लागि तीन प्रतिशतमात्र पुँजीगत लाभकर लाग्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने, धितोपत्र बजारमा नयाँ औजार भिœयाउने सम्बन्धमा नेप्सेबाट अध्ययन भई कार्यान्वयन चरणमा रहेकाले सोका लागि आवश्यक कार्य अघि बढाउने, मर्जर तथा एक्विजिसनमा रहेको अन्योलता हटाउन नेपाल राष्ट्र बैंक, बिमा समिति र नेप्से सम्मिलित समिति गठन भइसकेको र समितिबाट प्राप्त हुने प्रतिवेदनबमोजिम तत्काल कार्य अघि बढाइनेलगायत रहेका छन् ।

सेयर बजार पनि बढ्यो

शुक्रबार नेप्से १३.७८ अंकले बढेर १८६२.०६ अंक पुगेको हो । सेन्सेटिभ इन्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.३८ अंकले बढेको छ ।

कारोबारमा आएका दुई सय २३ कम्पनीका ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर एक अर्ब १५ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । १३ सूचकमध्ये १२ समूहको सूचक बढेको छ भने म्युच्युअल फन्डको सूचक भने घटेको छ । फाइनान्स समूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाइसी नेपालको सेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ । तर, आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आठ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबारसहित कुमारी बैंक शीर्षस्थानमा रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?