अख्तियारद्वारा बाराका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर, सवा पाँच करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नदीजन्य वस्तु उत्खनन तथा बिक्री वितरण कार्यमा अनियमितता गर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा पाँच करोड रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपमहानगरपालिका अन्तर्गत पर्ने बालगंगा खोलाबाट नदीजन्य वस्तु उत्खनन, संकलन तथा बिक्रीबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं तथा ठेकेदारहरू ओमशंकर प्रसाद र मीराकुमारी श्रेष्ठविरुद्ध अख्तियारले पाँच करोड २६ लाख ६८७ रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बाराका दुईवटा खोलाबाट नदीजन्य वस्तु उत्खनन गर्दा दाखिला गर्नु पर्ने बाँकी रकममा नगरपालिकाको राजस्व रकम चुहावट गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध बिगो, जरिवाना र कैद सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा प्रमुख प्रशासकीय अधिकृत सेढाईंले उपमहानगरपालिकाभित्र पर्ने पसाहा खोलाको नदीजन्य सामग्री उत्खननको जिम्मा ओमशंकर प्रसादको ओम सप्लायर्सलाई दिनुभएको थियो । तर, सप्लायर्सले ठेक्का सम्झौता अनुरूपको कार्य नगरी गैरकानुनी तरिकाले उत्खनन गरेको साथै उपमहानगरपालिकाका कर्मचारीले ठेकेदारसँग अवाञ्छित मिलेमतो गरी आर्थिक चलखेलमा राज्यको स्रोत साधनको दोहन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उत्खनन गर्दा दुई किस्ताको हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गरेको कारण भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम जरिवाना हुन एवं कैद सजाय हुन मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ ।

आवमा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अंकमध्ये बाँकी रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ (मु.अ. करबाहेक) हालसम्म दाखिला हुन नसकी उपमहानगरपालिकाको राजस्व रकम चुहावट हुन पुगेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सोही प्रकरणमा ओम सप्लायर्सका सञ्चालक ओमशंकरविरुद्ध राजस्व दाखिला गर्न बाँकी ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र त्यसबापतको मूल्य अभिवृद्धि करमा हुन आउने ३८ लाख ९९ हजार ९९८ रुपैयाँ गरी एक करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिइएको छ ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत सेढार्इंकै मिलेमतोमा उपमहानगरपालिका अन्तर्गत बालगंगा खोला उत्खननमा पनि अनियमितता भएको पाइएको छ । सेढाईंको मिलेमतोमा उपमहानगरपालिले बालगंगा खोलाको गिटी/बालुवा/ढुंगा उत्खननको जिम्मा न्यु पाथिभरा सप्लायर्स, हेटौँडालाई दिइएको थियो । तर, सम्झौता गर्दाको शर्त र बन्देजविपरीत उत्खनन तथा बिक्री गर्न दिएर राजस्व हिनामिना गरेको आरोपमा सेढाईंविरुद्ध अख्तियारले एक करोड २० लाख २८ हजार ९० रुपैयाँ बिगो, सोहीअनुसार जरिवाना र कैद सजाय मागदाबी लिएर विशेष मुद्दा दायर गरेको हो । बिगो कायम गरिएको राजस्व दाखिला नगरी सेढाईं र ठेकेदारको मिलेमतोमा हिनामिना गरिएको अख्तियारले जनाएको छ ।

राजस्व दाखिला नगरी हिनामिनामा संलग्न न्यु पाथिभरा सप्लायर्सका सञ्चालक मीराकुमारी श्रेष्ठविरुद्ध पनि अख्तियारले राजस्व बापतको एक करोड २० लाख २८ हजार ९० र मूल्य अभिवृद्धिकर बापतको ४६ लाख ४४ हजार ५१० गरी कुल एक करोड ६६ लाख ७२ हजार ६०० रुपैयाँ बिगो, सोहीअनुसार जरिवाना र कैद सजायको मागसहित विशेषमा मुद्दा दायर भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?