स्थानीय तहले ल्याए बजेट, पूर्वाधार विकास, कृषि र शिक्षा प्राथमिकतामा

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । स्थानीय तहले आगामी वर्षको बजेट आ-आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा आगामी वर्षको बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसार स्थानीय तहले शुक्रबार आ-आफ्नो सभामा बजेट पेश गरेका हुन् । अधिकांश स्थानीय तहले बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् ।

स्थानीय तहले आन्तरिक राजस्व, संघीय र प्रदेश सञ्चित कोषबाट बाँडफाँट हुने राजस्व, संघीय र प्रदेश सञ्चित कोषबाट हुने वित्तीय हस्तान्तरण र आन्तरिक ऋण परिचालन गर्ने गरी बजेट ल्याउँछन् । तर, स्थानीय सरकारले आन्तरिक ऋण परिचालन गर्दा संघीय सरकारको स्वीकृति लिनुपर्छ । यदि स्थानीय तहले आन्तरिक ऋणबापात उठाएको रकम तिर्न सकेनन् भने संघीय सरकारले अनुदानमार्फत कटौती गर्न सक्ने व्यवस्था छ । संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते संघ र प्रदेशको व्यवस्थापिकामा बजेट पेश गरिसकेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण हुने भएकाले स्थानीय तहले प्रदेश बजेटपछि बजेट ल्याउने व्यवस्था भएको हो ।

कतिपय स्थानीय तहले भने यसअघि नै आ-आफ्नो सभामा बजेट पेश गरिसकेका थिए । स्थानीय तहले संघ तथा प्रदेश सरकारले दिएको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानी आ-आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेका छन् । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि चार अर्ब ६८ करोड बजेट छुट्याएको बताउनुभयो । त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत हो ।

यो चालु आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन भएको थियो । महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै, महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरू कम्तीमा दुई वर्षसम्म खन्न स्वीकृति नदिने महानगरले लिएको छ । यस्तै, ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेकाबाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब ७४ करोड ४२ लाख
भरतपुर महानगरपालिकाको ११औँ नगरसभामा पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभासमक्ष सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट तीन करोड रहने प्रक्षेपण गरिएको छ ।

विराटनगर महानगरको बजेट तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार
विराटनगर महानगरपालिकाले तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ । महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट चार अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो । तर, उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ । चालु वर्षको संशोधित अनुमान दुई अर्ब ३२ करोड ८१ लाख १६ हजार छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट दुई करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्तशुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारीसाधन कर प्रदेशबाट प्राप्त हुने तीन करोड ९९ लाख ४७ हजार रहेको छ ।

वीरगञ्ज महानगरपालिकाको तीन अर्ब ३३ करोडको बजेट विनियोजन
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तीन अर्ब ३३ करोडको बजेट विनियोजन गरेको छ । नगरसभाको ११औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले चालुतर्फ दुई अर्ब ६ करोड र पुँजीगततर्फ एक अर्ब २६ करोड बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आर्थिक वर्षको लागि महानगरले आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने एक अर्ब ७० करोड र मधेस सरकारबाट प्राप्त हुने सात करोड ९८ लाख मुख्य स्रोतको रूपमा रहेका छन् ।

महानगरले शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख, स्वास्थ्यतर्फ १ करोड २० लाख, कृषितर्फ तीन करोड २६ लाख, पूर्वाधारतर्फ एक अर्ब १९ करोड र सामाजिक विकासतर्फ ९९ करोड बजेट विनियोजन गरिएको थियो ।

सूचना प्रविधि र सञ्चारतर्फ एक करोड, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड, सरसफाइ व्यवस्थापनमा ८ करोड, वन तथा वातावरण क्षेत्रमा पाँच करोड र आर्थिक विकासका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरले चालु आर्थिक वर्षमा तीन अर्ब ५५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

पोखरा महानगरले ल्यायो आठ अर्ब ७७ करोडको बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेटमा संघीय सरकारको अनुदानबाट दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट तीन अर्ब एक करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो ।

महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवद्र्धनलगायतमा जोड दिएर बजेट ल्याएको छ । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए ।

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १८ करोड ४२ लाख
भक्तपुर नगरपालिकाकाले आव २०७९/८० का लागि दुुई अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको हो । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट प्रस्तुत गरेको हो ।

विनियोजित बजेटको चालु खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा १०० शैय्याको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल सञ्चालन गर्न आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?