डिबी शर्मा/हिटा
काठमाडौं । काठमाडौंका केही व्यक्तिहरूमा हैजा भएको पुष्टि भएको छ । उपत्यकाका विभिन्न पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । काठमाडौंको बागबजार, डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका बिरामी भेटिएका हुन् ।
महाशाखाले हैजा पुष्टि भएको क्षेत्रको नमुना संकलनको कार्य भइरहेको जनाएको छ । महाशाखाका अनुसार हैजाका बिरामीमध्ये दुईजना सिकिस्तै भएकाले आइसियुमै राखेर उपचार गरिएको थियो । हाल उनीहरूलाई सामान्य वार्डमा सारिएको छ । हैजाका बिरामी देखिएसँगै हाल केही दिनयता झाडापखालाका बिरामी निरन्तर देखिने क्रम जारी छ । पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडा पखालाका बिरामी बढ्न थालेका हुन् ।
अस्पतालमा बिहीबार र शुक्रबार मात्रै ३८ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालले जनाएको छ । अहिले पाँचजना झाडा पखालाका बिरामी उपचाररत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै होइन उपत्यकाका अन्य अस्पतालमा समेत पखालाका बिरामी बढ्दै गएको चिकित्सकहरू बताउँछन् । उपत्यकामा भित्रभित्रै हैजा फैलिरहेको आशंका स्वास्थ्य विज्ञहरूको छ ।
हैजा के हो, कसरी लाग्छ ?
भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्माका अनुसार ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडापखाला लाग्ने गर्दछ त्यसलाई कलेरा अर्थात् हैजा भनिन्छ । हैजा भएका मानिसको दिसामा उक्त किटाणहरू निस्कन्छन् । ती किटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटमा जाने गर्छ । मानिसको सानो आन्द्रामा सो ब्याक्टेरियाले संक्रमण गरी झाडापखाला लाग्ने गरेको उहाँले बताउनुभयो । हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि रोगको लक्षण दुई घण्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ ।
हैजाको संक्रमण भएपछि अत्यधिक बान्ता र पखाला लाग्छ । निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण भएको उहाँ बताउनुहुन्छ । त्यस्तै, बान्ता भइरहनु, मांशपेशी दुख्नु तथा बाउँडिनु, तिर्खा लागिरहनु, पेटमा असजिलो हुने र खान मन नलाग्नु, पिसाबमा कमी आउने अधिक थकान र बेचैनी हुनु पनि हैजाका लक्षण हुन् । झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् ।
जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् । लक्षण सामान्यतः पाँचदेखि सात दिनसम्म रहने चिकित्सक बताउँछन् । कतिपय मानिसलाई बिना लक्षण निको हुनेगर्छ । जोखिम समूह हैजा जुनसुकै उमेर समूहका मानिसमा पनि हुने गर्दछ । तर, पाँच वर्ष उमेरका बालबालिकामा जोखिम बढी हुन्छ । दूषित पानी, खाना खाने मानिसहरू पनि बढी जोखिममा हुने गर्दछन् । वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कडा लक्षण देखिने उहाँ बताउनुहुन्छ ।
१० संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ । समयमा उपचार गरिएन भने मृत्युदर ५० प्रतिशतसम्म पुग्न सक्ने चिकित्सकको भनाइ छ । हैजाको छिटो पहिचान र सही उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो ।
डब्लुएचओका अनुसार हैजाले संक्रमित करिब ८० प्रतिशत व्यक्तिमा कुनै लक्षण विकसित हुँदैन । सामान्य पखाला मात्र लाग्ने गर्छ । जबकि यस्ता संक्रमितको दिसामा संक्रमण भएको १० दिनसम्म ब्याक्टेरिया रहन सक्छ । यसैबाट अरूलाई संक्रमण सर्छ । गतवर्ष कपिलवस्तुको कृष्णनगर तीन नगरपालिकामा हैजा फैलिएको थियो । त्यहाँ ८५५ जना हैजा संक्रमित थिए । जसमध्ये चारजना बिरामीको मृत्यु भएको थियो ।
कसरी बच्ने ?
रोग लाग्नुभन्दा पनि रोग लाग्न नदिनु नै उत्तम मानिन्छ । रोग लाग्न नदिन लाग्ने कारणबारे सचेत हुनुपर्छ । कारण थाहा पाएपछि बच्ने उपाय अपनाउन सकिन्छ । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेका अनुसार हैजा मूलतः फोहोरबाट विभिन्न माध्यम हुँदै मानिसमा आइपुग्छ ।
यी रोग फिको ओरल अर्थात् दिसाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुनुपर्छ । साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्ने बेला हात सफा हुनुपर्ने आदि बानीको विकास गर्नुपर्दछ । यी रोग फिको ओरल अर्थात् दिसाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुने, स्यनिटाइज गर्ने, साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्ने बेला हात सफा हुनुपर्ने आदि बानीको विकास गर्नुपर्दछ ।
यसबाट बच्ने पहिलो उपाय हो जीवाणुलाई सकेसम्म शरीरमा प्रवेशै गर्न नदिने । ‘त्यसका लागि सबै प्रकारको पानी फिल्टर गरेर तथा १० मिनेट भकभक उमालेर मात्र पिउनुपर्छ । सकभर बाहिर खाना नखाएको राम्रो । तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र खानुपर्छ,’ उहाँ भन्नुहुन्छ,’ ‘मासु सफा ठाउँमा मात्र किनेर तथा राम्रोसँग पकाएर मात्र खानुपर्छ ।’
दिनमा तीन पटकभन्दा बढीपटक पखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । हैजादेखि अन्य झाडाबान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने हो ।
तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खानुपर्ने उहाँको भनाइ छ । समयमै उपचार गरेमा हैजा तथा अन्य झाडाबान्ताबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ । त्यसैले हैजा फैलिनु अगाडि नै यसविरुद्धको खोप लगाउनु सबैभन्दा राम्रो उपाय हो । स्वास्थ्य सेवा प्रभावकारी नभएको ठाउँमा खोप पु¥याउनु अत्यावश्यक हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच