पेचिलो बन्दै एकीकृत समाजवादीमा मन्त्री हेरफेरको निर्णय, आफ्नैबाट चेपुवामा अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर १० महिनाअघि गत भदौमा गठन भएको एकीकृत समाजवादी पार्टी (नेकपा एस) तीव्र विवादमा फसेको छ । सत्ता साझेदार दलको एकघटक एकीकृत समाजवादीभित्र अहिले सरकारमा सहभागिताको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो । गत जेठ २२ गते पार्टी सचिवालयले हाल सरकारमा रहेका चारजना मन्त्रीहरू स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उक्त बैठकले उहाँहरूको सट्टा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भने हुन सकेको छैन । हाल सरकारमा रहेका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । मन्त्री फिर्ता गर्ने र नयाँलाई पठाउने विषयको विवादले नेकपा एस गठन भएको छोटो समयमै विग्रह उन्मुख भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुभएको थियो । २० प्रतिशतका आधारमा पार्टी विभाजन गर्न पाइने कानुनी व्यवस्था गरिदिएपछि नेपाललाई पार्टी विभाजनका लागि सजिलो भएको थियो । नेकपा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले २०७८ भदौ ५ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो । यसअघि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पारित गर्ने बेलामा पनि एकीकृत समाजवादीभित्र तीव्र विवाद देखिएको थियो । नेता झलनाथ खनाल लगायतका नेताहरूले एमसिसीको खुलेरै विरोध गरे पनि अरू नेता भने व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णयमा पुगेपछि विवाद साम्य भएको थियो ।

पार्टीको निर्णयविरुद्ध १० जना सांसदको विद्रोह
नेकपा एकीकृत समाजवादीका चारजना मन्त्रीसहित १० जना सांसद मन्त्री फेरबदल निर्णयविरुद्ध उभिएका छन् । मन्त्री परिवर्तनको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय हुनुभएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ पनि हुनुहुन्छ । यस्तै, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु पनि पार्टीको उक्त निर्णयविरुद्ध उभिनुभएको छ । हाल नेकपा एकीकृत समाजवादीमा ३१ जना सांसद छन् ।

२३ जना प्रतिनिधिसभामा सांसद छन् भने आठजना राष्ट्रियसभामा सांसद रहेका छन् । उनीहरूले नयाँ मन्त्रीहरूको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न माग गरेका छन् । उनीहरूले बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा पुराना र नयाँको सन्तुलन नमिलाएको, बजेट पारित नहुँदै मन्त्री फेर्न प्रधानमन्त्रीलाई दबाब दिएको लगायतका विषयमा आपत्ति जनाएका छन् ।

यी हुन् ध्यानाकर्षण पत्रका आठ बुँदा

१. आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

२. पूर्व-जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक/पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।

३. स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्षविपरीत पटक-पटक आज/भोलि नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

४. मन्त्रीहरूले संसद्मा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौँ भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौँ ।

५. प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौँ ।

६. पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौँ ।

७. मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौँ ।

८. यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौँ ।

पार्टीको निर्णय कार्यान्वयन गराउँछु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको निर्णय कार्यान्वयनका लागि ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउँदै भन्नुभयो, ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप दुई महिनामा पनि काम गर्ने अवसर दियो । पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो । त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’

पार्टीले गल्ती महसुस नगरे जे पनि हुन सक्छ : मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको विषयमा पार्टीले गलत शैली अपनाएको टिप्पणी गर्दै गल्ती महसुस नगरे आफूहरू जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिनुभएको छ । अहिले नै पार्टीभित्र आफूहरूले विग्रह र विभाजनको कल्पना नगरेको तर डिलमा पुर्‍याएर लात्तीले हान्न खोजे जे पनि हुने चेतावनी दिँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘पार्टीमा विभाजन, विग्रह आउने कुरा हामीले सोचेका छैनौँ तर डिलमा पु¥याएर लात्ताले हिर्कायो भने त जे पनि गर्न सक्छौँ नि । हामीले पार्टी छोड्ने कल्पना अहिलेसम्म गरेका छैनौँ । तर, परिस्थिति त्यस्तो बनाइदियो भने जे पनि हुन सक्छ । हामी पार्टीले गरेको निर्णय मान्छौँ त्यसमा दुईमत छैन । हामी एकमत छौँ, तर बजेट पास भएपछि हामीले छोड्छौँ भनेकै हौँ । त्यसो भन्दा सुख पाइएन अपराधी जस्तो व्यवहार भयो । असोज २२ गते हामी पाँच जनाले शपथ खाएको हो । निकाल्दा पाँचै जनालाई निकाल्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन ।’

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूहरू मन्त्री छोड्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकपछि बोल्दै मन्त्री खतिवडाले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको जानकारी दिँदै भन्नुभयो, ‘हामी मन्त्री छोड्न तयार छौँ भनेर लेखेर दिएका छौँ, राष्ट्रियसभाबाट बजेट पारित भएपछि हामी आफैँ छोड्न तयार छौँ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्तावित मन्त्री र अहिले सरकारमा सहभागी मन्त्री गरि दुवै पक्षले दबाब दिइरहेका छन् । देउवाले पार्टीको निर्णय कार्यान्वयन नगरे सत्ता गठबन्धनबाटै बाहिरिनुपर्ने अहिले प्रस्तावित मन्त्रीको धारणा छ ।

प्रधानमन्त्री देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्नुभयो : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका अन्य दलको प्रभावमा पर्दा आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बसेको पोलिटब्युरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक-पटक कुराकानी गरे पनि कार्यान्वयन नभएको जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्री देउवा गठबन्धनका अरू दलको प्रभावमा पर्दा मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन सकेन । मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका बढी जिम्मेवार छ । अहिले एकीकृत समाजवादीका मन्त्रीहरू फेर्दा आफ्नो पार्टीमा पनि दबाब सिर्जना हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री फेर्न दिएनन् । यद्यपि, मन्त्री फेर्ने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन हुन्छ ।’

मन्त्री फर्ने निर्णय केही हतारमा भएकै हो : उपाध्यक्ष पाण्डे

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले मन्त्री फिर्ता बोलाउने निर्णय केही हतारमा भएको स्वीकार गर्नुभएको छ । पार्टीको पोलिटब्युरो बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘पहिले हामीले गरेको निर्णय पनि अपरिपक्व जस्तै भयो, किनभने बजेटको छलफल चलिरहेको थियो । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ । सांसदहरूको उत्तर दिनुपर्ने हुन्छ । अर्ली निर्णय ग¥यौँ । अब उहाँले जवाफ दिइसक्नुभो, त्यसोभएको हुनाले अब फर्किनुपर्ने हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?