गीति लेखनमा रमेशको योगदान

Read Time = 7 mins

काठमाडौं । गीतकार रमेश दाहाल नेपाली गीत लेखनमा झण्डै तीन दशक लामो यात्रा गरिसक्नुभएका गीतकार हुनुहुन्छ । दोलखाको मैनापोखरीमा पशुपतिप्रसाद र आमा बालकुमारी दाहालका जेठा छोराका रूपमा रमेशको जन्म २०३५ सालमा भएको थियो । गीत लेखन लेखाइको मुख्य विधा बनाउनुभएका रमेश श्रोता तथा सर्जकका प्रिय गीतकार हुनुहुन्छ । नेपाली गीत लेखनको मूलधारका गीतकार रमेश एक सफल, स्थापित र चर्चित सर्जकका रूपमा स्थापित रहनुभएको छ ।

रमेश बालापनदेखि नै पढाइमा तीक्ष्ण विद्यार्थी हुनुहुन्थ्यो । उहाँमा गीतसंगीतप्रतिको चाहना पनि बालापनदेखि नै थियो । तर, आमाको स्वर्गारोहणले रमेशलाई पढ्ने-लेख्ने वातावरण सहज बनेन । आजभन्दा झण्डै तीन दशकअगाडिको हाम्रो समाजमा शिक्षाको सहज पहुँच पनि थिएन । बालबच्चालाई पढाउनैपर्छ भन्ने सोच पनि अभिभावकमा थिएन । यसैले रमेशले अध्ययनकै लागि घर छोडेर चरिकोटको कालिञ्चोक माध्यमिक विद्यालयमा पढाइ सुरु गर्नुभयो । सानैदेखि गीत लेखनमा गहिरो रुचि राख्नुहुने रमेशले २०५२ सालमा प्रथम श्रेणीमा एसएलसी पास पनि गर्नुभयो । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा, पाटन क्याम्पस र मीनभवन क्याम्पसबाट स्नातकोत्तर अध्ययन गर्नुभएका रमेशले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट वातावरण विज्ञान तथा नीतिमा समेत उच्च शिक्षा हासिल गर्नुभएको छ ।

शैक्षिक उपलब्धिका हिसाबले समेत अब्बल रमेश गीत लेखनमा पनि सक्रिय भई आफ्नो जीविका चलाइरहनुभएका गीतकार हुनुहुन्छ । कुनै समय विकासे संघसंस्थाहरूमा आबद्ध रमेश पछिल्लो समयमा व्यावसायिक गीतकारका रूपमा सक्रिय रहनुभएको छ । यसैले रमेशले लेखेका गीतमा गाउँले जनजीवन, रहनसहन र विकासका प्रसंग भेटिने गर्छन् । यही कारणले रमेश नेपाली गीति लेखनमा फरक देखिनुभएको छ ।

गीति लेखन जीवनको कलात्मक प्रस्तुति मान्ने रमेश किरण खरेल, राजेन्द्र थापा, कृष्णप्रसाद घिमिरे, सुवासचन्द्र ढुंगेलजस्ता नेपाली गीत लेखनका मूलधारका अग्रज गीतकारबाट प्रेरित हुनुहुन्छ । गीत लेखनमा भएको गुणस्तरका कारणले नयाँ तथा पुराना पुस्ताका श्रोताका संगीतकर्मीले रमेशसँग सहकार्य गरेका छन् ।

रमेश मायाप्रेमका विषयमा लेखिने रमाइला गीतका साथै विकासे गीत पनि लेख्नुहुन्छ । उहाँका गीतमा लैंगिक समानता भेटिन्छ । उहाँका गीतमा विकासको पर्खाइमा रहेका जनताको आवाज पाइन्छ । यसैले रमेशका गीतले जनचेतना फैलाएका छन् । गीतले जनतालाई विकास र समानताका लागि आवाज उठाउन प्रेरित गरेको छ । उदाहरणका लागि रमेशको गीत ‘कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो’ लाई लिन सकिन्छ । यस गीतलाई स्विस सरकारको सहयोगमा सञ्चालित नेपाल स्विस सामुदायिक वन परियोजनाले आफ्नो खर्चमा रेकर्ड गरेको थियो ।

त्यस्तै, पछिल्लो समयमा रमेशले लेखेको ‘छाउपडी’ गीत बजारमा आएको छ । गायिका सोफिया थापाको संगीत र स्वरमा आएको यस गीतले नेपालको सुदूरपश्चिममा व्याप्त ‘छाउपडी’ प्रथाका विरुद्धमा जनचेतना फैलाएको छ । सुत्केरी हुँदा वा रजस्वला हुँदा महिलाहरू अछुत हुन्छन् भन्ने कुसंस्कार नेपालमा अझै व्याप्त छ । यही गलत संस्कारका विरुद्धमा लेखिएको ‘छाउपडी’ गीतले आममहिलाहरूलाई यो कुसंस्कार छोड्न आग्रह गरेको छ । साथै, महिला र पुरुषको सहकार्यले मात्रै मानव जीवन सार्थक हुने सन्देश दिएको छ । रमेशले लेखेको ‘निःशब्द’, ‘कौवा करायो’, ‘आफैँ हिँड्ने भिरको बाटो’ जस्ता गीतहरू पछिल्लो समयमा आएका लोकप्रिय गीत हुन् । रमेशका अनुसार छिट्टै गायक सुमित खड्का र अञ्जु गौतमको स्वरमा तीजगीत र राष्ट्रभावको गीत आउन लागेका छन् ।

गीतसंगीतको मुख्य उद्देश्य भनेको मनोरञ्जन नै हो । यसैले रमेशका गीतले मनोरञ्जन दिए तापनि अधिकांश गीतले युवालाई सकारात्मक बाटोमा हिँड्न प्रेरित गर्नु रमेशको लेखाइको विशेषता हो ।

रमेशको गीति लेखनको फरक पाटो भनेको उहाँको गीतमा युवाका समस्या, बेरोजगारी, गरिबी, शान्ति र विकासका विषयवस्तु हुन् । रमेशले भ्रष्टाचारविरुद्धमा गीत लेख्नुभएको छ । रमेशले घरेलु हिंसाका विरुद्धमा समेत गीत लेख्नुभएको छ । यसैले रमेशका गीतले नेपाली समाजलाई सकारात्मक बाटोमा लान योगदान दिएका छन् ।

२०५७ सालमा रमेशको पहिलो गीत ‘फेरि तिम्रो सम्झनाले’ रेकर्ड भयो । १४-१५ वर्षकै उमेरमा गीत लेख्न थाल्नुभएका रमेशको १७ वर्षकै उमेरमा लेखिएको गीत उहाँको पहिलो गीतसंग्रहमा संलग्न छ । एकपछि अर्को उत्कृष्ट गीत लेखेकै कारणले रमेशले सरकारी र निजीस्तरबाट प्रदान गरिने दर्जनौँ  पुरस्कार तथा सम्मानहरू प्राप्त गरिरहनुभएको छ र यो क्षेत्रमा आउने नयाँका लागि उहाँ प्रेरणाको स्रोतसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?