शनि साढेसाती र अढैया भनेको के हो ?

Read Time = 14 mins

✍️ डा. नारायणप्रसाद निरौला
आजभोलि शनि र साढेसाती शनिको विशेष चर्चा हुन्छ । शनि भन्ने वित्तिकै के के न हो भन्ने जस्तो पृथक अनभूति भइरहेको पाइन्छ । मनोवैज्ञानिक रूपमा पनि शनि नराम्रो ग्रह हो र यसले निकै ठूलो असर गर्छ भन्ने आमधारणा रहेको पाइन्छ । जुन नितान्त गलत हो । कतिपय सन्दर्भमा जीवनभर साढेसातीले नछोड्ने भयो भन्ने कुराले पनि मनमा चिन्ता बढाइरहेको हुन्छ । तर, शनि साढेसाती हुँदैमा आत्तिहाल्नु भने पर्दैन । यो नियमित चक्रमा चलिरहने प्रक्रिया हो । शनि सामान्यतः पापग्रह भए पनि सधैँ पापफलमात्र दिन्छ भन्ने हुँदैन ।

कतिपय अवस्थामा शनि शुभफलदायी पनि बनेका हुनसक्छन् । सधैँ शनि मात्र चलिरहँदैन र चलेकै अवस्थामा पनि नराम्रो मात्र हँुदैन । नराम्रो अवस्थामा भएको शनिले मात्र दुःख दिन सक्छ । कतिपय सन्दर्भमा शनिले शुभ फल पनि दिइरहेको हुन्छ । पद प्रतिष्ठ प्रदान गर्ने उन्नति प्रगति गराउने शुभ फल पनि शनिले प्रदान गर्दछ । राहु-केतुले पनि बाहुबल वृद्धि गर्ने, कुलको उन्नति गर्ने फल बताइएको छ । शनिले पनि सुख प्रदान गर्न सक्छन् ।

ग्रह निरन्तर आकाशमा परिभ्रमण गरिरहन्छन् । किनकि ग्रहमा पनि गति हुन्छ । आकाशमा जसरी ग्रह निरन्तर हिँडिरहन्छन् त्यसैगरी हाम्रो जीवनमा पनि ग्रहको चक्र घुमिरहन्छ । सोही क्रममा जब शनि आफ्नो राशिको आसपास आइपुग्छन् उक्त समयमा शनि साढेसाती हुने गर्दछ । आफ्नो राशि, आफ्नो राशिभन्दा दोस्रो र बाह्रौं राशिमा शनि भए साढेसाती हुन्छ ।

‘राशौ द्वादशजन्मशीर्षहृदये पादे द्वितीये शनि ।
नानाक्लेशकरोऽतिदुर्जनजनात्पुत्रान्पशून्पीडयेत् ।।’ (ज्योतिःसार, मिश्रप्रकरण, श्लो.२५) जन्मराशिदेखि बाह्रौं शनैश्चर भए शिरमा बास गर्छ । जन्म राशिमा भए हृदयमा बास गर्छ ।

द्वितीयमा हुँदा चरणमा वास गर्छ । जसको फल नानाप्रकारको क्लेश दिने हुन्छ । दुर्जनजनबाट, सन्ततिबाट, पशु चौपायबाट पीडा दिने हुन्छ । जस्तो कि हाल गोचरमा मकर राशिमा शनि छन् । यसैले कुम्भ राशिलाई आद्य साढेसाति, मकर राशिलाई मध्य साँढेसाती र धनुराशिलाई अन्त्य साढेसाती हुन्छ । शनि एक राशिमा अढाइ वर्ष बस्छन् । यसैले शनि भएको राशिमा अढाइ वर्ष अघिल्लो र पछिल्लो राशिमा अढाइ-अढाइ वर्षलाई जोड्दा साढेसात वर्ष हुन पुग्छ यसैलाई साढेसाती भनिन्छ ।

यसैगरी शनि आफ्नो राशिबाट चार वा आठ राशिमा भएको अवस्थामा अढैया शनि लाग्ने गर्दछ । जस्तो कि शनि मकर राशिमा छन् भने तुला राशिवालाका निम्ति चौथो मकर राशि परेकाले अढैया भयो । यसैगरी मिथुन राशि भएका व्यक्तिलाई पनि मकर राशिमा शनि रहुञ्जेल शनि अढैया रहने गर्दछ । यो गोचरीय विधि हो । यसैगरी विंशोत्तरी, त्रिभागी दशामा पनि शनि ग्रह चलिरहेका हुन्छन् । गोचर र महादशा दुवैमा शनिको विशेष प्रभाव हुने भएकाले यसको चर्चा विशेष हुनेगरेको हो । जुन नियमित प्रक्रिया हो । सबै मानिसमा कुनै न कुनै कालखण्डमा शनि ग्रह र साढेसाती दशाको भोग हुने गर्दछ । शनिको स्वरूप निम्न बताइएको छ :
‘कृशदीर्घः पिंगाक्षः कृष्णः पिशुनोऽलसोऽनीलप्रकृतिः ।
स्थूलनखदन्तरोमा शनैश्चरो स्नायुसारश्च ।।’
(लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.७) दुब्लो लामो शरीर भएको, कैला आँखावाला, कालो, परनिन्दक, आलसी, वात प्रकृतिका, लामा लामा नङ र दारावाला, अधिक रौँ भएको स्नायुसम्बन्धीको ग्रह शनिश्चर हो । शनिसँग सम्बन्धित धातु फलाम हो । रत्नमा नीलम पर्दछ । माझी औँलाले शनिको स्थानको प्रतिनिधित्व गर्दछ । शनिको बार शनिबार हो । प्रिय रङ कालो हो भने वर्णमा कृष्ण-चाण्डाल प्रकृतिको बताइएको छ । नपुंसककारक ग्रह शनिका मास, तिल, फलाम, कालोबस्त्र, भैँसी, निलम आदि प्रिय वस्तु हुन् ।

पिपलको पूजा गर्नाले शनीजन्य दोष निवारण हुन्छन् भनी बताइएको छ । नवग्रहमा शनिको पद भृत्य अर्थात् नोकरको हो । तुला राशिको २० अंशसम्म उच्च, मेष राशिको २० अंशसम्म नीच र कुम्भ राशिमा मूलत्रिकोणी हुने नैऋत्य दिशको स्वामी शनि ग्रह वायु प्रकृतिको ग्रह हो । ग्रह जुन प्रकृतिका हुन्छन् सामान्यतः सोही प्रकृतिको फल व्यक्तिलाई प्रदान गर्दछन् । यसैले शनि अनुकूल रहेको समयमा शनिले प्रतिनिधित्व गर्ने क्षेत्र सबल रहन्छन् भने शनि प्रतिकूल रहँदा दुर्बल हुन्छन् । शनि दुर्बल भए व्यक्तिलाई शुभ फल मिल्छ भनी लघुजातकम्मा वराहमिहिराचार्यले बताएका छन् ।

ग्रह चक्र पनि चलायमान छ । निरन्तर चलिरहने ग्रहले कहिले शुभ त कहिले अशुभ फल दिइरहेका हुन्छन् । कतिपय सन्दर्भमा राम्रो भनिएका ग्रह पनि अशुभ फल प्रदान गरिरेहका हुन्छन् । बृहस्पति, शुक्र जस्ता शुभ ग्रह पनि प्रतिकूल अवस्थामा हँुदा अशुभ फल प्रदान गर्ने हुन्छन् । अनि कतिपय अवस्थामा अशुभ भनिएका ग्रह पनि अनुकूल भइरहेका हुन्छन् । यसैगरी सबै क्षेत्रमा एउटै ग्रहले असर नपार्न पनि सक्छ । कुनै एक विशेष क्षेत्रमा मात्र विशेष प्रभाव पार्ने भएकाले अशुभ ग्रह चल्दैमा सबै अशुभ नै हुन्छ भन्ने हुँदैन । शनि पनि प्रतिकूल रहेको खण्डमा मात्र अशुभ फल प्रदान गर्ने हो । गोचरमा शनि साढेसाती भए पनि अढैया भए पनि कुण्डलीमा अनुकूल छ भने शनिले शुभ फल प्रदान गर्दछन् ।

आकाशीय ग्रहपिण्डहरूको अध्ययन गरी सोबाट पर्ने प्रभावका बारेमा फलादेश गर्ने शास्त्र विशेषलाई ज्योतिष शास्त्र भनिन्छ । सर्वप्रथम ज्योतिष शास्त्रअन्तर्गत आकाशका ग्रहहरूको अवस्थिति पत्ता लगाइन्छ । कुन राशि कुन अंश र कलामा ग्रह छ ? उच्च नीच, उदय अस्त आदि के छ भन्ने कुरा पत्ता लगाइसकेपछि सोबाट पर्ने प्रभावका बारेमा फलादेश गर्ने गरिन्छ । ज्योतिषशास्त्रमा प्रत्येक पलपलको महत्व रहन्छ । सोहीअनुसार ग्रहहरूको प्रभाव भिन्न-भिन्न हुँदै जान्छ । शनि दशा चलेको र कुण्डलीमा पनि शनि प्रतिकूल भएर बसेको अवस्थामा भने शनिले असर गर्दछ । यस्तो भएको खण्डमा शान्तिका विभिन्न उपायहरू अपनाउन सकिन्छ ।

सर्वप्रथम शनिलाई पनि अरू ग्रह जस्तै सामान्य एक ग्रहका रूपमा लिनु उपयुक्त हुन्छ । सकारात्मक सोचको विकास गर्न सकियो भने पनि शनीजन्य दुष्प्रभावबाट बँच्न सकिन्छ । यसैगरी शनि शान्तिका पनि थुप्रै विधिहरू शास्त्रमा बताइएको छ । शनिबारका दिन पिपलमा विशेष मन्त्रसहित जल चढाई पिपलको परिक्रमा गर्नाले पनि शनिजन्य दोष निवारण गर्न सकिन्छ । विज्ञ ज्योतिषीको परामर्शमा नीलम वा फलामको औँठी विधिपूर्वक धारण गरेर पनि तद्जन्य दोष निवारण गर्न सकिन्छ । यसैगरी अर्को शास्त्रीय विधि भनेको जप हो । शनिको तान्त्रिक वा वैदिक मन्त्रले तेइस हजार जाप गर्नाले पनि दोष निवारण हुन्छ ।

यसैगरी सुन, फलाम, तेल, मास, गहत आदि काला वस्तु दान गर्नाले पनि शनिजन्य दोष निवारण गर्न सकिन्छ । यसैगरी ग्रहका मालिक शिवजी हुनुहुन्छ । शिवजीको आराधना गरी रुद्राभिषेक गर्नाले पनि शनीजन्य दोष निवारण हुन्छ भन्ने कुरा शास्त्रमा वर्णन गरिएको छ । यसैगरी जामुनको डाँठले नित्य दतिउन गर्नाले शनि दोष निवारण हुन्छ । प्रत्येक शनिबारका दिन शरीरमा तेल घसेर पनि शनीजन्य प्रभाव शान्त गर्न सकिन्छ । विधि अनेकौँ छन् । जुन विधि उपयुक्त हुन्छ सोही विधि अवलम्बन गर्न सकिन्छ । ग्रहशान्तिका उपाय जप, पाठ, हवन र दान हाल बढी प्रचलनमा छन् ।

यसैगरी शनिमृत्युञ्जयको पाठले शनि शन्ति गर्न सकिन्छ । शनि शान्ति गर्नु नै साढेसाती, अढैया शान्ति पनि हो । यसैगरी शनिबारका दिन व्रत धारण गरेर पनि तद्जन्य प्रभाव शान्त गर्न सकिन्छ । यसका साथै कुंकुम, इलाइची, अमला, केशर, जाइफल आदिवस्तुको मिश्रण गरी लेप लगाएर स्नान गर्ने विधि पनि शनि शान्तिका निम्ति बताइएको छ । जुन कुनै उपायबाट पनि शनीजन्य नकारात्मक प्रभावलाई शान्त गर्न सकिने भएकाले यसमा आत्तिनु पर्दैन ।
यसरी ग्रहजन्य दोष निवारण आफैँले गर्नु उपयुक्त हुन्छ । आफू र आफ्नो अनुपस्थितिमा गरिएको शान्तिको उपाय निष्फल पनि हुनसक्छ । शनिजन्य दूषित किरण हाम्रो शरीरमा विद्यमान रहेर प्रतिरोधी क्षमता घट्न जान्छ जसको प्रभावस्वरूप शारीरिक एवं मानसिक असर रहने गर्दछ । जसलाई नै सबैले बुझ्ने भाषामा शनि अढैया लागेको भनिन्छ । जसको निवारणका निम्ति शान्तिका विभन्नि उपाय अवलम्बन गरिन्छ । जसरी सूर्यबाट ताप एवं ऊर्जा प्राप्त हुन्छ त्यसैगरी अन्य ग्रहहरूबाट पनि विभिन्न प्रकारका किरण आइरहेका हुन्छन् । कतिपय हाम्रा लागि फाइदाजनक हुन्छन् त कतिपय हानिकारक । सोही हानिकारक किरणकबाट बच्नु नै शान्तिको उपाय अवलम्बन गर्नु हो ।

ग्रहहरूको पनि चक्र छ । निरन्तर चक्रमा सबै ग्रह घुमिरहन्छन् । सोही घुम्ने क्रममा शनि दशाको पालो पर्दा शनि साढेसाती, अढैया लाग्ने गर्दछ । दशा चल्नु दुःख पाउनुमात्र होइन । ग्रहले शुभ फल पनि प्रदान गरिरहेका हुन्छन् । ग्रहको अवस्थितिको आधारमा यस्तो हुने गर्दछ । सामान्यतः शनिलाई पापग्रहको कोटिमा राखिएकाले पनि नकारात्मक प्रभाव पर्न गएको हो । सबैको जीवनमा सूर्यादि सबै ग्रहहरू निरन्तर चलिरहका हुन्छन् ।

ग्रह प्रतिकूल अवस्थामा हुँदा शन्तिको उपाय अवलम्बन गर्नुपर्दछ । व्यक्ति विशेषलाई मात्र शनि साढेसाती लाग्ने होइन । यसैले सधैँ सबैमा चल्ने शनि पनि अनुकूल भएको खण्डमा शुभ फल दिने हुन्छ । अतः सबैमा चल्ने शनि ग्रहबाट आत्तिनु भनेको स्वयं दुःखी हुनु हो । कर्मको मार्गमा निरन्तर लागी ग्रहजन्य दोषलाई सामान्य सम्झिएर निवारणको मार्गमा लाग्नु उचित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?