मेरो अतीत मेरो अनुभव : पर्सापछि भक्तपुर सरुवा

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ रमेशप्रसाद गौतम

यसरी झन्नै एक घण्टा परको सामान्य सस्तो खाले रेष्टुरा खोज्दै हामी पुगेका थियौँ जसका निम्ति झण्डै रेष्टुराको एक हप्ताको आम्दानी बराबरको नगद र जिन्सी थियो होला त्यसमा कत्ति पनि लालची नभई बसेको होटल पत्ता लगाई आएर काउन्टरमा बुझाउने रेष्टुराधनी धन्यको रहेछ । यसरी जापानले आफ्नो इमान्दारी देखाएर हामीलाई आभारी तुल्याएको घटना स्मरणीय छ ।

२०४३ माघ महिनातिरको कुरो हुनुपर्दछ । समय एक दिन ठम्याउन नसके पनि बिहानको ९ बजेको समय जस्तो लाग्छ । प्रतिबन्धित नेपाली कांगेसका नेता मार्शल जुलुम शाक्य वीरगञ्जमा पार्टीको कामको सिलसिलामा आएका रहेछन् । संयोगवश आदर्श नगरमा भेट भयो । त्यसपछि भलाकुसारी गर्दै उनको गन्तव्यसम्म मेरै गाडीमा पुर्‍याइदिएँ । मार्शलजी मेरा पुराना साथी थिए । बिए हामीले सँगै पढेका थियौँ । काठमाडौंमा हाम्रो भेटघाट भई नै रहन्थ्यो ।

नयाँ शिक्षा लागू हुनुपूर्वसम्म नेपाली कांगेस समाजवादी संस्थामा मार्शलजुलुम शाक्य, मछिन्द्र पाठक, दामोदर गौतम र म पनि आबद्ध थियौँ । यसमा पटकपटकको बैठक र भेटघाट चलिनै रहन्थ्यो । पछि मेरो व्यावहारिक र पढाउने कार्यमा व्यस्त रहनु पर्दा म त्यति सक्रिय हुन सकिन । तथापि आर्थिक र अन्य सहयोग भने गरिरहेको थिएँ ।

मार्शल जुलुमलाई मैले गाडीमा चढाएको विषयमा स्थानीय प्रशासनमा उजुरी भएको रहेछ । तत्कालै अञ्चलाधीशले सोधे तपाईंको गाडीमा कांग्रेसी नेतालाई चढाएको हो ? भनेर । जवाफमा मैले हो भनेँ । ऊ मेरो पुरानो साथी हो । हामी दुवै काठमाडौंकै भएकाले हाम्रो राजनीतिकभन्दा सामाजिक सम्बन्धका कारण सानो सहयोग मैले पुर्‍याएको हुँ भनेँ । अञ्चलाधीश डा. दुर्गा रिजालले भन्नुभयो मैले तपाईंलाई शंका गरेर सोधेको होइन खाली के रहेछ भनेर बुझ्नमात्र खोजेको हुँ । यो सेन्सेटिभ ठाउँ छ भन्दै फेरि उनले प्रतिबन्धित नेतासँग कर्मचारीले सम्पर्क नगर्नु नै राम्रो हो भने । अञ्चालाधीश डा.रिजाल सरल र मिलनसार थिए ।

म पर्साबाट भक्तपुर जिल्लामा सरुवा भएँ । भक्तपुरमा अनिमित तरिकाले टेष्ट पास गराएका विद्यार्थीको फारम शिक्षा मन्त्रालयले रद्द गरेको थियो । यसै घटनालाई लिएर व्यावक विरोध र अशान्त बन्न पुगेको थियो भक्तपुर जिल्ला । जिल्ला शिक्षा अधिकारी टिक्न नसकेर हिँडेका थिए । १३ वर्षदेखि वीरेन्द्र सिल्ड प्रतियोगिता हुन सकेको थिएन । जिल्लाका २७ जना प्रधानाध्यापकलाई शिक्षा मन्त्रालयले कारबाही गर्ने सूची बनाएको थियो । ऐतिहासिक नगरीको महत्वलाई ख्याल राख्दै उक्त जिल्ला शान्त हुन नसके तत्कालै काठमाडौंमा हुन लागेको सार्क सम्मेलन प्रभावित हुनसक्थ्यो ।

काठमाडौंमा नजिकको ऐतिहासिक र सांस्कृतिक कलापूर्ण शहर हो भक्तपुर । त्यसले गर्दा सार्कका सहभागीले भक्तपुरको भ्रमण गर्ने चाहना गर्नसक्थे । उक्त जिल्लालाई शान्त र सफा सुग्घर बनाइराख्नु थियो । यसले गर्दा तपाईंलाई पर्साबाट भक्तपुर सार्न ठीक छ भनी सचिव, निर्देशकले भनेकाले सरुवा गरेको हुँ भनेर तत्कालीन शिक्षामन्त्रीले भन्नुभयो ।

समस्याबाट कहिल्यै पछि नहटेको मेरो आफ्नो अनुभव छ । यहाँ पनि म सफल हुन्छु भन्ने नै विश्वास लाग्यो । भक्तपुर शिक्षा कार्यालयमा आएकै दिनमा आन्तरिक छलफल र समस्याबारे कुराकानी गरेँ । भोलिपल्ट जिल्लाभरिका माध्यामिक विद्यालयका प्रधानअध्यापकहरूको बैठक बोलाएँ । शिक्षाका समस्याबारे छलफल र समस्याबारे कुराकानी गरेँ । शैक्षिकस्तर उठाउन विद्यालय कक्षा कोठामा शिक्षण सिकाइ प्रविधिलाई प्रभावकारी बनाउन हामीले शिक्षक शिक्षालाई क्रियाशील शिक्षण पेशाप्रति प्रतिबद्ध बनाउने कुरामा प्रअको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरामा सबै सहमत भयौँ ।

वीरेन्द्र सिल्ड खेल १३ वर्षदेखि नभएकाले यसलाई चाँडो गर्नु राम्रो होला भन्ने कुरामा छलफल गरियो । अर्को हप्तामा बसेको बैठकले वीरेन्द्र सिल्ड सञ्चालन गर्ने निर्णय भयो । उक्त खेल शान्तिपूर्वक सम्पन्न भयो । यसपूर्व यस खेलमा झगडा मारपिट हुने र बीचैमा अड्किएर खेल नहुने गरेको कुरा प्रअ साथीहरूले सुनाउनुभयो । उक्त खेलभरि म पूरै समय खेल मैदानमा बसेर शान्तिपूर्वक खेलकुद सम्पन्न गराएँ ।

अर्को समस्याका रूपमा २७ जना प्रअहरूलाई प्राइभेट परीक्षामा अनियमित तरिकाले टेष्ट सेन्टअप गराएका कारण कडा कारबाही गर्न तत्कालीन शिक्षा सचिवको निर्देशन थियो । यसमा मैले प्रअहरूको मात्र गल्ती देखिन र कारबाही गर्न अटेरी गरिरहेकै बेला भक्तपुरमा सार्क सम्मेलन तयारीसम्बन्धी कार्य निरीक्षणका लागि आउनुभएका शिक्षामन्त्री केशरबहादुर विष्टसँग मेरो भेटघाट भयो । उहाँले शिक्षाको अवस्था के कस्तो छ भनेर सोध्नुभयो ।

मैले जवाफमा अरू त राम्रै छ मैले समालेर लगेकै छु तर प्रअहरूलाई कारबाही गर भन्ने सचिवज्यूको निर्देशन पालन गरेको छैन भनेँ । उहाँबाट किन त भनी सोधनी भयो ? मेरो जवाफमा प्राइभेट टेष्ट परीक्षाका बारे प्रअहरूभन्दा अझ शिक्षा कार्यालयको पनि हेलचेक्र्याइँ देखेको छु । प्रअहरूलाई मात्र कारबाही गर्न अन्याय लाग्दछ भनेपछि शिक्षामन्त्रीले तपाईंले देखेको न्याय गर्नुहोस् सचिवज्यूले प्रअहरूलाई कारबाही गर भनेर फेरि निर्देशन दिनुभयो भने मन्त्रीले कारबाही गर्नु पर्दैन भन्नुभएको छ भनेर जवाफ दिनु होला भनेपछि म ढुक्क भएँ । जिल्लाका प्रअहरू पनि उत्साही भई आफ्नो कार्यमा तल्लीन हुन थाले । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?