नेकपा एसमा अर्को लफडा: नयाँ मन्त्रीका लागि सांसदहरूको नयाँ सूची प्रस्ताव

Read Time = 4 mins

काठमाडौं । सरकारबाट फिर्ता बोलाइएको नेकपा एसका मन्त्रीहरूले परिवर्तन हुने नयाँ मन्त्रीमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची प्रस्ताव गरेका छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पेस गरिएको भनिएको सूचीमा यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक नामहरु प्रस्ताव गरिएको छ ।

जसअनुसार ललितपुरका कृष्णलाल महर्जन, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेको एकमन्त्रीले जानकारी दिनुभयो ।

हट्ने भनिएका अन्य मन्त्रीले भने सो सूची मन्त्री प्रेम आलेको एकल भएको भन्दै आफूहरू हस्ताक्षरमा कायमै रहेको भन्दै पन्छिनु भएको छ ।

तर, पार्टी प्रवक्ता समेत रहनुभएका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने पार्टीले फिर्ता बोलाएका मन्त्रीहरुको शर्त स्वीकार नहुने भन्दै पार्टीले पठाएको नयाँ मन्त्रीको सूचीमा कुनैपनि हालतमा संशोधन नहुने बताउनु भयो । ‘मन्त्रीको सूचि संशोधन हुँदैन,समय क्रममा नाम थप्नुपर्ला, घटाउनुपर्ला तर अहिले नाम संशोधन गरेर नयाँ नाम पठाइँदैन । त्यो शर्त गलत हो । पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन ।’ उहाँले भन्नुभयो ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता खतिवडाले बताउनु भयो ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उहाँको भनाइ थियो ।

बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताउनु भयो ।

सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरुले एकपछि अर्को शर्त राख्दै गर्दा नेकपा एसले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?