जयराम-हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान 

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । कालोपत्रे उक्किदा खोटाङको जयराम–हलेसी सडक खण्ड जिर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम-हलेसी (३० किलोमिटर) सडक जिर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम-हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।

तीन/चार वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिकस्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम-हलेसी सडक राजधानी काठमाडौं लगायतका शहर जाने र आउने प्रमुख मार्ग हो ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ ।  खाल्डोमा वर्षायाममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।

यो सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेको जिम्मामा छ । तर, मर्मतमा ध्यान दिएको छैन । ‘सडकको अवस्था नाजुक हुँदा हलेसी आउजाउ गर्ने पर्यटक र दर्शनार्थीलाई यात्रा गर्न कठिन भइरहेको छ,’ कार्यकारी निर्देशक भुजेलले भन्नुभयो,  ‘तत्काल मर्मत नगरे दुर्घटना निम्तिने खतरा छ । खराब अवस्थाको सडकका कारण जिल्लाप्रति नकरात्मक सन्देश गइरहेको छ ।’

सडकमा स्वच्छन्द-भगवती निर्माण सेवाले ०६५ देखि ०६७ मा ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्ष नबित्दै उक्किन थालेको थियो । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीय जीवन राईले बताउनुभयो ।

ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्तीनजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो । सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?