पोखरा । आगामी शनिबार हुने छैटौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड-२०७८ को मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार अवार्ड दिइने विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको हो । लाइफ टाइम अचिभमेन्ट, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकार गरी सातवटा विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ । जसमध्ये विभिन्न चारवटा विधामा उत्कृष्ट तीन मनोनयनको सूचीमा परेकाको नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का हुनुहुन्छ । यस्तै वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र कराँतेका सरगम कुमाल उत्कृष्ट ३ मा हुनुहुन्छ । त्यसबाहेक उदीयमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि जैसी र बक्सिङका शाहिल लिम्बू मनोनयनमा हुनुहुन्छ । उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा हुनुहुन्छ ।
सातमध्ये बाँकी तीनवटा विधाको मनोनयन सूची छिट्टै नै सार्वजनिक गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।
अवार्डअन्तर्गत लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनेका लागि चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित पुरस्कृत गरिनेछ । यस्तै वर्ष खेलाडी पुरुष/महिलाले एक/एक थान इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गर्नुहुनेछ । त्यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ र वर्ष उत्कृष्ट खेल पत्रकारले ३५/३५ हजार र ट्रफी प्राप्त गर्नुहुनेछ । उत्कृष्ट तीनको मनोनयन सूचीमा परेकाहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने मञ्चले जनाएको छ ।
खेलाडी छनोट समितिको संयोजकमा मञ्चका पूर्वअध्यक्ष विनोद लामिछाने, सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहनुभएको थियो । अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समितिसमेत गठन गरिएको छ । समितिको सहसंयोजकमा उपाध्यक्ष सुरज श्रेष्ठ रहनुभएको छ । त्यस्तै मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।
वैदेशिक समन्वय समितिको संयोजकमा पूर्वअध्यक्ष केशव पाठक, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष कविता घर्ती मगर, प्रचारप्रसार उपसमिति संयोजकमा महासचिव राजाराम पौडेल, संघसंस्था समन्वय समिति संयोजकमा नारायण शाही, कार्यक्रम व्यवस्थापन उपसमिति संयोजकमा मन क्षेत्री र भिडियोग्राफी संयोजकमा उमेश पुन रहनुभएको छ ।
वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र सन्देश श्रेष्ठ रहनुभएको प्रतिभा छनोट समिति गठन गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब, होटल पौवा लेकसाइड, जुजु वेर्यस र चिल्लीबार एन्ड रेस्टुरेन्ट सहयोगी संस्थाका रूपमा रहेका छन् ।
मञ्चका अध्यक्ष बरालले प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले अवार्ड समग्र प्रदेशकै गौरव भएको उल्लेख गर्नुभयो । उहाँले प्रतियोगिता सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
पूर्वअध्यक्ष एवं छनोट समिति संयोजक लामिछानेले खेलाडीहरूले गरेको प्रदर्शन र प्राप्त मेडलका आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको बताउनुभयो । प्रतियोगिता असार १८ गते पोखरा सभागृहमा आयोजना हुनेछ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दै आइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका