४५ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेनन्

Read Time = 2 mins

काठमाडौं । सबै स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही स्थानीय तहले भने बजेट प्रस्तुत गर्न सकेनन् । सात सय ५३ स्थानीय तहमध्ये २६ नगरपालिका र १९ गाउँपालिकाले बजेट प्रस्तुत गर्न नसकेका हुन् । नेपाल नगरपालिका संघका अनुसार दुई सय ९३ नगरपालिकामध्ये २६ नगरपालिकाले बजेट प्रस्तुत गर्न नसकेको र अन्य दुईवटा नगरपालिकासँग सम्पर्क हुन नसकेको हो । त्यसैगरी चार सय ६० गाउँपालिकामध्ये १९ गाउँपालिकाले बजेट प्रस्तुत गर्न नसकेको र छवटा गाउँपालिकामा मौसमका कारण सम्पर्क हुन नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । सुदूरपश्चिम प्रदेशको बूढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन हुन बाँकी छ ।

दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखाप्रमुख नहुनु, कतिपय स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहनु, प्रमुख र उपप्रमुखबीचको आन्तरिक द्वन्द्व रहेकाले कतिपय स्थानीय तहले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न नसकेको बताइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आर्थिक वर्षका लागि असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट प्रस्तुत गरी असारभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?