अवैध रूपमा भित्र्याइएका बिरुवा नष्ट गरियो

Read Time = 3 mins

काठमाडौं । भारतबाट नेपाल भित्रिएको अवैध फलफूल तथा बिरुवा नष्ट गरिएको छ । माटोसहित विभिन्न प्रजातिका फलफूल तथा आलंकारिक बिरुवा ललितपुरको बालकुमारीमा बिक्री गरिएको पाइएकाले प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले नष्ट गरेको हो । कागती, विडिङ हार्ट, आँप, वेगमवेली, लिचीलगायत चार हजार छ सय ७५ बिरुवा नष्ट गरिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले जानकारी दिनुभएको छ ।

फलफूलका बिरुवा स्वाधिन सप्लायर्स प्रालि धादिङको छत्रेदेउराली धुनिवेशीका सञ्चालक दिपक सापकोटाले भारतस्थित दिपक ट्रेडर्सबाट अवैधरूपमा ३० हजार फलफूलका बिरुवा नेपाल ल्याएका थिए । बिरुवा संरक्षण ऐन २०६४ अनुसार नेपाल प्रवेश गर्ने बिरुवा वा बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक किरा, अन्य वस्तु, बिरुवा हुर्कने माध्यम क्वारेन्टाइन कार्यालयबाट अनुमतिपत्रपछि मात्र आयात गर्न सकिन्छ । बिरुवा आयातबापत वीरगञ्ज भन्सार कार्यालयमा भने भन्सार तिरेको पाइएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । बिरुवाहरू महानगरीय प्रहरी परिसर जावलाखेलले असार ७ गते नियन्त्रणमा लिएको थियो ।

आयात गर्ने कम्पनीलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको र जरिवाना नतिरे कम्पनीलाई कालोसूचीमा राख्नेसम्मको कारबाही हुने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत आचार्यले बताउनुभएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले भारतबाट अवैधरूपमा फलफूलका बिरुवा आयात हुँदा नेपाली किसान मर्कामा पर्ने गरेको बताउनुभएको छ । बिरुवाहरू माटोसहित रहेको तथा बिरुवा स्वस्थताको कुनै पनि प्रमाण नरहेकाले बिरुवा रोपण गर्दा समग्र बिरुवा स्वास्थ्य तथा जैविक सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?