एसपिपी र सेटिङको राजनीति मोह

Read Time = 8 mins

✍️ जीवन शर्मा
एउटा नयाँ इस्यु निकाल्ने र त्यसैको पेरिफेरीमा महिनौं बहस गर्ने त्यसका पक्ष र विपक्षमा मत विभाजन गरेर समय बिताउने नेपाली राजनीतिको परम्परा पछिल्लो समयमा अझै झाँगिदो छ । केही महिनाअघि एमसिसीलाई विषय बनाएर वक्तृत्वकलामा भाग लिएका नेताहरूले अहिले एसपिपी नाम दिएर पक्षविपक्षमा कला प्रस्तुत गरिहरेका छन् भन्दा फरक नपर्ला ।

एमसिसी ५० करोड अमेरिकी डलरको विकास सहायता परियोजना हो भनेरै संसदबाट अनुमोदन भई कार्यान्वयनको प्रक्रियामा गइसक्यो । अहिले एसपिपी अर्थात स्टेट पार्टनरसिप प्रोग्राम संयुक्त राज्य अमेरिका र नेपालबीच गर्ने भनिएको सहकार्य परियोजनाको बहस सडकदेखि सदनसम्म चलाइएको छ । दलका शीर्ष नेताहरूबीच सबै सेटिङ भइसकेर बाहिर ल्याइएको एउटा नाटकीय फण्डामात्रै हो भनेर बुझ्दा काफी हुन सक्छ ।

दलहरूका लागि यो कुनै राष्ट्रियताको विषय नै होइन । यो त आसन्न चुनावी फण्डामात्रै हो । कसरी जनतालाई मुर्ख बनाउँन सकिन्छ भन्ने नाटकीय इस्यु हो । एमसिसीको विषयमा जसरी सबै दलका सबै शीर्ष नेताहरू जोडिएका थिए, विगत एक सातादेखि राजनीति बजारमा आएको विषय एसपिपी पनि उही हो । अहिले मेरो पालामा र तेरो पालामा भनेर जनतालाई झुक्याउन कति सकिन्छ भनेरमात्रै लगेको देखिन्छ । एसपिपी के हो ? केही व्यक्तिहरूबाहेक नागरिकस्तरमा कसैलाई थाहै छैन ।

एसपिपी अर्थात् स्टेट पार्टनरसिप प्रोग्राम संयुक्त राज्य अमेरिका र नेपालबीच गर्ने भनिएको सहकार्य परियोजना हो । यो परियोजना कार्यन्वायन गर्दा सेवा सर्तहरू के के छन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा होला । स्वभाविक रूपमा शक्तिराष्ट्रहरूले केही दिएर कमजोरलाई प्रयोग गर्ने र अर्को बलियोमाथि प्रहार गर्ने नीति हुन्छ नै । यही नीतिअन्र्तगत यो परियोजना प्रस्ताव गरेको हुनसक्छ ।

नेपालका कम्युनिष्टहरू के गर्दै छौ ? भनेर चीनले बारम्बार यस्ता विषयमा झकझक्याइरहने भएकाले नेपालका कम्युनिष्ट नेताहरू चीनको अगाडि बोलिरहेको जस्तो देखाउनका लागि मात्रै यी एजेण्डाले बजार पाएको हो । तर, नेपालका सबै दलका सबै शीर्ष नेताहरूले शक्ति राष्ट्रसँग बेतन खाइसकेका छन् भन्ने कुरा दुवै थरिबाट आएका तथ्य तथ्यांकले देखाइसकेको छ । त्यसकारण एसपिपीका विषयमा कोही चोखो छु भन्छ भने त्यो अर्को फटाहा हो त्यसबाट जोगिनुपर्छ भनेर जनताले बुझ्नुपर्दछ ।

सन् २०१५ मै सुरु गरिएको परियोजना अहिले आएर निकाल्नु दलहरूको नाटकीय चुनावी फण्डा नै हो । मुलुकमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय सरकार छ । संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले प्रमुख प्रतिपक्ष रहनु पर्दाको पीडा बिसाइएको हो भन्दा हुन्छ । केपी ओली प्रधानमन्त्री हुँदा सुरु गरिएको एसपिपी आफैंलाई थाहा छैन भन्नु ओलीको लाचारपन हो । यो त उनको सबै साथीहरू एकठाउँ मिलेर केही वर्ष तर खान नदिने भए भनेर घरको भित्ता चिर्थोने बिरोलो प्रवृतिमात्रै हो ।

अनि ओलीले धेरै चिथोरे भने भत्किएर छ्याङ्ग देखिन्छ कि भन्ने डर अरू दलका नेताहरूलाई छ । एसपिपी सम्झौता केही वर्षपछि भए पनि अन्त्यमा सबै मिलेर गरेरै छाड्छन् जसरी एमसिसी पास गराए । राष्ट्रियताको मुद्दा केवल भाषणमा सिमित राख्नेहरूसँग जनताले पीडा, अभाव, महँगी र बेरोजगारीबाहेक केही पाउँने छाँट देखिएको छैन । राजनीति देश र जनहितका पक्षमा नीति निर्माण गर्ने व्यवस्था हो तर नेपालको राजनीति देश र जनताका समस्या थाति राखेर व्यक्तिगत स्वार्थ पूर्तिका लागि सेटिङमा दलाली, भ्रष्टाचार, पारिवारिक रोजगारी, अकूत सम्पत्ति कमाइ र ऐस आरामबाहेक केहीदेखि नै छाडेको छ ।

यी विषयमा को सही र को गलत भन्ने नै छैन । सबै दलका शीर्ष नेताहरू नै सबै दलाल भइसकेका छन् । देशका सांसद, मन्त्री र प्रधानमन्त्री किन हुने ? यसको एउटै कारण हो सेटिङमा सम्पत्ति आर्जन गर्न । त्यसबाहेक कुनै दलका कुनै नेताहरूले सोचेको जनताले अनुभूति गर्न पाएकै छैनन् । पदीय जिम्मेवारीमा पुग्नेहरूले सबैखाले दुलो पत्ता लगाइसकेका कारण त्यही पद छाड्न चाहँदैनन् भने नपुगेका त्यसको स्वाद थाहा पाउनकै लागि अनिवार्य सांसद, मन्त्री र प्रधानमन्त्री हुन चाहन्छन् । उनीहरूको अन्तिम लडाइँ फेरि दाबाका साथ भन्न सकिन्छ कि सत्ता प्राप्ति भनेकै सेटिङमा देशका सबै संरचनाहरू आफ्नो नियन्त्रणमा राख्ने र पुस्तौं पुग्ने गरी कुस्त कमाउने नै हो ।

नेताहरूको सेटिङ देखेर अब त विभिन्न पेशामा आबद्ध व्यक्तिसमेत स्वतन्त्रका नाममा होस् वा कुनै दलमा आबद्ध भएर राजनीतिमै हामफाल्न थालिसकेका छन् । उनीहरूले उठाएका एजेण्डा भने केवल सेटिङमा पुग्ने भ¥याङमात्रै हुन् । कुन भ¥याङ चढ्दा सेटिङ मिलाउने ठाउँमा पुग्न सकिन्छ भनेर बुझिसकेपछि उनीहरूको मन सल्बलाएको मात्रै हो ।

भोलि त्यहाँ पुगेपछि मिलाई मिलाई जनताको करमा राज गर्ने र विदेशीहरूबाट समेत अनुदामन लिएर खाने सिवाय कसैले केही गर्नेवाला छैनन् । चाहे अहिलेका नेताहरू हुन् वा तिनका पछि लाग्नेहरू नै किन नहुन् । या स्वतन्त्रका नाममा उदाउँदै गरेकाहरू नै हुन् सबैको बाटो अन्ततः त्यही नै हुनसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?