स्वास्थ्य र शिक्षा विकासमा धन-योग फाउन्डेसनको थालनी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । धन-योग फाउन्डेसन, युएसले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि औपचारिक पहल अघि बढाएको छ । उसले धन-योग फाउन्डेसन, नेपालसँगको सहकार्यमा नेपालका दुर्गम, विपन्न र सीमान्तकृत क्षेत्र तथा समुदायका लागि स्वास्थ्योपचार र शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।

दुबै संस्थाका पदाधिकारीहरूबीच शनिबार काठमाडौंमा आयोजित ‘मिट एन्ड ग्रिट-२०२२’ समारोहमा फाउन्डेसन, युएसका अध्यक्ष डा. सचिन मास्केले संस्थाको तत्कालीन र दीर्घकालीन रणनीतिहरू सार्वजनिक गर्नुभयो ।

संस्थाले नेपालमा मधुमेहका बिरामीहरूको उपचारमा केन्द्रित अस्पताल स्थापनाका लागि आफूले पहल गर्ने उहाँले घोषणा गर्नुभयो । फाउन्डेसन, युएसकी उपाध्यक्ष डा. सबिना मास्केले आफ्नो मुुलुक र समाजप्रतिको दायित्व संझेर फाउन्डेसन क्रियाशील भएको बताउनुभयो ।

फाउन्डेसन, नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले संस्थाले यसै बर्षदेखि हरेक बर्ष मधुमेह र आँखासम्बन्धी स्वास्थ्य शिविर, निशुल्क उपाचार तथा जनचेतना कार्यक्रम गर्ने जानकारी गराउनु भयो । दृष्टिविहीन तथा अभिभावकविहीन बालबालिकालाई छात्रबृत्रि प्रदान गर्ने पनि उहाँले बताउनु भयो ।

फाउन्डेसनकी परियोजना प्रमुख सरला श्रेष्ठले नेपालमा सामजिक कार्यहरू गर्दा आइपर्ने चुनौतिबारे जानकारी दिनु भयो भने सचिव नुज्जु अवालेले फाउन्डेसनका लक्ष्य र उद्देश्य अवगत गराउनु भएको थियो ।

कार्यक्रममा संस्थाका पदाधिकारीहरू डा. महेशकुमार गौतम, रोशना देवकोटा तथा सदस्यहरू जस्मीन गरुङ, बसन्त बिक्रम बोगटीलगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?