संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक विहान ११ बजेबाट शुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूमाथि सम्बन्धित
मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भइसकेको छ भने राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ। त्यस्तै प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन-२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ भने लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?