पार्की र सन्तोषीलाई स्वर्ण 

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय एथलेटिक्स प्रतियोगिताअन्तर्गत तीन हजार मिटरमा एपिएफ क्लबका गोपीचन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्णपदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्णपदक जित्नुभएको छ ।

गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलब ५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्नुभयो । यस्तै आर्मीका मुकेश पालले ८ मिनेट ३० दशमलब ० सेकेन्डको समय निकाल्दै रजत जित्दा कास्य विजेता आर्मीका दीपक अधिकारीले ८ मिनेट ३८ दशमलब ० सेकेन्डको समय निकाल्नुभयो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलब ७ सेकेन्डमा पूरा गर्नुभयो । सन्तोषीले १५ सय मिटरमा समेत स्वर्ण जित्नुभयो । महिलातर्फ पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८ दशमलब ४ सेकेन्डसहित रजत जित्नुभयो । कर्णालीकी राममाया बुढाले १० मिनेट ४१ दशमलब ९ सेकेन्डसहित कास्य हात पार्नुभयो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमबाट २४० खेलाडी सहभागी छन् । प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यस्तै नेपाल आर्मीकी जयरानी थारुले ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । जयरानीले महिला चार सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । जयरानीले छैटौँ राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गर्नुभएको छ ।

पहिलो दिन शुक्रबार जयरानीले एक सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रच्नुभएको छ । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । शुक्रबारै आर्मीका जीवन थारुले पुरुष ११० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाउनुभएको छ । उहाँले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?