स्टार्टअपका लागि २४ करोडभन्दा बढीको लगानी सम्झौता

Read Time = 6 mins

काठमाडौंं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सिएनआइवाइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीका लागि प्रारम्भिक सम्झौता भएको छ । शनिबार काठमाडौंस्थित होटल सोल्टीमा आयोजित कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको परिसंघले जनाएको छ ।

नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट तीन सय बढी परियोजना प्रस्ताव आएकोमा अन्तिम छनोटमा परेका परियोजनालाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । प्रस्तुतीकरणपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले परियोजनामा इक्विटी लगानीका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।

स्वपुँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रोडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । उल्लेखित स्टार्टअपमा टिम भेन्चर्स, ग्लोबल इक्विटी फन्ड, अध्यान्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनोटमा परेका परियोजनालाई अवार्ड प्रदान गर्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गर्नुभएको थियो । परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेको बताउनुभएको छ । नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको उहाँको भनाइ छ । अग्रवालले भन्नुभयो, ‘नवीन सोच भएका युवालाई प्रोत्साहित गर्न नै यो कार्यक्रम आयोजना गरेका हौँ । एक दिन भव्य कार्यक्रम गरेरमात्रै हामी बस्ने छैनौँ । यहाँ सहभागी प्रत्येक परियोजना अघि बढ्ने वातावरण बनोस् भन्ने चाहन्छौँ ।’ उहाँले राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवद्र्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पारित गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ ।

परिसंघका प्रेसिडेन्ट एमिरेट्स एवं सांसद विनोद चौधरीले कार्यान्वयनयोग्य योजना लिएर अघि बढ्न युवालाई आग्रह गर्नुभयो । विश्वमा धनी भएका व्यक्तिहरू निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उहाँले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गर्नुभयो । चौधरीले भन्नुभयो, ‘आज तपाईंले गर्ने निरन्तरको प्रयासले भोलिको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाव, योजना र प्रतिबद्धता आवश्यक पर्छ ।’ नेपालस्थित भारतीय दूतावासका कन्सुलर प्रसन्ना श्रीवास्तव, परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष अमुन थापा, परिसंघ स्टार्टअप अभियान समिति सभापति आयुषी केसीलगायतले उद्यमशीलताबारे प्रस्तुति दिनुभएको थियो । स्टार्टअप फेस्टका विभिन्न सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलिप अग्रवाल, सुमन रायमाझी, स्वाती रुङ्गटा, अनुज शर्मा, युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पनि स्टार्टअपका विविध विधामा प्रस्तुति दिनुभएको थियो । विदेशी वक्ताका रूपमा भेन्चर क्याटालिस्ट तथा इन्डिया एन्जल इन्भेस्टरकी पुनम खन्डेलवालले फेस्टमा सहभागी युवालाई उद्यमशील बन्न अभिप्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावाससमेतले सहकार्य गरेका थिए । आयोजकका अनुसार ४० बढी स्टार्टअपले आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी गरेका थिए भने ५ हजार बढी युवाहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?