खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र

हिमालय टाइम्स
Read Time = 7 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजारको खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रंगशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र परेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरू यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तर सम्म पुगिसकेका भए पनि केही वर्षयता खुलामञ्च खेलमैदान उपयोगविहीन बनेको छ ।

पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थित रूपमा राखिएकाले विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगिता प्रभावित बनेका छन् । बेनीस्थित विभिन्न विद्यालय र क्लबका खेलाडीले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन् ।

मिनी स्टेडियम बनाउने योजनामा खेल मैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारसमेत बीचैमा अलपत्र छन् । खुलामञ्चमा सवारीसाधनको पार्किङ गर्ने तथा बजारको सडक कालोपत्रे गर्ने सामान ढुंगा, गिट्टी र बालुवा भण्डारण गर्ने स्थानको रूपमा परिणत भएको छ । पूर्वाधार निर्माण योजनाले पूर्णता पाउन नसक्दा युवाहरूलाई खेलकुद अभ्यासमा कठिनाइ र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रिन युवा क्लबका अध्यक्ष निरज राम्जालीले बताउनुभयो ।

‘खुलामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्रो छ, ढुंगा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्राका सामग्री राख्दा अभ्यास गर्ने मैदानको स्वरूप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवाहरू घाइते हुने अवस्था छ,’ अध्यक्ष राम्जालीले भन्नुभयो ।

खुलामञ्चको पूर्वाधार निर्माणमा ढिलाइ गर्दा बेनीमा विभिन्न समयमा एभग्रिन, बौद्ध युवा क्लब, कालीपुल युनाइटेड र दोभान युवा क्लबले आयोजना गर्ने फुटबललगायत खेलकुद प्रतियोगिता प्रभावित बन्दै आएका छन् । खुलामञ्चलाई मिनी रंगशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहुँदा पूर्वाधार निर्माण अलपत्र परेको हो । खुलामञ्च खेलमैदान मात्र नभएर व्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिकसभा हुने स्थल पनि हो । तर, पछिल्लो समय क्लब, विभिन्न संघसंस्था, विद्यालयले आयोजना गर्ने खेलकुद प्रतियोगिता र मेलामहोत्सव रोकिएको छ ।

बजेटमा निरन्तरता नहुँदा निर्माणधीन प्याराफिट अलपत्र छ । विभिन्न खेलकुद प्रतियोगितामा जनप्रतिनिधिले खुलामञ्चलाई मिनी स्टेडियम बनाउने घोषणा भाषणमा सीमित भएको छ । संघ, प्रदेश र स्थानीय तहले खुलामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लबको गुनासो छ । अलपत्र अवस्थामा रहेको खुलामञ्चलाई पूर्णता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका-७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

म्याग्दी नदीको किनारतर्फ अग्लो पर्खाल निर्माण सम्पन्न भएको छ । प्याराफिट निर्माणको करिब आधा काम सकिएको छ भने आधा भागको प्याराफिट निर्माणमा बजेट अभावले रोकिएको छ । कालीगण्डकी किनारतर्फ खुलामञ्चलाई फराकिलो बनाउने किसिमले प्याराफिट निर्माण लागि सुरु गरिएको काम पिल्लर राख्ने काम मात्र भएको छ । जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्याराफिटसहितको स्तरीय रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो ।

जनप्रतिनिधिले राजनीतिक रूपमा बोलेका वाचा पूरा नगर्दा जिल्लामा ठूला आयोजनामध्ये खुलामञ्च अलपत्र छ । कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११/११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने योजना छ । हालसम्म तीन करोडभन्दा बढी लगानी भएको खुलामञ्चलाई व्यवस्थित बनाउन नौ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

कोरोनापछि बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक वर्ष ०७७/०७८ मा यो योजनामा कतैबाट बजेट विनियोजन भएन । आव ०७८/७९ मा विगत दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुलामञ्चको स्वरूप फेर्दै रंगशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।

पूर्वाधारलाई पूर्णता दिने बजेट नगरपालिकासँग नभएको मेयर सुरत केसीले बताउनुभयो । उहाँले खुलामञ्चको पूर्वाधार निर्माणलाई नगरले प्राथमिकतामा राखे पनि १५/२० लाखभन्दा बढी बजेट विनियोजन गर्नसक्ने क्षमता नगरसँग नरहेको बताउँदै सम्बन्धित निकायमा पहल गर्ने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?