सामान्य वर्षामै भासियो चार करोडको सपिङ कम्प्लेक्स

Read Time = 4 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण भएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क भासिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको साझेदारी बजेटमा निर्माण भएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्कको पछाडि भागको सपोर्ट पर्खाल चिराचिरा परेपछि अधिकांश जमिन भासिएको हो ।

पर्यटन मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको एक करोड ८० लाख ८४ हजार सात सय ५१ रुपैयाँमा उमा-लामा-अन्सुबी जेभीले सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क निर्माण गरेको हो । एक वर्षमा काम सक्ने गरी २०७८ वैशाख २६ गते सम्झौता गरेको जेभीले माघमै काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । फागुन ३ गते तत्कालीन मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएको चार महिनामै सपोर्ट पर्खाल चिराचिरा हुँदै स्विमिङ पुल र अन्य संरचना भासिएका हुन् । सपिङ कम्प्लेक्स भासिएपछि आइतबार बिहान दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईलगायतको टोलीले अनुगमन गरेको छ । संरचना गुणस्तरहीन निर्माण हुंँदा सामान्य वर्षाका कारण नै चिराचिरा परेर पर्खाल पल्टने अवस्था रहेको उपमेयर राईले बताउनुभयो । अनुगमन समिति संयोजक एवं उपमेयर राईले भन्नुभयो, ‘यो खालका अरू काम हुन नदिन बुद्धिजीवी, नागरिक समाज, प्रशासन र अख्तियारसम्मको समन्वयमा कानुनी बाटो खोजेर तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउँछौँ ।’

प्राविधिकको चेकजाँचपछि कमजोर भएको प्रमाणित भएमा क्षेत्राधिकारभित्र रहेर निर्माण कम्पनीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने मेयर भट्टराईले बताउनुभयो । सपोर्ट पर्खाल चिराचिरा हुँदै स्विमिङ पुल र अन्य संरचना भासिएपछि स्थानीयवासी त्रसित बनेका छन् । स्थानीयका अनुसार निर्माण सम्पन्नअघि नै सपोर्ट पर्खाल चिराचिरा परेको र त्यसबेला प्लास्टर गरेर छोपिएको थियो ।

सपोर्ट पर्खालमुनि रहेको बाटोमा हिँड्डुल गर्न नै जोखिम भएको स्थानीय मेनुका थापाले बताउनुभयो । सपिङ कम्प्लेक्सका लागि बनाइएको भवनको पहिलो तलाका १४ सटर अहिले भाडामा सञ्चालन भइरहेका छन् । माथिल्लो तलामा छ सटर बराबरको एकवटा रेस्टुरेन्ट हल र स्टलका लागि पाँच कोठा रहेका छन् । चिल्ड्रेन पार्कमा बालबालिकाका लागि विद्युतीय पिङ, सामान्य पिङ, घोडा सवार, कोलम्बस, पौडी पोखरीलगायतका संरचना बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?