यस्तो छ श्रममन्त्री शेरबहादुर कुँवरकाे राजनीतिक यात्रा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त हुनुभएको छ । एकीकृत समाजवादीको गत २० जेठमा बसको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झन्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमासमेत एमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्णसिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ वैशाख २६ गते भएको हो । यद्यपि उहाँको नागरिकतामा भने २०२३ भदौ ६ गतेको जन्म मिति उल्लेख रहेको कुँवर बताउँनुहुन्छ । कुँवर पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो सन्तान हुनुहुन्छ।

सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठकको रुपमा चिनिनुभएको छ । २०३९ मा अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उहाँ हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुहुन्छ ।

नेता कुँवरले पटकपटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हाल्नुभएको छ । उहाँले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । उहाँ २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । नेता कुँवर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको थियो ।

हाल उहाँ एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्छ ।

नेता कुँवरलाई विद्यार्थीकालदेखि जुझारु नेताको रुपमा चिनिन्छ । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तारसमेत पर्नुभएको थियो । उहाँ २०४७ को जनआन्दोलनमा काठमाडौंको बग्गीखानामा एक हप्ता जेल पर्नुभएको थियो । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झण्डै पाँच दिनसम्म उहाँ थुनामा पर्नुभएको थियो ।

तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा एमालेको बिउ जोगाउनु भएको थियो । सो समयमा अछाम सदरमुकाम मंगलसेनमा रहेर उहाँले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाउनुभएको थियो । यद्यपि जिल्लामा बसेर पार्टी क्रियाकलापमा सक्रिय भए पनि जनयुद्धको समयमा समेत कुनै सुरक्षा थ्रेट नआएको उहाँ बताउनुहुन्छ ।

मन्त्री नियुक्त भएका कुँवरले मन्त्री पदमा सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिन लाग्नुभएको हो ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?