धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाण्डौ । अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी-२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो । वर्षा बाधक बन्यो । अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ शुभ संकेत भएपनि वर्षा बाधक बन्दा एशियाकप यात्रा टुङ्गियो । सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भएपनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमवार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताउनु भयो ।

मलेशियामा सम्पन्न एसिसि महिला टी-२० च्याम्पियनसिपमा सहभागि भएर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमवार स्वदेश फर्कियो । उपाधि ल्याउने वाचासहित मलेसिया गएको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरे पनि वाचा पूरा हुन सकेन । उपाधि ल्याउन लक्ष्य यसपालि पनि धकेलियो । उत्कृष्ट प्रदर्शनका बावजुत वर्षा बाधक बन्दा नेपालको अघिल्लो खुड्किलो सेमिफाइनलको पहिलो इनिङमा सिमित भयो । बलियो युएईसँगको खेलमा बलिङमा जादु देखाएकी अस्मिना कर्माचार्यको ५ विकेट व्यक्तिगत प्रदर्शनमा अब्बल रह्यो । बलिङ इनिङमा न्याय भएपनि ब्याटिङ इनिङमा प्रकृतिले नेपाललाई अन्याय गर्‍याे । दुर्भाग्य नेपालको एशिया कप खेल्ने लक्ष्य वर्षाले नै मडारिदियो । सम्मुखको उपाधि टाढिए पनि नेपाली टोली आफ्नो प्रदर्शनमा सन्तुष्ट देखिएको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै खेलाडीले खेल मैदानमा आ-आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकै हो । योजना अनुसार समग्र टोलीले प्रदर्शन गरेको पनि हो । हङकङसँगको हारपछि समिकरण बदलिए पनि युएईमाथि प्रदर्शन हाम्रो लागि राम्रो हो । बलियो युएईलाई सस्तैमा समेटेर खेल्नका लागि तयार भएपनि नखेली आउनुपर्दा दुःख लागेको छ ।’

टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिलेको लयलाई निरन्तरता दिन चाहन्छौं । यो सल्लाह पनि भएको छ । भरसक सबै खेलाडी काठमाडौंमै बसेर अभ्यासलाई निरन्तरता दिने योजना बनाएका छौं । आउँदै गरेको प्रतियोगितालाई मध्यनजर गर्दै योजनावद्ध तरिकाले अगाडि बढ्ने सोच बनाएका छौं । यसका अलावा हामीलाई धेरै भन्दा धेरै प्रतियोगिताको खाँचो छ । युगाण्डा सँगको श्रृंखलाको अनुभवले हाम्रा धेरै कमिकमजोरी सुधार गर्नसक्यौं भने आउँदो दिन नेपाली महिला क्रिकेटका लागि राम्रो हुनेछ । अब धेरै श्रृंखला खेलेर प्रतियोगितामा सहभागी हुन पायौं भने अवस्य राम्रो गर्न सक्छौं ।’

यस्तै जादुमय बलिङ गरेकी अस्मिना कर्माचार्यले पनि भ्रमण राम्रो अनुभव लिने अवसर भएको र आगामी दिनमा अझै राम्रो गर्नका लागि संघले कार्यक्रम राखेर प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राम्रो खेल्दा खेल्दै पनि हामी बाहिरिनु पर्दा दुःख लागेको छ । मेरो व्यक्तिगत करियरमा ५ विकेट निकै महत्वपूर्ण रह्यो । व्यक्तिगत हौसला मिलेको छ । खेल गुमाएपनि हाम्रो टोलीले लय पाएको छ । यही लयलाई निरन्तरता दिनसक्यौं भने महिला टोलीले भविष्यमा अझै राम्रो गर्नसक्छ ।’

यता मुख्य प्रशिक्षक जगत टमाटाले मुखमै आएको खेल गुमाउनु परेको भन्दै जिम्मा आफुले लिने बताउनु भयो । एसिसि र आईसिसिले आयोजना गर्ने यस्ता ठूला प्रतियोगितामा कम्तीमा पनि रिजर्भ डेको आवश्यक पर्ने भएपनि नराखेकोमा गुनासो गर्नुभयो । समग्रमा सबै पक्षमा राम्रो प्रदर्शन गर्दागर्दै पनि अपेक्षा अनुसार नतिजा आउन नसक्नु दुर्भाग्य भएको मुख्य प्रशिक्षक जगत टमाटाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपाधि लक्ष्यका साथ हामी मलेसिया गएका थियौं । दुर्भाग्य सेमिफाइनल खेल वर्षाका कारण रद्ध भयो । मुखमै आएको खेल छुट्टयो । धेरै दुःख लागेको छ । लक्ष्यमा पुग्न हामी चुक्यौं । प्रशिक्षकको नाताले म यसको जिम्मा लिन्छु । व्यक्तिगत हिसावमा मलाई पनि निकै नरामाइलो अनुभव भइरहेको छ । तर समग्रमा नेपाली महिला टोली राम्रो खेल्यो । ब्याटिङ, बलिङमा टोलीको प्रदर्शन राम्रो रह्यो । विशेष गरी युएईसँगको खेलमा अस्मिनाको बलिङ निकै उत्कृष्ट रह्यो ।’

मुख्य प्रशिक्षक टमाटाले पनि कप्तान रुबिनाले भने जस्तै धेरै भन्दा धेरै प्रतियोगितामा अवसर पाए नेपाली महिला क्रिकेट टोली दुई वर्षमा छलाङ मार्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो भ्रमणबाट धेरै सकारात्मक पक्ष बुनिएका छन् । अहिले टोलीले लिएको लयलाई निरन्तरता दिनुपर्छ । एक्सपोजर धेरै महत्वपूर्ण पाटो हो । सँगै निरन्तर अभ्यासको निकै खाँचो छ ।

यो प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनलाई सबैले तारिफ गरेको छ । आगामी दिनमा महिला क्रिकेटमा धेरै प्रतियोगिता छन् । विश्वकै बलियो राष्ट्र भारत, बंगलादेश हाम्रो छिमेकी छन् । उनीहरुसँग धेरै भन्दा धेरै प्रतियोगिता खेलाउन सक्छौं । थाइल्याण्डसँग सम्बन्ध बिस्तार गरेर महिला खेलाडीका लागि अभ्यासको अवसर सिर्जना गर्न सकिन्छ । अझै राम्रो खेलाडी बेन्च बाहिर पनि छन् । उनीहरुलाई अवसर दिए राम्रो सम्भावना छ । राम्रो एक्सपोजर दिन सक्यौंभने दुई वर्षमा नेपाली क्रिकेट धेरै माथि उठ्नसक्छ ।’

च्याम्पियनसिपमा १० टोलीले सहभागिता जनाएका थिए । पाँचरपाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरी गराइएको प्रतिष्पर्धामा नेपाल समूह बीमा रहेको थियो । चार खेलमध्ये नेपालले तीन खेलमा जित र एक खेलमा हारबाट समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । समूह ए को विजेता युएईसँगको खेल वर्षाका कारण अवरुद्ध हुँदा समूह विजेताको आधारमा युएई फाइनल पुग्दा नेपालको एशियाकप यात्रामा पूर्णविराम लागेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?