तत्कालीन मूख्यमन्त्री पोखरेलले शिलान्यास गरेको पातुखोला पुलको दुई वर्ष वित्दा पिलरसमेत उठेन

Read Time = 6 mins

-विवेक खड्का
दाङ । वर्षा शुरू भइसकेको छ । वर्षायाममा खोलाबाट वारपार गर्दा सधैँ सास्ती पाउनुपर्छ । तर यो वर्षायाममा पनि पुलमा वारपार गर्ने सपना भिमबहादुर चौधरीको पूरा हुन सकेन । तुलसीपुर–१० राइखलियानका चौधरीलाई वर्षाको समयमा खोलापारी खेतीपाती लगाउनेदेखि टिकरी लगायतका गाउँमा दैनिकजसो पातुखोला वारपार गरिरहनुपर्छ । पुल निर्माणमा ढिलाइ हुँदा उहाँले वर्षेनी वर्षाको समयमा सास्ती पाउनु परिरहेको छ ।

दुई वर्ष अघि लुम्बिनी प्रदेशका तत्कालिन मूख्यमन्त्री शंकर पोखरेलले पुल निर्माणको शिलान्यास गर्दा वर्षामा खोला वारपारमा हुने समस्या सधैँलाई अन्त्य हुने आशा राखेका स्थानीय यो वर्ष पनि पुल निर्माण नहुने भएपछि चिन्तामा छन् ।

‘दुई वर्षअघि पुलको शिलान्यास हुँदा हामी खुशी भएका थियौँ तर पोहोरसाल बनिसक्नुपर्ने पुल अहिलेसम्म पिलर पनि उठ्न सकेन’ चौधरीले भन्नुभयो, ‘यो वर्ष पनि हामीले वर्षायाममा खोलाको सास्ती पाउने नै भयौँ ।’ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ को टिकरी र वडा नम्बर १० को राइखलियान जोड्ने पातुखोला पुल निर्माणको दुई वर्षसम्म आधा काम पनि भएको छैन ।

पुल निर्माणमा चरम ढिलासुस्ती हुँदा वर्षायाममा स्थानीयले खोला वारपार गर्दा सास्ती पाउने गरेका छन् । ‘अब वर्षायाम शुरू भयो, खोला बढ्छ, राइखलियान पुग्नका लागि तुलसीपुर बजारबाट घुमेर जानुपर्छ’ तुलसीपुर–८ का टेकबहादुर विकले भन्नुभयोे, ‘खै हाम्रो विकास के भाको हो, पहिला कुरा त विकासका लागि बजेट आउनै मुस्किल, बजेट आएपनि काम हुनै मुस्किल, जनताले विकास त सम्झिने, पानी छम्कने जस्तै भएको छ ।’ गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गर्नुपर्ने पुल अझैसम्म निर्माणले गति लिन सकेको छैन। पुलको अहिलेसम्म पिलरसमेत उठन सकेको छैन ।

सम्झौता अवधि सकिएको एक वर्ष बढी हुँदा पनि ८० प्रतिशत भन्दा बढी काम बाँकी छ । कोरोना महामारीको कारण देखाउँदै रोकिएको निर्माण कार्य अहिलेसम्म सुचारू भएको छैन् । २०७७ साल साउन १ देखि निर्माण शुरू गरिएको पुल अहिले अलपत्र अवस्थामा छ । पुल निर्माणको ठेक्का पाएको हिराचन/जलजला जय माँ जेभी बेपत्ता छ ।

निर्माण कम्पनीको चरम लापरबाहीका कारण स्थानीयले वर्षायाममा खोलाको सास्ती भोग्न बाध्य छन् । दाङमा पुल तथा सडक निर्माणको काममा ढिलासुस्ती भएको नयाँ नौलो भने होइन् । राइखलियान–टिकरी जोड्ने पुल निर्माणको ढिलासुस्ती पनि पछिल्लो विकासको उदाहरण हो । पुल निर्माणको सम्झौता अवधि सकिएको एक वर्षसम्म पनि निर्माण कम्पनीलाई कुनै किसिमको कारवाही हुन सकेको छैन ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार विकास प्राधिकरणका विकास अधिकृत सुनिल थापाले पातुखोला पुल निर्माणमा ढिलासुस्ती भएपनि कारवाहीको दायरामा ल्याउन नसकेको बताउनुभयो । ‘कोरोना महामारी कारण सम्झौता अवधि अझै थपिन सक्छ, अहिले यो समय निर्माणको समय होइन’ उहाँले भन्नुभयोे, ‘अर्को आर्थिक वर्षमा काम निश्चित हुन्छ, यदि भएन भने हामी कारवाहीको दायरामा ल्याउँछौँ ।’
निर्माण व्यवसायीले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेको छ ।

कम्पनीका साइट इन्चार्ज प्रकाश रोकाले कोरोना महामारीका कारण निर्माणमा श्रमिक अभाव, डिजेल, पेट्रोलको अभाव हुँदा निर्माणमा ढिला हुन गएको बताउनुभयो । ‘अब हामी लगत्तै निर्माणको काम शुरू गर्दैछौँ’ उहाँले भन्नुभयो,  ‘जतिसक्दो छिटो निर्माण गर्ने पक्षमा हामीहरू पनि छौँ, तर त्यस्तै बाध्यताका बीचमा काम अघि बढ्न नसकेको हो ।’ ८ करोड ३१ लख ६४ हजार २२५ रूपैयाँमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको सडक तथा पुल निर्माण कार्यक्रमअन्तर्गत पातुखोलाको पुल निर्माण गर्न लागेको हो ।

पुल निर्माण ढिलासुस्ती हुँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्माण व्यवसायीको चरम ढिलासुस्तीप्रति सरोकारवाला निकायले चासो नदिँदा यस वर्षको वर्षायाममा पनि स्थानीयले सास्ती पाउने भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?