पाल्पाका स्थानीय तहमा कृषि र पूर्वाधार केन्द्रित बजेट

Read Time = 7 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाका दशवटै स्थानीय तहले आव २०७९/०८० को बजेट कृषि र पूर्वाधारमा केन्द्रीत गरेका छन् । गत वर्ष कोरोना महामारी नियन्त्रणमा बजेट केन्द्रित गरेका यहाँका स्थानीय तहले अहिले विशेष गरी कृषि र पूर्वाधारमा बजेट केन्द्रीत गरेका हुन् ।

उनीहरुले बजेटमा स्वास्थ्य, शिक्षा, पशुपालनमा पनि प्राथमिकता दिएका छन् । कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नविन र सिर्जनात्मक कार्यक्रमलाई पनि बजेटमा समावेश गरिएको छ ।सबैभन्दा ठूलो बजेट तानसेन नगरपालिकाको छ । उसले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । नगर सरकारको बजेट पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र पर्यटनमा बढी केन्द्रीत देखिन्छ । बजेटको ४५ दशमल ४४ प्रतिशत पुँजीगत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको १४ करोड ७३ लाख घाटा बजेटलाई समायोजन गरी बजेट विनियोजन गरिएको नगर सरकारले जनाएको छ । उसले अघिल्लो आर्थिक बर्ष १ अर्ब ४१ करोड बजेट विनियोजन गरेको थियो । रामपुर नगरपालिकाले पनि शिक्षा, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर ७२ करोड ४७ लाख ९५ हजारको बजेट ल्याएको छ । नगरप्रमुख रमणबहादुर थापाले नयाँ योजनासँगै पुराना योजनालाई नीति तथा कार्यक्रम र बजेटले समेटेको बताउनुभयो । रैनादेवी छहरा गाउँपालिकाले ६४ करोड ६९ लाख २५ हजारको बजेट लयाएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै जोड दिदै यस पटकको बजेट ल्याइएको पालिका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुभयो । उहाँका अनुसार पालिकालाई कृषिबाट आत्मनिर्भर बनाउनेदेखि कृषि उत्पादनको बजारिकरण गर्ने, गुणस्तरी शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने दिशमा पालिकाका कार्यक्रम केन्द्रीत रहेका छन् । यस्तै पर्यटकीय सम्भावना रहेकाले पनि त्यसको विकासका लागि उचित बजेट विनियोज गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । माथागढी गाउँपालिकाले पनि ५७ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

पूर्वाधार विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको पालिका अध्यक्ष यम चिदीले बताउनुभयो । पालिकाले चालुतर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट ल्याएको छ । यस्तै निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट सामाजिक सुरक्षा बाहेकको हो । यहाँ भौतिक पूर्वाधार, कृषि र विद्युतीकरणमा बढी प्राथमिकता दिइएको छ । उसले आम नागरिकलाई खुसी पार्न ६० वर्ष पुगेका एकल पुरुष र ग वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको छ ।

बगनासकाली गाउँपालिकाले ५० करोड १८ लाख २३ हजारको बजेट ल्याएको छ । उसले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकास र खानेपानी जस्ता क्षेत्रमा बढी बजेट छुट्टाएको छ । रम्भा गाउँपालिकाले पनि ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट ल्याएको छ । बजेट कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा बढी केन्द्रीत रहेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यस्तै गाउँपालिकाले सिंचाई, विद्युत, भवन, सडक, सहकारी, वन र वातावरण तथा घरेलु तथा साना उद्योगलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ ।
पूर्वखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड १७ लाख ७४ हजारको बजेट सार्वजनिक गरेको छ । पालिकाले सामाजिक विकास, भौतिक पूर्वाधार, सुशासन लगायतका क्षेत्रमा बढी बजेट विनियोजन गरेको छ । त्योसँगै पालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । रिब्दीकोट गाउँपालिकाले पनि कृषि, स्वास्थ्य र पूर्वधारमा बढी बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले एकीकृत कृषि विकास कार्यक्रमका लागि मात्र १ करोड ३० लाख बजेट विनियोजन गरेको बताउनुभयो । तिनाउ गाउँपालिकाले ४८ करोड २० लाख ४१ हजारको बजेट सार्वजनिक गरेको छ । उसले पूर्वधार विकास, शिक्षा, कृषिमा बजेट बढी केन्द्रीत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?