नेपाली क्रिकेट टोली आज क्यानडा प्रस्थान गर्दै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड टुरको तयारीका लागि क्यानडा जान लागेको नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । मंगलबार बिहान क्यानडा प्रस्थान गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच बिदाइ गरेको हो ।

क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले बिदाइ गर्नुभएको थियो । बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लललगायत उपस्थित हुनुहुन्थ्यो ।

नेपालले स्कटल्यान्डमा विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । त्यसअघि नेपाली टोलीले क्यानडामा एकदिवसीय सिरिज खेल्ने तय भएको छ ।

भिसा आउन ढिलो भएका कारण क्यानडासँग हुने दुई टी-२० आई खेल भने नहुने पक्का भएको छ । असार २० मा क्यानडाविरुद्ध नेपालको पहिलो एकदिवसीय खेल हुनेछ । असार २१ मा नेपालले क्यानडाविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ ।
त्यसपछि नेपाल स्कटल्यान्ड भ्रमणमा निस्कनेछ । स्कटल्यान्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाईका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

आइसिसी विश्वकप लिग-२ का लागि स्कटल्यान्ड र क्यानडासँग हुने एकदिवसीय अभ्यास सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आइतबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिकरूपमा समेटेको छ । वैशाखमा जिम्बाबे ‘ए’ सँग भएको टी–२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।

घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

महिला टोली फर्कियो
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भने एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएको छ । मलेसियामा भएको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाका कारण रद्द हुँदा नेपालको उपाधि जित्ने लक्ष्य सकिएको थियो । खेल रद्द हुँदा समूह चरणमा समूह विजेता बनेका कारण युएई फाइनल पुगेको थियो ।

सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । प्रशिक्षक जगत् टमटाले युएईविरुद्धको खेलमा ब्याडलक भएका कारण सेमिफाइनलबाट बाहिरिनुपरेको प्रतिक्रिया दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?