जापानमा बढ्दै गर्मी

Read Time = 3 mins

टोकियो । जापानमा गर्मी बढ्न थालेको पाइएको छ । जापानी अधिकारीहरूका अनुसार त्यहाँ प्रत्येक दिनजसो गर्मी बढिरहेको पाइएको हो । अधिकारीले त्यहाँको गर्मी इतिहासकै सबैभन्दा धेरै रेकर्ड गरिएको बताएका छन् । उनीहरूका अनुसार तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ । बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।

त्यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ । यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्नसक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।

जापानको मन्त्रिपरिषद्का प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।

कम विद्युत् प्रयोग गर्न आग्रह
यसैबीच जापान सरकारले टोकियो र टोकियो आसपासका क्षेत्रका नागरिकलाई कम विद्युत् प्रयोग गर्न आग्रह गरेको छ । जापान सरकारले ३ करोड ७० लाख मानिसलाई तापमानसँगै आपूर्तिमा असर पर्ने चेतावनीसहित विद्युत् कम प्रयोग गर्न आग्रह गरेको हो ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयानुसार सोमबार अपराहृन विद्युत्को माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तापमान बढेसँगै ऊर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीका लागि अतिरिक्त उत्पादन क्षमता तीन दशमल सात प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जनाएको थियो ।

विद्युत् प्रदायकले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?