-विजय रावत
जुम्ला । आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित राराताल पनि एक हो । यही रारा ताल पुगेर पर्यटक जुम्ला सदरमुकाम खलंगा आउने गरेका छन् । तर, पछिल्लो समय पर्यटकको चाप कम हुँदा जुम्लाका होटल व्यवसायीहरू चिन्तित बनेका छन् ।
यो सयममा पर्यटक नआउँदा यहाँका होटल व्यवसाय संकटमा परेको हो । कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला आउँथे । पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए ।
तर अहिले अधिकांश होटलहरू रित्तै बनेका छन् । त्यसो त हिउँदका तीन महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले उक्त सिजनमा पर्यटकहरू नै आउँदैनन् ।
क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताउनुभयो । उहाँका अनुसार अहिले ठूला लगानीका होटलहरूमा पाँचवटा कोठा भरिन पनि मुस्किल छ ।
सिजनकै बेला पर्यटक आउँदैनन् उहाँले भन्नुभयो, ‘कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुन्छ ।’ उहाँका अनुसार जुम्लामा ५० लाखदेखि दुई करोडसम्म लगानी गरेका होटल मात्रै झण्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताउनुभयो ।
ती होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ । होटल दौँतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको जानकारी दिनुभयो । उहाँको होटलमा १६ वटा कोठाहरू छन् । तर, दैनिक आठ कोठा पनि भरिन मुस्किल हुन्छ । कोरोना महामारी अघिसम्म पर्यटकलाई कहाँ राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे । उहाँले भन्नुभयो, ‘अहिले त व्यवसायीले नै पाहुना खोज्नुपर्ने बाध्यता छ ।’
साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त मौसम हो । ‘पर्यटकको संख्या बढ्दै गएपछि साना होटलहरूले पनि लगानी बढाए, यहाँ कुनै बेला त पर्यटकीय होटल बनाउने होडबाजी नै चल्यो ।
उहाँले भन्नुभयो, ‘जब कोरोना महामारी सुरु भयो, त्यसबेलादेखि ओरालो लागेको व्यवसायले अझै पनि गति लिन सकेको छैन । संघको तथ्यांकअनुसार कोरोना महामारी अघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए । जुम्लामा होटल व्यवसायमा झण्डै दुई अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ । संघका अनुसार यो व्यवसायबाट कम्तीमा तीन सय जनाले रोजगारी पाएको होटल संघले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका