एकल पुरुषलाई मासिक भत्ता दिँदै पाल्पाका स्थानीय सरकार

हिमालय टाइम्स
Read Time = 7 mins

-रामचन्द्र रायमाझी

पाल्पा । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता लिने गरेको कुरा भने कमैले सुनेका छौँ । विपन्नै भए पनि सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष पुग्नैपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि सामाजिक सुरक्षाभत्ता पाउँछन् । विपन्न तथा सहाराविहीन भए पनि एकल पुरुषले संघीय सरकारबाट कुनै पनि सेवा नलिई रहेका बेला पाल्पाका केही स्थानीय सरकारले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन लागेका छन् ।

यहाँका दुई स्थानीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेका हुन् । जिल्लाको रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गरेका छन् । ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट ल्याएको रम्भा गाउँपालिकाले साउन १ गतेदेखि लागू हुने गरी एकल पुरुषलाई मासिक भत्ता दिन लागेको छ । एकल पुरुषहरूको तथ्यांक संकलन गरी मासिक रूपमा भत्ता दिने व्यवस्था मिलाउन लागिएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रममा समावेश गर्न नीति, कार्यक्रम तथा योजना र बजेटमै समावेश गरिएको उहाँले हिटालाई जानकारी दिनुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो, ‘कार्यविधि बनाई वडा तहबाट तथ्यांक संकलन गरी साउन १ गतेदेखि कार्यान्वयनमा लैजान्छौँ ।’ पालिकाले एकल पुरुषका लागि कम्तीमा मासिक एक हजार भत्ता दिने गरी कार्यविधि बनाउन लागेको जनाएको छ । आर्थिक रूपमा एकदमै विपन्न तथा विभिन्न दीर्घ रोगका कारण पीडित बन्दै आएका एकल पुरुषलाई यो कार्यक्रमले राहत मिल्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गर्नुभयो । विवाह गरी श्रीमतीको मृत्यु भएका पुरुषहरूको हकमा मात्र यो कार्यक्रम लागू हुने छ । रम्भामा एक सयभन्दा बढी एकल पुरुष रहेको आँकलन गरिएको छ ।

यस्तै, निस्दी गाउँपालिकाले पनि एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रम र बजेटबाट एकल पुरुषलाई मासिक रूपमा भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । पालिकाले ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिनेछ । गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एक्लै बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको अध्यक्ष सारुले बताउनुभयो ।

एकल महिलाका हकमा समाज केही उदार बने पनि पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफूले यस्तो व्यवस्था गरेको उहाँको भनाइ छ । ‘वियोगमा परेका थुप्रै एकल पुरुष देखेपछि हामीले यस्तो व्यवस्था गरेका हौँ’ पालिका अध्यक्ष सारुले भन्नुभयो । गाउँपालिकामा के कति संख्यामा एकल पुरुष छन् भनेर अहिले विवरण संकलन भइरहेको छ । पालिकाका सबै वडामा एकल पुरुषको रेकर्ड संकलन गर्न गाउँपालिकाले वडाध्यक्षहरूलाई आग्रह गरिसकेको छ । आर्थिकस्तर कमजोर भएका, परिवारमा कोही नभएका, परिवारबाट अपहेलित बनेका, आयस्रोत नभएका पुरुषले यस्तो सुविधा पाउने पालिकाले जनाएको छ । पालिकाले सामाजिक सुरक्षा भत्ता कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा राखेर साउन १ देखि नै भत्ता दिन सुरु गर्ने जनाएको छ । उसले कार्यविधि बनाउने तयारी थालेको छ । मासिक एक÷एक हजारका दरले भत्ता उपलब्ध गराइने पालिकाले जनाएको छ ।

विपन्नकै कारण कैयौँ एकल पुरुषले सामान्य उपचारसम्म पाउन सकेका छैनन् भने कतिको हातमुख जोड्नै मुस्किल भएको अवस्था छ । एकल महिलाझैँ एकल पुरुषको पीडा पनि कम भने पक्कै छैन । सन्तानविहीन पुरुषहरू पनि छन् । कतिलाई त सामान्य बिरामी हुँदा हेरचाह गर्ने आफन्तकै भर पर्नुपर्छ । यस्तो अवस्थाका एकल पुरुषका लागि सामाजिक सुरक्षा भत्ताले केही भए पनि राहत भने दिनेछ ।

यस्तै, रम्भा गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि मासिक रूपमा सामाजिक भत्ता दिने भएको छ ।

यसअघि एकमुष्ट रूपमा वार्षिक भत्ता दिँदै आएको पालिकाले साउन १ गतेदेखि भने मासिक रूपमा भत्ताको व्यवस्था गर्न लागेको हो । निस्दी गाउँपालिकाले पनि ‘ग’ वर्गको अपांगता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्तासमेत उपलब्ध गराउने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकोमा गाउँपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ९८ लाख २५ हजार बराबरको बजेट ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?