पानीका कारण बसाइँसराइ गर्नुपर्ने अवस्थामा डम्मरेखोला र घैतानगाउँका स्थानीय, आयोजनाको आशै आशमा बित्यो ६ बर्ष

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ डम्मरेखोला र घैतानगाउँका स्थानीयको घरअगाडि धारा छन् । धारामा पानी नआएको महिनौँ भयो । गाउँबाट निकै टाढा रहेको मुहानबाट पानी ल्याए पनि धारोमा नियमित आउँदैन ।

जसका कारण यहाँका सयौँ नागरिक घण्टौँ लगाएर पानी बोकेर उपभोग गर्नुपर्ने बाध्यतामा छन् । वर्षौँदेखि खानेपानीको अभाव भोगिरहेका डम्मरेखोलाका स्थानीयहरूको समस्या सरकारले देखेन । स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइ गर्न निकै समस्या भइरहेको छ ।

संघीय सरकारले विसं २०७२÷०७३ मा खानेपानी आयोजना सुरु गरे पनि अहिलेसम्म यस गाउँमा खानेपानी आउन सकेको छैन । कुल ६ करोड ९८ लाख १६ हजार १९५ रुपैयाँको लागतमा सुरु भएको खानेपानी योजनाअन्तर्गत विभिन्न गाउँमा सम्पन्न भए पनि यस गाउँमा बल्ल ट्यांकी निर्माण गर्ने चरणमा रहेको छ ।

लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्थानीयमा आयोजना सुरु भएपछि केही आश त पलाएको छ तर क्रमागतरूपमा बजेट छुट्टिँदा कहिलेसम्म सम्पन्न हुन्छ भन्ने निश्चित छैन ।

खानेपानीको समस्या हुँदा बालबालिकालाई विद्यालय समयमै पठाउन नसकेको स्थानीय कुमार सुनारले बताउनुभयो । उहाँले आफूहरूले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएको भन्दै अझै कहिलेसम्म समस्या भोग्नुपर्ने निश्चित नभएको बताउनुहुन्छ । ‘धेरै वर्ष भयो हामी खानेपानीका लागि भौँतारिएको, अहिलेसम्म खानेपानी सहजरूपमा उपभोग गर्न पाएका छैनौँ, धेरै पहिले गाउँमा पानी ल्याइयो, घर–घरमा धाराहरू पनि बनाइयो तर अहिले सबै धारामा पानी आउँदैन, सरकारले खानेपानीको योजना त सुरु गरेको छ तर कहिले आउने हो थाहा छैन,’ सुनारले भन्नुभयो, ‘योजनाको काम कहिले हुन्छ, कहिले हुँदैन, यो हिसाबले पानी आउन त धेरै समय लाग्ने देखिन्छ, कहिले बजेट भएन भन्छन्, कहिले के भन्छन् ।’

स्थानीय भविसरा विकले वर्षौँदेखि आफूहरूले खानेपानीको समस्या भोग्दै आएको सुनाउँदै गाउँमा खानेपानी आयोजनाको काम भए पनि आउने निश्चित नभएको बताउनुभयो । उहाँले गाउँमा पानीको अभाव हुँदा पशुचौपायालाई समेत खुवाउन समस्या हुने गरेको भन्दै घण्टौँ लगाएर खोलामा लैजाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

‘मान्छेले त टाढाबाट ल्याएर भए पनि पानी पिएका छौँ, पशुचौपायलाई बोकेको पानी खुवाउन सकिन्न, धेरै समय लगाएर खोलामा लगेर खुवाउनुपर्छ, पशुलाई पानी खुवाउन लैजाँदा धेरै समय लाग्छ । त्यसले गर्दा घरका अन्य कामहरू छुट्छन्,’ विकले भन्नुभयो, ‘सरकारले छिट्टै धारोमा पानी ल्याइदिन सके हामीलाई धेरै ठूलो राहत मिल्ने थियो, कसैले सुनेन, देखेन हाम्रो समस्या ।’

२२ घरपरिवार रहेको डम्मरेगाउँमा खानेपानीको समस्या हुँदा बसाइँसराइ गर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । ६ वर्षअगाडि सुरु भएको उक्त आयोजनाको अहिलेसम्म जम्मा १५ प्रतिशत काम सकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर विक्रमप्रसाद शाहले बाउनुभयो ।

बोबाङ क्षेत्रमा यो आयोजना १६ स्थानमा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । यो सबै योजनाबाट ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ का पाँच हजार नागरिक लाभान्वित हुने शाहले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?