स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकः अवधारणा, भ्रम र यथार्थ

Read Time = 23 mins

-युवराज पौडेल

काठमाण्डौ । स्थानीय पाठ्यक्रम भन्नाले स्थानीय आवश्यकतामा आधारित भएर बनाइएको पाठ्यक्रम बुझिन्छ । स्थानीय आवश्यकता परिपूर्ति गर्न स्थानीय सरोकारवालाहरुको सहभागितामा उनीहरुकै लागि बनाइएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । केन्द्रीय पाठ्यक्रमले सबै क्षेत्र, भाषा, समुदाय, संस्कृति र विविधतालाई समेट्न नसकेको महसुस भएपछि विश्वभरि नै स्थानीय परिवेश अनुकूलको पाठ्यक्रम निर्माण गर्ने परम्पराको सुरुवात भएको पाइन्छ । स्थानीय समुदायले आफ्नो पहिचान खोजिरहेको, प्रत्येक जाति, भाषा, धर्म, संस्कृतिले समाज र राज्यका विभिन्न क्षेत्रमा आफ्नो अनुहार खोजिरहेको समकालीन नेपाली सन्दर्भमा स्थानीय पाठ्यक्रमको आवश्यकता झनै बढ्दै गइरहेको देखिन्छ ।

स्थानीय तहमा ज्ञान हुन्छन् । स्थानीय तहमा सीप र अभिवृत्तिहरू हुन्छन् । तिनको उजागर गर्नु आवश्यक हुन्छ भन्ने मूल आदर्शमा स्थानीय पाठ्यक्रम आधारित हुन्छ । स्थानीय पाठ्यक्रम स्थानीय तहको आवश्यकता र रुचि, उपलब्ध स्रोत र साधनको लेखाजोखा गरी स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, बुद्धिजीवी र स्थानीय विज्ञहरुकै सहभागितामा बनाइने र कार्यान्वयन गरिने भएकाले यसको विश्वसनीयता र प्रभावकारिता बढी हुन्छ । यसमा पाठ्यक्रमको कार्यान्वयन गर्ने पक्ष शिक्षक, विद्यार्थी र अभिभावक स्वयं संलग्न हुने भएकाले यसको कार्यान्वयनमा विश्वसनीयता बढी हुन्छ ।

पृष्ठभूमि

नेपालको संविधान २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ । प्रचलित शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ ले प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्रदान गर्न सकिने कुरा उल्लेख गरेको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १-३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४-५) ले प्राथमिक तहमा १०० पूर्णाङ्कको स्थानीय विषय/मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीय स्तरबाट निर्माण गरी प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ ।

आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६-८ मा मातृभाषा/ स्थानीय विषय/ संस्कृत वा अन्य विषय १०० पूर्णाङ्कको स्थानीय स्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसै गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहारकुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

यस प्रावधान अनुसार २०७७ देखि स्थानीय पाठ्यपुस्तक कक्षा १ मा कार्यान्वयनमा ल्याउनुपर्ने छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ (मातृभाषासहित) विकास गरी स्थानीय तहको सहजीकरणका लागि सार्वजनिक गरेको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०७६ (कक्षा १-३) मा समावेश गरिएको मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम छनोट तथा विकास गरी कार्यान्वयन गर्ने दायित्व सम्बन्धित स्थानीय तहको हुने कुरा उल्लेख छ । स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयनमा सहजता होस् भनेर पाठ्यक्रम विकास केन्द्रद्वारा स्थानीय पाठ्यक्रम स्रोत तथा प्रशिक्षण सामग्री २०६७’ निर्माण गरिएको छ । यसरी हेर्दा नेपालका हरेक दस्तावेजले कुनै न कुनै रूपमा स्थानीय विषयलाई समेट्ने कोसिस गरेको देखिन्छ ।

हाम्रो सन्दर्भमा स्थानीय पाठ्यक्रम

स्थानीय पाठ्यक्रमले स्थानीय स्तरको क्षमता विकास गर्दछ । स्थानीय परम्परागत पेसा र व्यवसायको मौलिकतालाई जोगाउँदै तिनको समयानुकूल आधुनिकीकरण गर्ने दिशामा सहयोग पुर्‍याउँछ । स्थानीय सरोकारवालाहरूले छलफल गरेर बनाउने भएकाले स्थानीय पाठ्यक्रमप्रति जनताको पनि अपनत्व हुन्छ । यसबाट विद्यालय समुदाय सम्बन्ध पनि सुदृढ हुन्छ । स्थानीय रूपमा उपलब्ध कम मूल्यका स्थानीय सामग्रीको प्रयोग गरेर कक्षामा शिक्षण गर्न सकिने अवस्था रहन्छ । स्थानीय पाठ्यक्रमले परम्परागत रैथाने ज्ञानलाई उजागर गर्दछ । यसले हाम्रा बाबुबाजेले हिजो उपयोग गरेका कतिपय राम्रा ज्ञानमूलक अभ्यासहरूलाई उजागर (एक्सपोज) गरिदिन्छ । यसले हाम्रा परम्परागत सीपहरूको संरक्षण र संवर्धनमा सहयोग पुर्‍याउँछ । यसले स्थानीय कलाकृति र सांस्कृतिक जीवनका विविध पक्षहरूलाई बाहिर ल्याई यिनको महत्वलाई स्पष्ट पारिदिन्छ ।

हाम्रा थुप्रै स्थानीय सीप, व्यवसाय तथा ज्ञानहरु हराउँदै जाँदा भोलिको पुस्ताले त्यो सीप र ज्ञानबाट वञ्चित हुनुपर्ने स्थिति आउने भएकाले तिनको मौलिक रूपको संरक्षण र संवर्धन आवश्यक हुन्छ । जस्तै : पानीघट्ट, जाँतो, कोल, गुन्द्री बुन्ने सीप, बाँस र निँगालोबाट बनाइने विभिन्न सामग्री आदिको महत्व आज पनि उत्तिकै छ । तर गाउँघरमा आधुनिकीकरणको तथा प्रविधीकरणको प्रभाव बढ्दै जाँदा ढिकी जाँतो हराए । कोल, पानीघट्टलाई आधुनिक राइस मिलहरूले विस्थापित गरे । परालका गुन्द्रीलाई प्लास्टिकका म्याटले विस्थापित गर्दै गए । आज डोको बुन्ने पुरानो पुस्ता गाउँघरमा निकै कम सङ्ख्यामा मात्र छ । नयाँ पुस्ताले डोको बुन्न जान्दैन वा त्यसमा रुचि नै राख्दैन । यसले डोको बुन्ने सीप र त्यो कला हराउँदै जाने खतरा बढेको छ । यो त एउटा उदाहरण मात्र हो ।

स्वास्थ्य उपचारका कुराहरूमा हाम्रा भान्सामा हिजो अपनाइने कयौं विधि विधानहरू वैज्ञानिक मानिएका छन् । भान्सामा जाँदा नुहाएर, कपडा फेरेर जानेभित्रको स्वास्थ्य विज्ञान सङ्क्रामक रोगहरूको प्रकोपबाट समुदायलाई बचाउने उद्देश्यमा आधारित छ । ‘चपल लगाएर भान्सामा जान हुँदैन’ भन्ने विधानको निर्माण पनि सरुवाजन्य रोगको प्रकोपबाट समुदायलाई बचाउनका लागि नै हो । आज अस्पतालका सिसियु वा आइसियुहरूमा अति गम्भीर बिरामीलाई भेट्न जाँदा भेट्ने मानिसलाई नर्सले चपल जुत्ता फुकालेर र गाउन वा एप्रोन लगाएरमात्र भित्र छिर्न दिन्छन्, जुन कुरा हाम्रा बाबुबाजेले हजारौँ वर्ष पहिले नै प्रयोग प्रचलनमा ल्याइसकेका थिए ।

हाम्रा स्थानीय स्तरमा कयौं त्यस्ता लोकसंस्कृतिहरू छन्, जसको खोजी नै भएको छैन । हामीकहाँ लोककथा, लोकगीत, लोक नाटक लगायत थुप्रै लोक जीवन र संस्कृतिसँग जोडिएका अद्भूत अभ्यास र प्रचलनहरू छन् । सात दिन सात रात दोहोरी खेलेर नथाक्ने हाम्रो परम्परा लोकसाहित्यका दृष्टिले निकै संवृद्ध छ । हाम्रा बालुन र ख्याली गीत, भजन र चुड्का, सालैजो र लैबरी, सोरठी र मादलका भाकाहरूले हामी को हौँ भन्ने चिनाउँछन् तापनि आजभोलिका डिस्को र दोहोरी क्लबहरू, महोत्सव र तामझामहरूले हाम्रा यी मौलिकतामाथि आक्रमण गरिरहेका सन्दर्भमा यिनलाई जोगाउनु हाम्रो साझा दायित्व बनेको छ ।

हिजो कोदो खाने मानिसलाई हेला गरिन्थ्यो । कोदोको महत्व मान्छेले बुझेकै थिएन । तर आज कोदोको त्यही रोटीलाई ‘मिलेट पेन कर्न’ भन्दै ठुला तारे होटलमा खादाँ पनि मान्छेमा मौलिक खानपानको चेतना उठिरहेको छैन । गुन्द्रुक र ढिँढो खाएर असारे गीत गाउँदै छुपुछुपु हिलो खेलेर असारमा धान रोप्ने र कार्तिक मंसिरमा धान दाइँ हाल्दै धान भित्रयाउने, खलो चराउने, हरेलो गर्ने, भूमि पूजा गर्ने, चैते दसै मेला, हाटबजार जस्ता परम्पराहरू हामीकहाँ कमजोर हुन थालेका छन् । श्रम गर्नेहरुप्रति सम्मान जगाउने खालको शिक्षा पाठ्यक्रमले दिन सकिरहेको छैन ।

डाक्टर अरुणा उप्रेतीलगायतका लेखकहरुले प्लास्टिकजन्य खाद्यपदार्थलाई ‘पत्रु खाना’ वा काम नलाग्ने खानेकुरा भन्नुभएको छ । पत्रु खानालाई अङ्ग्रेजीमा प्रयोग गरिने ‘जङ्क फुड’ बाट धेरैले चिन्ने गर्छन् । जङ्क फुडको प्रयोगबाट आज हाम्रा बच्चाहरूको स्वास्थ्य निकै कमजोर भइरहको छ । गाउँघरमा समेत खाजाको रूपमा चाउचाउ, बिस्कुट जस्ता प्लास्टिकजन्य खाद्य पदार्थहरू प्रयोग प्रचलनमा बढी आउन थाल्नु चिन्ताको विषय हो । बालबालिकाहरूलाई हाम्रो गाउँघरमै सस्ता, प्रचुर भिटामिन र मिनरल्सयुक्त खानेकुरा पाइन्छन् भन्ने ज्ञान जगाउनु आवश्यक भइसकेको छ । हाम्रा बारीमा उपलब्ध हुने कर्कलो, सिस्नो, निहुरो, तरुल, पिँडालु, फर्सी आदिमा नै शरीरलाई चाहिने सबै पोषक तत्वहरू छन् भन्ने हिजोको रैथाने ज्ञानलाई पुनस्र्थापित गर्न पनि स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको आवश्यकता छ ।

आज आधुनिकीकरण र प्रविधीकरणले गर्दा मानिसको जीवनशैली अप्राकृतिक बनिरहेको छ । आज शारिरीक व्यायाम नगर्न तर बसीबसी मिठोमिठो खाने बानीका कारण मानिसको शरीर अनेक रोगहरूको घर बनिरहेको छ । हाम्रा पुर्खाहरूले शरीर र मन स्वास्थ्य राख्ने अनेक स्वस्थ तरिकाहरू अपनाएका थिए । योग दर्शन त्यसैको परिणाम थियो । शरीर र मनलाई शुद्ध र रोगरहित बनाउन योगको विकास भएको थियो । ध्यानले मानिसलाई तनावरहित बनाउँथ्यो । मानिसलाई सत्यको बाटोमा हिँड्ने अन्तश्चेतना प्रदान गर्दथ्यो । पाप र व्यभिचारबाट मानिसको विचारलाई सत् मार्गमा हिँडाल्नका लागि हाम्रा ऋषिमुनिहरूले पूर्वीय संसारमा विकास गरेका अभूतपूर्व ज्ञानहरूमा योग, ध्यान, प्राणायाम जस्ता महत्वपूर्ण विषयहरू थिए । यसबाट खानपान र जीवनशैली स्वतः स्वस्थ भई रोग लाग्नै नदिने अवस्था सिर्जना हुन्थ्यो ।

कथम्कदाचित् रोग लागे पनि आजका जस्ता ‘साइड इफेक्ट’ गर्ने एलोप्याथिक औषधि नभएर तिते पाती, दमकेर्नु, निम, तुलसी, अमला, बेसार, असुरो, घोडताप्रे, गुर्जोको लहरा, थकाइलाका जरा आदि जडिबुटीहरू अचुक अस्त्रका रूपमा विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्थ्यो । कुन रोग लाग्दा के कति र कसरी खाने भन्ने विधि विधानको व्यवस्था पनि हाम्रै पुर्खाहरूले गरेका थिए । यी प्राकृतिक विधि थिए । तर आज यी उपचार र जीवनशैलीतर्फ भन्दा आधुनिक, खर्चिला अनि अप्राकृतिक औषधोपचारमा मानिस प्रवृत्त भइरहेकाले पनि स्थानीय पाठ्यक्रमले यस्ता विषयहरूलाई उजागर गर्नु आवश्यक भइसकेको छ ।

हाम्रा बालबालिकाहरूले वा युवाहरूले माध्यमिक शिक्षा पार गर्दै गर्दा आफ्नो माटोप्रति गर्व गर्ने, आफ्नो परम्परामा गौरव गर्ने र स्थानीय सिप तथा ज्ञानहरूप्रति अपनत्व महसुस गर्नुपर्नेमा आज त्यसको ठिक उल्टो भइरहेको छ । कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै पासपोर्ट बनाउने र पढ्ने नाममा जन्मथलो छाड्ने र ‘पराया’ हुने अपसंस्कृतिको विकास हुनुको मुख्य कारण हाम्रो शिक्षा प्रणालीभित्रको चिन्तन नै हो । पाठ्यक्रमको असफलता हो ।

हामीले हाम्रा रैथाने ज्ञानभित्रको विज्ञान र हाम्रा असल अभ्यासहरूका बारेमा हाम्रा बालबालिकाले गौरव गर्न सक्ने गरी शिक्षा दिने परम्पराको विकास गर्न सकेनौँ । विदेशी खासगरी पश्चिमाहरूको ज्ञान धर्म र संस्कृतिमाथिको विश्वव्यापी हस्तक्षेप र प्रभावबाट हामीले हाम्रा कलिला मस्तिष्कलाई बचाउन सकेनौं । फलस्वरुप हाम्रा बालबालिकाहरुले दौरा सुरवालमा भन्दा जिन्स पाइन्टलाई ‘क्रन्च’ गर्नमा आनन्द माने । उनीहरूले हाम्रा चोली र ढाका टोपीमा भन्दा ‘हिपपप’ ड्रेसमा स्मार्ट भइन्छ भन्ने ठाने । गोराहरूको कपडा लगाएपछि आधुनिक भइन्छ भन्ने भ्रमात्मक ज्ञान हाम्रा बालबालिकाका कलिला मस्तिष्कमा छर्न पश्चिमाहरू सफल भए । रक्सी खानुलाई आधुनिक शैली बनाउन उनीहरू सफल भए ।

हामी उनीहरूले छरेका अनेकौं असत्य ज्ञानहरूमा एकपछि अर्को अवचेतन रूपमै फँस्दै गयौँ । आज वास्तवमा हामी हामी नै रहेनौँ । हामी न आफ्ना जस्ता, न अरूका जस्ता कस्ता कस्ता, पहिचान नभएका जस्ता देखिने भइसक्यौँ । अगमसिंह गिरीले कवितामा ‘तिमी ता यहाँ नचिनिने भएछौ, गालाका रगतहरू सुकिसकेछन्’ भनेर भने जस्तै हामी पहिचान विहिन बन्दै जाँदा आज हाम्रो मौलिकताको खोजी गर्नु नितान्त जरुरी भइसकेको छ । यतिबेला हामीले हाम्रा हिजोका भाषा, सभ्यता, संस्कृति, सम्पदा तथा ज्ञानहरू, सीपहरूभित्रका असल अभ्यासहरूलाई पुनस्र्थापित गर्नुपरेको छ । यसका लागि बालबालिकालाई प्राथमिक तहबाट नै हाम्रा स्थानीय परम्परा, भाषा, संस्कृति, मूल्य मान्यता, पेसा व्यवसाय, ज्ञान तथा अभ्यासहरूका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक अनिवार्य भइसकेको छ ।

पाठ्यपुस्तक निर्माण अभ्यास

मूलतः पाठ्यक्रम नै प्राथमिक कुरा हो, पाठ्यपुस्तक अनिवार्य होइन । तर हाम्रो परिवेशमा पाठ्यपुस्तकलाई नै पाठ्यक्रम कार्यान्वयनको एकमात्र बलियो हतियारका रूपमा लिनुपर्ने बाध्यता छ । त्यसैले स्थानीय पाठ्यक्रमलाई व्यावहारिक कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय स्तरमा कक्षा १ देखि कक्षा ८ सम्म १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गर्ने अभ्यास नेपालमा भइरहेको छ । सङ्घीयतापछि बनेका स्थानीय पालिकाहरूले क्रमशः आफ्नो अनुकूलतामा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दै आफ्ना पालिकाभित्रका विद्यालयहरूमा कार्यान्वयन गर्दै आइरहेका छन् । स्थानीय पाठ्यपुस्तक नबनाएका कतिपय पालिकाहरूले स्थानीय विषयका सट्टामा अन्य वैकल्पिक तरिका उपयोग गरिरहेका छन् तापनि अब राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा सबै प्रतिवेदन र सरकारको स्पष्ट निर्देश स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गर्नेतिर भएकाले यसको विकल्प देखिँदैन ।

तर अहिलेसम्म स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाएर पूर्ण कार्यान्वयनमा ल्याएका पालिका र त्यहाँका विद्यालयहरूको अनुभवलाई हेर्दा यो काम त्यति सहज भने देखिएको छैन । स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा अनेक चुनौती र हैरानीहरू देखिएका छन् । स्थानीय पालिकाहरूले स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक निर्माणलाई त्यति महत्व नदिनु, निर्माणका प्रक्रियाहरूमा अलमल हुनु, स्थानीय आवश्यकताको पहिचान राम्रोसँग नहुनु, पर्याप्त बजेट नहुनु, सरोकारवालाहरूको चासो कम हुनु, क्षेत्रकार्य कम हुनु, अध्ययन अनुसन्धान पर्याप्त नगरी लागु गर्न हतार गर्नु, स्थानीय पाठ्यपुस्तक लेख्ने दक्ष जनशक्तिको अभाव हुनु आदि जस्ता समस्याहरूले यस कार्यलाई चुनौतीपूर्ण बनाएका छन् ।

तर यति हुँदाहुँदै पनि स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका क्रममा विभिन्न पालिका वा विद्यालयहरूसँग भएका राम्रा अभ्यास र अनुभवहरूको खोजी गरी स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई सकेसम्म कम त्रुटिपूर्ण, विश्वसनीय र प्रभावकारी बनाउनेतिर लाग्नु यतिबेला हामी सबैको साझा दायित्व बनेको छ ।

  • लेखक स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणमा संलग्न हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?