ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

बारा । बाराको निजगढ नगरपालिका ७ भमराटोलमा नेकपा एमाले मधेश प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फ्रुट खेतीमा सफलता प्राप्त गर्दै जानुभएको छ ।

जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक तथा मिठो फल ड्रागन खेती सुरु गर्नुभएको थियाे । निजगढका अगुवा तथा मेहनती किसान श्रेष्ठले करिब २२ लाखको लागतमा ४०० बोट ड्रागन फ्रुट १५ कठ्ठामा लगाएर व्यवसायको रूपमा ड्रागन फुडको खेती सुरु गर्नुभएको हो ।

श्रेष्ठका अनुसार जुनसुकै माटो र मौसममा समेत ड्रागन फ्रुटको खेति उपयुक्त हुन्छ । ड्रागन फ्रुट खेतीको प्रति कठ्ठामा ५० वटा सिमेन्टको पिल्लर आवश्यक पर्ने हुन्छ । एउटा पिल्लरमा करिब ३ देखि ५ वटा ड्रागन फ्रुटको बोट छन् । अहिले श्रेष्ठको १५ कठ्ठा आफ्नै बारीमा ४०० बोट ड्रागन फ्रुटका बोटहरू छन् । करिब २५० वटा बोटहरू फूल फुल्ने र फल फल्ने क्रममा रहेका छन् । श्रेष्ठले ड्रागन फ्रुटका साथमा अहिले खोर्सानी, भिण्डी र काँक्रोसमेत लगाउनुभएको छ ।

प्रति कठ्ठाबाट वार्षिक कम्तीमा एक लाख ५० हजारसम्म आम्दानी हुने र यसको उत्पादनसँगै एकै ठाउँमा सानो बोट हुने तरकारीको खेती समेत गरेर दोहोरो फाइदा लिन सफल भएको श्रेष्ठले बताउनुभयो ।

कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक ड्रागन फ्रुट खेतीमा उहाँ रमाइरहनुभएको छ । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत श्रेष्ठ बन्नुभएको छ । ड्रागन फ्रुटको बजारमा माग धेरै रहेको हुँदा मागअनुसार ड्रागन फ्रुट बजारमा नरहेको श्रेष्ठले बताउनु भयो । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै ड्रागन फ्रुट खेतीको सुरुवात गरिएको र ड्रागन फ्रुटको उत्पादन भन्दा बजारमा माग बढी रहेको श्रेष्ठले बताउनुभयो ।

बजारको समस्या नभएको, घरमै आएर ग्राहकले किनेको र सबैलाई यो फल चाख्न भ्याइ नभ्याइ भएको देख्दा भने आफुलाई खुसी लागेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार यो फल फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० देखी १५ दिनसम्म नबिग्रिने हुन्छ ।

गर्मी समयको वैशाखदेखि मंसिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ ।

ड्रागन फ्रुट रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । एक पटक बिरूवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने श्रेष्ठले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?