अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार प्रत्यक्ष प्रभावित

Read Time = 5 mins

-पार्थ मण्डल

झापा । अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । जिल्लाभरि वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।

मेची, कनकाई, रतुवा, कमल–बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट ती परिवार प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कमल बनियानी नदीको पानी पसेपछि ३३ घरका ११८ जना विस्थापित भएका छन् । उनीहरूलाई त्रिभुवन माविमा सारिएको छ । गौरादह नगरपालिका ६ स्थित लेलियामा रतुवा नदीको पानी पसेपछि १२५ परिवारलाई उच्च स्थानमा सारिएको छ ।

गौरीगञ्ज गाउँपालिका १ स्थित टप्पुवस्तीमा बनियानी र कनकाई नदीको पानी पसेपछि ४५ घरका १२१ जना विस्थापित भएका छन् । उनीहरूलाई छिमेकीको घर र राजजानकी प्राविमा सारिएको छ ।

बाह्रदशी गाउँपालिका २ सुकुम्वासी बस्तीमा अदुवा खोलाको पानी पसेपछि ६० घरका ३१० जनालाई दक्षिनेश्वर मन्दिरमा सारिएको जनाइएको छ । त्यस्तै गौरादह नगरपालिका ५ र ६ को कोहवाराको उत्तर टंगुवा समुदायको ५० घर डुुवानमा परेको छ, भने बालुवथान समुदायमा रतुवा नदीको पानी पस्न थालेको छ । गौरादह ९ मा ढ्याग्री खोलाले ६० घर डुबान परेको छ, भने वडा नम्बर ६ स्थित सुकुम्वासी बस्ती दामुना खोलाका कारण ३५ घर प्रभावित बनेको छ ।

शिवसताक्षी नगरपालिका ६ स्थित स्वास्थ्य कार्यालय आसपास र ठगवस्तीको ५० परिवारहरू सताक्षी र मक्करडुब्बा खोला कारण डुबानमा परेको छ । कनकाई नदीका कारण झापा गाउँपालिका १ स्थित सितुमारी, मिलनबस्ती र वडा नम्बर २ को सिर्जनाबस्ती, वडा ३ को नयाँबस्ती वडा ७ को टप्पुबस्तीका ३५० घरमा पानी पसेको रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । शिवसताक्षी नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालयभित्र पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ ।

वर्षाका कारण शिवसताक्षी ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जको स्वास्थ्य चौकी भवन र औषधि पसलमा क्षति भएको छ । बिर्तामोड नगरपालिका २ चैतुबारी स्थित घाग्रा खोलाको पानीले कनकाई र अम्बे पलाई उद्योग नजिक कटान गरी बस्ती तर्फ पानी पसेको छ । कचनकवल गाउँपालिका १ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सीमा स्तम्भ २८ र २९ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिका ४ बस्ने हरिदेव ताजपुरियाको कुखुराको फारममा पैनीको पानी पस्दा १२ सय बोइलर कुखुरा मरेका छन् । बोइलर कुखुरा र दानासहित १० लाख ४० हजार मुल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाका इन्स्पेक्टर गुरुप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । दमक नगरपालिका ७ स्थित सितारामा साहको किराना पसलमा नालीको पानी पसलभित्र पस्दा खाद्यान्नमा ठूलो क्षति पुगेको छ ।

कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ । गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?