अपर अरुणमा लगानी गर्न पाउनुपर्ने भोजपुरवासीको माग

हिमालय टाइम्स
Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । अपर अरुणमा लगानी गर्न पाउनुपर्ने माग भोजपुरवासीले राखेका छन् । नेपाल विद्युत् प्राधिकरणले अनुमति लिई अध्ययन अगाडि बढाएको अपर अरुण आयोजना निर्माणका लागि २५ अर्ब लगानीको प्रतिबद्धता भोजपुरवासीले गरेका हुन् ।

संखुवासभा र भोजपुरको बीचबाट भएर बग्ने अरुण नदीमा आगामी सन् २०३० सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एक हजार ६१ मेगावाट उत्पादनको लक्ष्य रहेको आयोजनामा आफूहरूले पनि लगानी गर्न पाउनु पर्ने माग गर्दै भोजपुरेका तर्फबाट प्रदेश नम्बर १ का पूर्व–मुख्यमन्त्री शेरधन राईले अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडका सिइओ इञ्जिनियर फडिन्द्र जोशी र आयोजना प्रमुख रामचन्द्र पौडेललार्ई ज्ञापनपत्र बुझाउनुभएको हो ।

अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडको कार्यालयमा माग पत्र बुझाउँदै नेपाल सरकारको स्थानीयलाई हाइड्रोमा लगानीको अवसर दिने नीतिअनुसार भोजपुरवासीका लागि २५ अर्बको सेयर जगेडा पाउनुपर्ने माग गरिएको भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

मागपत्र बुझाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, भोजपुर सेवा समाजका अध्यक्ष शेर्पा, दाँवाली मिलन कल्वका अध्यक्ष रोशन श्रेष्ठ, इसुवा इनर्जी प्रालिका विक्रम विष्ट, युवा उद्यमी राजकुमार कार्की, ऐश्वर्य श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री, ऊर्जामन्त्री लगायतका सरोकारवाला निकायहरूमा समेत भोजपुरेका तर्फबाट मागपत्र बुझाउने कार्यक्रम रहेको भोजपुर सेवा समाजका अध्यक्ष शेर्पाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?