निर्मलालाई अपांगता बिर्साउने कक्षाकोठा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । कक्षा कोठामा पसेर अध्यापन गराउन थालेपछि निर्मला पुलामीलाई आफू शरीरिक रूपमा अपांग छु भन्ने सम्झना नै हुँदैन । साना बालबालिकाको व्यवहार, नयाँ कुरा सिक्ने जिज्ञाशा र चटपटे स्वभावले उहाँ कक्षा सकिएको चालै पाउनुहुन्न । बर्दिबास कालापानीस्थित सरस्वती माध्यामिक विद्यालयमा पढाउन थालेको १३ वर्ष बितिसक्दा पनि उहाँलाई कहिल्यै पनि झर्को लागेन ।

कक्षा ५ सम्म अध्यापन गराउने पुलामीको दिनचर्या यहीबाट सुरु हुन्छ । विद्यालयको गेटमा श्रीमानले छाडेपछि उहाँलाई लिन गेटसम्मै विद्यार्थीहरू आइपुग्छन् । विद्यालय छुट्टी भएपछि पनि श्रीमान गेटमै आइ पुग्छन् । प्रावि तहमा राहत कोटामा पुलामीले पढाउन थालेको १३ बर्ष भयो ।

शारीरिक रुपमा अपांग भए पनि पनि उहाँले व्यवहारमा अपांगता भएको कहिल्यै अनुभव गर्नु परेन । यही कारण उहाँ भन्नुहुन्छ,  ‘जीवन सुन्दर छ । दुवै खुट्टा नचले पनि आफूभित्रको उर्जा र शक्ति कहिल्यै क्षिण हुन दिइन् ।’

जुन विद्यालयमा पढिन त्यही पढाउने अवसर

०५८ सालमा यही विद्यालयबाट एसएलसी दिनुभएकी पुलामीले जनता माध्यामिक विद्ययालयबाट १२ कक्षासम्म अध्यन गर्नुभयो । उहाँ कक्षा ५ मा पढ्दासम्म सपांगनै हुनुहुन्थ्यो । ‘पाँच कक्षा पढ्दै गर्दा खुट्टामा सानो चोट लाग्यो ।  त्यही चोटका कारण बढेको घाउको पछि वीर अस्पतालमा अपरेसन गर्नु पर्यो ।’ पुलामीले उक्त दिन सम्झिनु हुन्छ ‘अपरेसन गरेर फर्किएपछि टाँका खोल्न नजान्दा अपांग बन्नु पर्यो ।’

अरुको जस्तो हिँडडुल गर्न नसके पनि पुलामीलाई जिन्दगीप्रति कुनै गुनासो छैन । ‘सपांगहरूको जति नै काम गर्न पाएको छु । सपांग हुन पाएको भए भन्ने किन लाग्थ्यो र ?’ उहाँले भन्नुभयो ।

पुलामीले १३ बर्षअघि शिशु कक्षामा पढाएका विद्यार्थी अहिले स्नातक तहमा अध्ययन गर्दैछन् । ‘यसैले पनि खुसी दिन्छ । मलाई जीवन वास्तवमै सुन्दर लाग्छ ।’ उहाँ भन्नुहुन्छ ।

पुलामीले गाउँकै युवकसँग चार बर्षअघि विवाह पनि गर्नुभयो । अहिले एउटा छोरी छिन । छोरी पनि यही विद्यालयमा पढ्छिन् । पुलामी गाउँकै छोरीचेली भए पनि अहिले कुशल शिक्षकको रुपमासमेत पहिचान बनाउनुभएको छ ।

पुलामीलाई विद्यालय प्रशासन र व्यवस्थापन समितिको पनि उत्तिकै सहयोग छ । राहत कोटामा अध्यापन गराउन आएका कयौं शिक्षक, सशक्षिका परिवर्तन भए तर पुलामी १३ बर्षदेखि यही अवस्थामा हुनुहुन्छ ।

शरीरिक रूपमा अपांग भए पनि आफूभित्र साहस र जीवनलाई सहज बनाउने आत्मविश्वास छ भने सफलता आफैभित्र हुने उहाँको भनाइ छ ।

पाँच कक्षा पढ्दापढ्दै अपांग बन्नुभएकी पुलामीले पढ्नकै लागि अनेकौं संघर्ष गर्नुभएको छ । विद्यालय आउन होस् वा कलेज पढ्दा होस् पुलामीसँग अनेकौं नमिठा सम्झना छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?