फोक्सिङटारमा निर्माणाधीन पुल अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-६ आँपटारको सिमाना फोक्सिङटारस्थित सुनकोसी नदीमाथि निर्माणाधीन पुलको काम करिब ९० प्रतिशत सकिएको छ ।

दिक्तेल गाईघाट सडक खण्डअन्तर्गत फोक्सिङटारमा सडक विभागको १९ करोड ६० लाख नौ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती-वाइपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोसी नदीमाथि १२० मिटर लामो आर्च ब्रिज डिजाइनको मोटरेबल पुल निर्माण गरिरहेको हो ।

जेभीले २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माण गरिसक्नु पर्ने थियो । तर, पटक-पटक म्याद गुजार्दै काम गरेको निर्माण कम्पनीले १० वर्षपछि मात्रै पुलको काम अन्तिम अन्तिम अवस्थामा पुर्याएको छ ।

अहिलेसम्म पुलको आर्च र कोलमको काम सकिएको जेभीका इञ्जिनियर नरेशकुमार गुप्ताले दाबी गर्नुभयो । पुलको काम ९० प्रतिशत सकियो अब पुलको स्ल्याप ढलान मात्रै बाँकी छ । त्यो काम महिना दिनपछि गरिनेछ । स्काफ फोल्डिङ, फर्मा र डण्डी राख्ने कामलाई महिना दिन लाग्छ । गुप्ताले भन्नुभयो, अनि स्ल्याप ढलान हुन्छ ।

जेभीका सञ्चालक रामकुमार थापाले असारको १५/१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने बताउनुभएको थियो । साइडको वस्तुस्थिति नबुझी थापाले साउन १५ गतेदेखि गाडी गुडाउने आश्वासनसमेत दिनुभएको थियो । पुलको कामका बारेमा बुझ्न फोन गर्दा अहिले थापाको फोन उठ्दैन ।

निर्माण कम्पनीले पुल निर्माण नगर्दा बर्सेनि लाखौँ खर्चेर निर्माणाधीन पुलनजिकै अस्थायी बेलिब्रिज लगाइँदै आएको छ । सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते जडान गरिएको बेलिब्रिज गएको जेठ ८ गते खोलेको थियो ।

बेलिब्रिज निकालेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै तराईसम्मको सिधा यातायात बन्द हुन्छ ।

बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी-कटारी-मिर्चैया हुँदै तराई जानुपर्ने बाध्यता छ । नदीको अफ्ठ्यारो कामहरू सकेको अवस्था हेर्दा अब आउने हिउँदमा बेलिब्रिज राख्नु नपर्ने दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?