खानेपानी पुग्दा बारागाउँका स्थानीयवासी हर्षित

हिमालय टाइम्स
Read Time = 5 mins

-विजय रावत

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ स्थित दुर्गम बारागाउँका गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

सो गाउँका ५१ वर्षीय पुनिबल रावतका अनुसार चार दशक पिउने पानीकै लागि गाउँमा युद्ध लडेर बित्यो ।

एक गाग्री पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद क्षणहरू पुनिमल अहिले पनि झलझल्ति सम्झनुहुन्छ । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको रावतले बताउनुभयो ।

गाउँमा वर्षौंदेखि खानेपानी अभाव हुदाँको पीडा पुनिबलभन्दा बारागाउँकी सुन्तली रावतले बढी भोग्नुपरेको छ । एक गाग्री पानीका लागि घर छिमेकीसँग भनाभन हुने, कुटाकुट हुने, समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सुन्तलीले पोख्नुभयो ।

वर्षौंपछि नमुना खानेपानी आयोजना निर्माण हुँदा पूरै बारागाउँवासी नै उत्साहित छन् । अब एक गाग्री पानीका लागि युद्ध लड्नुपर्ने बाध्यताको अन्त्य हुने आशा पलाएको सुन्तलीले भन्नुभयो, ‘अब खानेपानी निर्माण भएको छ । स्थानीयलाई सहज हुने भएको छ । गाउँमा ठूलो खानेपानी आयोजना बनेको छ ।’

यसबाट महिलालाई बढी राहत हुने आशा छ । सो खानेपानीबाट सरसफाइ, सिञ्चाइसम्म सहज भएको स्थानीयवासी बताउँछन् । बारागाउँमा झण्डै १७२ घरधुरी छन् । १७२ घरधुरीका करिब ११ सय जनसंख्या दुईवटा मात्रै धाराको भरमा छन् ।

गाउँमा बनेको बारागाउँ बृहत् बहुउपयोगी खानेपानी आयोजनाले नागरिक तिर्खा मेटाउनेछ । खानेपानीको सुविधा पुगेको छ । आयोजनाको दिगो व्यवस्थापन तथा संरक्षणमा नागरिक जिम्मेवार हुनुपर्छ आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिनुभयो ।

पेश नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनामार्फत बारागाउँमा नमुना बृहत् बहुउपयोगी खानेपानी आयोजना बनेको हो ।

आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भन्नुभयो, करिब ६० लाख २५ हजार रुपैयाँ लगानीमा २८ हजार लिटरका दुईवटा ट्यांकी निर्माण गरिएको छ ।

करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाइन ल्याइएको छ । बारागाउँवासीको आवश्यकतालाई मध्यनजर गरी बृहत् खानेपानी आयोजना बनाइएको पेश नेपाल जुम्लाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

१७२ वटा धारा निर्माण हुँदै

बारागाउँ बहुउपयोगी खानेपानी आयोजनाबाट गाउँमा १७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिए पनि धारा निर्माण स्थानीयले आफैँ गरेका छन् । अबको डेढ हप्तामा घरघरमा पानी छर्किनेछ । पेशले पाइपलाइन घरघरसम्मै पु¥याउनेछ भने धारा बनाउन मिटर, टुटी सबै उपलब्ध गराएको छ ।

तर, स्थानीयले आफ्नो अनुकूलताअनुसार धारा बनाउनेछन् । पानीको अधिकतम सदुपयोगमा जोड दिइनेछ । खेर जाने पानीलाई सिञ्चाइमा परिणत गर्ने योजना रहेको आयोजना निर्माण समितिका अध्यक्ष देवबहादुर रावतले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खानेपानी आयोजना प्रशंसायोग्य र नमुना भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?