कृषकलाई ३२ हजार डालेघाँसका विरुवा वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-डम्मर बुढा मगर

बागलुङ । भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा ३२ हजार डालेघाँसका विरुवा वितरण गर्न थालेको छ ।

भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्तर्गतको शाखा कार्यालय बागलुङले उत्पादन गरेका ३२ हजार डालेघाँसका विरुवा किसानलाई वितरण गर्न थालिएको हो ।

पशुपालनका लागि सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्नेछ । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भूक्षय नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले कार्यालयले बर्सेनि डालेघाँसका विरुवा वितरण गर्दै आएको छ ।

कार्यालयले बागलुङमा स्थापना गरेको विरुवा नर्सरीमा उत्पादन गरेको ३२ हजार विरुवा सोमबार बागलुङ नगरका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले किसानलाई विरुवा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । श्रेष्ठले डालेघाँसले किसानलाई मात्र नभएर भू-संरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा नगरपालिकाले भू-संरक्षणसंग साझेदारी गरेर विरुवा उत्पादन बढाएर वडा–वडामै विरुवा वितरणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

नर्सरीमा उत्पादन भएका ३२ हजार विरुवा किसानको व्यावसायिक पशुपालनका आधारमा अनुपात मिलाएर असार मसान्तसम्म वितरण गरिसक्ने भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार राइखन्यू, निमारो, तारुबाँस र काफल लगायतका आधा दर्जन डालेघाँसका विरुवा वितरण गरिनेछ । भिरालो जमिन, सडकको छेउछाउ, खोल्साखोल्सी लगायत खाली जमिनमा डालेघाँस लगाउन सकिने भन्दै पछिल्लो समय किसानहरू डालेघाँसप्रति आकर्षित भएको पौडेलले बताउनुभयो ।

‘पशुपालक किसान अहिले डालेघाँसप्रति आकर्षित भएका छन्, हामीले उत्पादन गरेका विरुवा सदुपयोग भएकोमा खुसी छौँ’ कार्यालय प्रमुख पौडेलले भन्नुभयो ‘किसानको माग निमारो, राइखन्यू र काफल जातको डालेघाँसमा बढी छ, त्यहीअनुरूप हामीले विरुवा उत्पादनलाई बढाउँदै लगेका छौँ ।’

भू-संरक्षणसंगै डिभिजन वन कार्यालय बागलुङले समेत बर्सेनि डालेघाँसका विरुवा वितरण गर्दै आएको छ । उन्नतजातका डालेघाँसका कारण किसानहरूले पशुपालनबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?