इन्डिया ओपनमा नेपाली खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीहरूले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता असार १७ देखि १९ गतेसम्म हुनेछ ।

जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मंगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गरेको छ । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतीलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित बिदाइ गर्नुभयो । नेपाली टिम मंगलबार नै भारतको आसाम प्रस्थान गरेको छ ।

सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापती, झरना थापामगर, आस्ना रानामगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुविक्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापती र अफिसियलमा भरत कारञ्जित रहनुभएको छ ।

अध्यक्ष प्रजापतीले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशीदेवल युथ क्लबले नै बेहोरेको जानकारी गराउनुभयो । उहाँले प्रतियोगितामा खेल्न दुई लाखभन्दा बढी रुपैयाँ लाग्ने जानकारी दिनुभयो । खेलाडी बिदाइ कार्यक्रममा ग्रेडिङ पाउने आफ्ना खेलाडीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?